शब्दभण्डार
१.तल दिइएका शब्द र अर्थका बिच जोडा मिलाउनुहोस् :
अङ्क : सङ्ख्या,
जाल : षड्यन्त्र,
धन : अर्थ,
मास : महिना,
विरोध : मतभेद
काल : मृत्यु
२. तल दिइएका शब्दको एकभन्दा बढी अर्थ खोजी लेख्नुहोस् :
पाल : अस्थायी बास बस्ने डेरा/फलफूल गुम्स्याएर पकाउने विधि,
साल : वर्ष, संवत्/सालको रुख,
ताल : ठुलो पोखरी/सङ्गीतको सुर,
जालः जालझेल/चरा, माछा आदि अल्झाउने पासो,
पत्रः चिठी/पात,
दर : तिजमा खाइने परिवार/ भाउ ।
३. ’परिकल्पना’ पाठबाट पाँचओटा अनेकार्थी शब्द खोजी तिनको फरक अर्थ लेख्नुहोस् :
उत्तर : मन : ४० किलो, आत्मा, बेला : समय/मौका, अवसर, प्रबन्ध : बन्दोबस्त/ विचारप्रधान लेख वा निबन्ध, तर : दुधको तर/संयोजक, रङ : सेतो, रातो आदि वर्ण/तासको खेलमध्ये एउटा खेल, फुर्ती, रवाफ ।
४. तल दिइएका टुक्काका अर्थ तालिकाबाट पहिचान गरी लेख्नुहोस् :
मुटुमा भक्कानो पर्नु : मनमा चोट पर्नु,
खुट्टा तान्नु : प्रगति गर्न नदिनु,
सही थाप्नु : सहमति जनाउनु,
रिसले चुर हुनु : साह्रै रिसाउनु,
गुजरा गर्नु : जसरी पनि पेट पाल्नु,
हात थाप्नु : माग्नु
५. तल दिइएका उखानका अर्थ तालिकाबाट पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् :
जसले मह काढ्छ उसले हात चाट्छ (परिश्रम गर्नेले फल पाउनु) : ’जसले मह काढ्छ उसले हात चाट्छ’ भनेझैँ सानैदेखि मिहिनेती शिवले विदेश गएर पढ्ने अवसर पाएछ ।
अकबरी सुनलाई कसी लगाउनुपर्दैन (राम्रो कुरालाई जाँच्नुपर्दैन) : अकबरी सुनलाई कसी लगाउनुपर्दैन भनेझैँ योग्य विद्यार्थीहरुलाई गृहकार्य गर भनिरहनुपर्दैन ।
अचानाको पिर खुकुरीले जान्दैन (भोग्नेलाई मात्र वास्तविक पीडा थाहा हुनु) : अचानाको पिर खुकुरीले जान्दैन भनेझैँ गरिबहरुको पीडा धनीलाई के थाहा ?
ढुङ्गा खोज्दा देउता मिल्नु (सामान्य वस्तु खोज्दा मूल्यवान् वस्तु फेला पर्नु) : ढुङ्गा खोज्दा देउता मिल्नु भनेझैँ मलाई कम्प्युटर चाहिएको थियो मामाले विदेशबाट आउँदा ल्यापटप ल्याइदिनुभएछ ।
हुने बिरुवाको चिल्लो पात (राम्रो मान्छेको लक्षण सानैदेखि राम्रो हुनु) : हुने बिरुवाको चिल्लो पातभनेझैँ सानैदेखि मिहिनेतीश्याम डाक्टर बनेछ ।
बोध र अभिव्यक्ति
१. तल दिइएका शब्दको उच्चारण गर्नुहोस् :
मन्त्रमुग्ध, परिकल्पना, प्रौढ, सभ्य, मुसुक्क, कम्पोस्ट, दृश्य
२. ‘परिकल्पना’ पाठ पालैपालो पढ्नुहोस् र पाठको शीर्षकअनुसार विषयवस्तु उल्लेख भए नभएका बारेमा शिक्षकको सहायता लिई कक्षामा छलफल गर्नुहोस् ।
उत्तर : प्रस्तुत कथामा रजनीलाई सिपालु चित्रकारका रूपमा प्रस्तुत गरिएको छ । उनले १० वर्षपछिको गाउँको परिकल्पना गरेर चित्र बनाएकी छन् । उनले अबको दसवर्षपछि आफ्नो गाउँ निकै सभ्य, सुन्दर र प्रविधिले युक्त रहने परिकल्पना गरी चित्र बनाएको कुरा कथामा बताइएको छ । बुबा र आमा आफ्नी छोरीको सिर्जनाबाट प्रसन्न हुनुभएको छ । गाउँले सबै मिलेर कार्य गरेमा र सरकारले साथ दिएमा उक्त परिकल्पना यथार्थमा परिणत हुने कुरा बताइएको छ तसर्थ यस पाठमा प्रयुक्त विषयवस्तुअनुसार पाठको शीर्षक उपयुक्त नै रहेको पाइन्छ ।
३. तल दिइएका प्रश्नको एक वाक्यमा उत्तर भन्नुहोस् :
(क) ‘परिकल्पना’ पाठमा कतिओटा अनुच्छेद छन् ?
उत्तर : ’परिकल्पना’ पाठमा तेइसओटा अनुच्छेद छन्
(ख) पुस्तकालयमा रजनीले के गरिन् ?
उत्तर : पुस्तकालयमा रजनीले कम्प्युटर खोलेर बालकथा पढिन् ।
(ग) आमालाई रजनीको विचार किन प्रिय लाग्यो ?
उत्तर : ठुलो भएपछि चित्रमा परिकल्पना गरेजस्तै गाउँ बनाउने अभियानमा लाग्छु भन्ने रजनीको विचार आमालाई प्रिय लाग्यो ।
(घ) ‘परिकल्पना’ पाठ कुन विषयवस्तुमा लेखिएको छ ?
उत्तर : बालबालिकाको मनोविज्ञानलाई ध्यानमा राखी सामाजिक विषयवस्तुमा आधारित भएर ‘परिकल्पना’ पाठ लेखिएको छ ।
४. पाठको पाँचौं अनुच्छेद मौन पठन गर्नुहोस् र त्यसबाट चारओटा प्रश्न निर्माण गर्नुहोस् ।
उत्तर : पाँचौं अनुच्छेदबाट चारओटा प्रश्न :
(क) बुबाले रजनीलाई के कुरा सोध्नुभयो ?
(ख) रजनीका बुबा खुसी हुनुको कारण के थियो ?
(ग) चित्रमा के के कुराहरू कोरिएका थिए?
(घ) चित्रमा बालबालिकासम्बन्धी के कुरा रहेको थियो ?
५. तल दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :
(क) रजनीको विद्यालयमा के के सुविधा उपलब्ध छन् ?
उत्तर : रजनीको विद्यालयमा आधुनिक किसिमले बनाइएको प्रवेशद्वार छ जुन परिचयपत्र झुन्ड्याएर उभिएपछि आफैँ खुल्छ र बन्द हुन्छ । त्यसरी नै आकर्षक कक्षाकोठा छन् । त्यस्तै जताजतै पोस्टर र रमाइला किताबका साथै पढ्ने पुस्तक कम्प्युटरमा नै रहेको छ । कम्प्युटर र मल्टिमिडियाको प्रयोग गरी पढाउने व्यवस्था रहेको छ । यसरी रजनीको विद्यालयमा आधुनिक प्रविधि र सञ्चारले परिपूर्ण विभिन्न सुविधा रहेका छन् ।
(ख) रजनीका स्वभावगत विशेषता के के छन् ?
उत्तर : प्रस्तुत परिकल्पना कथाकी बालपत्र रजनी कथाकी मुख्य पात्र हुन् । चित्र बनाउन निकै सिपालु उनी आफ्नो देश र गाउँ कस्तो हुनुपर्छ भनेर परिकल्पना गर्ने पात्रका रूपमा चित्रित छन् । धर्मकर्ममा विश्वास गर्ने, विद्यालयमा राम्ररी अध्ययन गर्ने, फुर्सदको समयमा पुस्तकालयमा गएर पढ्ने, गुरु र गुरुआमाले भनेको मान्ने जस्ता असल स्वभाव रजनीमा रहेका छन् । आफ्नो काम समयमै पूरा गर्ने स्वभावकी रजनी सपनामा कल्पना गरेर सिर्जना क्षमता बढाउने बालिका हुन् । समाजसेवा गर्न मन पराउने रजनी सामाजिक भावना भएकी बालपात्रका रुपमा कथामा देखिएकी छन् ।
(ग) कथामा रजनीले कस्तो गाउँको परिकल्पना गरेकी छन् ?
उत्तर : कथामा रजनीले सम्पन्न र सुखी गाउँको परिकल्पना गरेकी छन् । उनको परिकल्पनाअनुसार सबैका घरमा बिजलीबत्ती र टेलिफोनको व्यवस्था होस् । हरेक परिवारको घरमा खानेपानीको धारो, शौचालय, सौर्य ऊर्जाको प्रयोगबाट बिजुली बत्ती बाल्ने र खाना पकाउने व्यवस्था होस् । सबैका घर घरमा मोटरबाटो जोडिएको होस् । त्यस्तै सुन्दर बाटो, बाटो छेउछाउमा हरियाली, फोहोर फाल्ने निश्चित ठाउँ, उत्पादनमा कम्पोस्ट मलको प्रयोग आदिको प्रबन्ध र मानिसहरु बिचमा सानालाई माया र ठुलालाई आदर सम्मान गर्ने गाउँ होस् । सुन्दर, शान्त र मनोरम दृश्यहरुले परिपूर्ण गाउँको परिकल्पना रजनीले कथामा गरेकी छन्
(घ) यस कथाबाट पाइने सन्देश के हो ?
उत्तर : यस कथाबाट गाउँ सुविधा र सम्पन्न छैन । गाउँमा केही गर्न सकिँदैन भनेर गाउँबाट सहर र सहरबाट विदेश जाने प्रवृत्ति दिनदिनै बढिरहेको छ । यस्तो प्रवृत्ति कदापि राम्रो होइन । हामीले आफ्नै ठाउँलाई सुविधायुक्त र सम्पन्न बनाउन लाग्नुपर्छ । गाउँ समृद्ध भयो भने सबै सुखी हुन्छौँ भन्ने सन्देश पाइन्छ । यसरी नै नयाँ कुरा सिर्जना गर्न कल्पना गर्नुपर्दछ । कल्पनाशक्तिबाट नयाँ कुराको सिर्जना हुन्छ । कल्पनाले सिर्जना गर्ने क्षमताको विकास हुन्छ । सपना देख्नु भनेको कल्पना गर्नु हो । कल्पना गर्नु भनेको सिर्जना गर्ने क्षमता बढ्नु हो । त्यसैले सपना देख्नुपर्छ र सपना पूरा गर्नेतर्फ लाग्नुपर्छ भन्ने सन्देश दिएको छ । आफ्नो गाउँ आफैँ बनाऔँ भन्ने सामाजिक भावनाको विकास भएमा र गाउँका सबै मानिसहरुको सोचाइ असल भएमा चाँडै नै गाउँ पन सहर बन्न सक्छ भन्ने सन्देश पनि कथामा कथाकारले प्रस्तुत गरेका छन् ।
६. भावविस्तार गर्नुहोस् :
(क) सपनामा देख्नु भनेको कल्पना गर्नु हो । कल्पना गर्नु भनेको सिर्जना गर्ने क्षमता बढ्नु हो ।
प्रस्तुत कथांश कक्षा ७ को पाठ्यपुस्तकमा सङ्कलित ‘परिकल्पना’ शीर्षकको कथाबाट साभार गरिएको हो । यो कथा हरि खनालले लेखेका हुन् । उक्त कथांश कथाकी मुख्य पात्र रजनीले आमालाई सपनाका बारेमा प्रस्ट पार्नका लागि भनेकी हुन् ।
बिहान अबेरसम्म सुतेकी रजनीलाई आमाले उठाएपछि रजनीले आफूले सपनामा चित्रमा थप्ने धेरै कुरा सपनामा कल्पना गरेबाट थाहा पाएको बताउँछिन् । आमाले रजनीलाई सपना मात्र देखेर के हुन्छ ? विपनामा सपनाजस्तो हुँदैन भनेपछि हामीले सपना देख्ने गर्नुपर्छ । सपनामा गरिएका कल्पनालाई यथार्थमा उतार्ने प्रयास गर्दा नै सुन्दर र सभ्य समाजको निर्माण गर्न सकिन्छ । सिर्जना गर्ने क्षमता बढाउनका लागि कल्पना गर्नुपर्छ । कल्पनाबाट नै सिर्जना हुने गर्दछ । सपनाले कल्पनाशक्तिसमेत बढाउँछ भन्ने कुरा आमालाई बताउँछिन् । वास्तवमा सपना देख्नु भनेको हामीले हाम्रो गन्तव्य निर्धारण गर्नु पनि हो । सपना देखेपछि सपनामा देखेका कुरालाई हामी पूरा गर्ने बाटो खोज्न थाल्छौँ र एकदिन त्यो कल्पनालाई साकार बताउँछौँ । सपना नै यथार्थको आधारबिन्दु हो । सपना नदेखी कल्पना नगरी हामीले नयाँ कुराको सृष्टि गर्न सक्दैनौँ । सपना नै यथार्थको आधार भएकाले सपना देख्नुपर्ने तर्क रजनीले राख्छिन् । सपनाले मानिसलाई सभ्य र सुन्दर जीवन निर्माण गर्न सहयोग पुग्छ भन्ने कुरा यस कथांशको मूल भाव हो ।
यसरी हरेक व्यक्तिले असल सपना देख्नुपर्छ, कल्पना गर्नुपर्छ अनि मात्र मानिसमा सिर्जनात्मक क्षमता बढ्छ । सिर्जनात्मक क्षमताले नै हामी आफ्नो लक्ष्यबिन्दुसम्म पुग्न सक्छौँ । सिर्जनाको मूल कारक नै कल्पना हो भन्ने कुरालाई कथाकारले यस कथाकी मुख्य पात्र रजनीमार्फत व्यक्त गरेका छन् । सपना देखेपछि त्यसलाई यथार्थमा परिणत गराएमा जीवन सफल हुन्छ भन्ने सन्देश पनि यस कथांशले व्यक्त गरेको छ ।
(ख) गाउँले सबै एकजुट भएर अनि सरकारले पनि साथ दियो भने हाम्रो गाउँ साँच्चै मैले चित्रमा परिकल्पना गरेको जस्तै बन्छ ।
प्रस्तुत कथांश कक्षा सातको नेपाली पाठ्यपुस्तकमा सङ्कलित ‘परिकल्पना’ कथाबाट साभार गरिएको हो । प्रस्तुत कथा कथाकार हरि खनालले लेखेका हुन् । गाउँको विकास गर्न सबै एकजुट हुनुपर्छ । सामाजिक भावना भएमा गाउँका चाँडै विकास हुन्छ भन्ने विचार व्यक्त गरिएको उक्त कथांश रजनीले आमासँग भनेकी हुन् ।
विकसित गाउँको परिकल्पना गरेर बनाइएको चित्रको व्याख्या गर्ने क्रममा रजनीले आमासँग पछि ठुलो भएपछि चित्रमा उल्लेख भएजस्तै गाउँ बनाउने अभियानमा लाग्ने कुरा गरेकी छन् । उनले प्रविधि र सम्पूर्ण कुराले भरिपूर्ण गाउँ बनाउने सपना देखेकी छन् । गाउँलाई चित्रमा भएजस्तै बनाउन एक जना मात्रैले सम्भव हुँदैन । सबै गाउँले एकजुट भएर अनि सरकारले पनि साथदियो भने गाउँ साँच्चै चित्रमा परिकल्पना गरेको जस्तै विकसित र सम्पनन बन्छ भन्ने रजनीको विश्वास रहेको छ । बालबालिका भनेका भविष्यका कर्णधार हुन् । उनीहरूको सोचले भविष्यको देशको रूपरेखा कोरिन्छ । हामीले सानैदेखि आफ्नो गाउँ आफैँ बनाउने देख्नुपर्छ । यस्तो सपनालाई साकार बनाउन सबै बालबालिका युवा अवस्थामा जुट्नुपर्छ । सबै मिलेर गर्ने हो भने नहुने कुरा केही छैन भन्ने भन्ने कुरा रजनीको रहेको छ । सबै बालबालिकाहरुले गाउँको विकास गर्न आआफ्नो तर्फबाट जुट्नुपर्छ । गाउँलाई असल र सभ्य बनाउन सरकारले पनि उचित कदम चाल्नुपर्छ भन्ने विचार यस कथांशमा रजनीमार्फत प्रस्तुत गरिएको छ ।
यसरी हामीले सानैदेखि देश र गाउँ तथा समाज विकसित बनाउने सपना देख्नुपर्छ । विदेशमा गएर अरुको नोकर हुनुभन्दा आफ्नै गाउँ र देशमा बसेर गाउँको विकास गरी गाउँलाई सर्वसम्पन्न बनाउनुपर्छ भन्ने विचार रजनीमार्फत व्यक्त गर्दै कथाकारले सबै बालबालिकाहरुले सानैदेखि असल सोच राखेमा र उकृष्ट सपवना देखेमा नेपाल समृद्ध बन्न धेरै समय लाग्दैन भन्ने सन्देश यस कथांशमार्फत व्यक्त गरिएको छ ।
७. रजनी एक कल्पनाशील र सिर्जनशील बालिका हुन् भन्ने भनाइलाई पाठका आधारमा तर्क दिनुहोस्:
उत्तर : ‘परिकल्पना’ कथाकार हरि खनालद्वारा लिखित कथा हो । यस कथामा कथाकारले कथाकी मुख्य पात्र रजनीको मनको चित्रण गर्दै समाजको विकासको आधार निर्माण गरेका छन् । यो कथा बालमनोवैज्ञानिक तथा सामाजिक विषयवस्तुमा आधारित छ । कथाकी मुख्य बालपात्र रजनीका माध्यमबाट कथाकारले बालबालिका राष्ट्रका कर्णधार हुन् । बालबालिकाहरु सानैदेखि सिर्जनशील बन्नुपर्छ । कल्पनाले सिर्जनाशक्तिको विकास गर्छ । बालबालिकाहरुमा असल सोच र कल्पनाको विकास भयो भने उनीहरु सिर्जनाशील बन्न सक्छन् भन्ने कुरा कथामा कथाकी मुख्य पात्र रजनीका माध्यमबाट कथामा प्रस्तुत गरिएको छ । चित्रकलामा निपुण गरेकी सिर्जना राम्रा चित्र कोर्ने गर्छिन् । प्राकृतिक सम्पदालाई चित्रमा उतार्न सिपालु रजनीले गाउँ कस्तो हुनुपर्छ भनेर कल्पना गरी चित्र बनाएकी छन् । उनले आफ्नो गाउँ सर्वगुणले सम्पन्न हुनुपर्दछ भन्ने कल्पना गरेकी छन् । प्रविधि र सञ्चारले युक्त गाउँ, शिक्षा, स्वास्थ्य र समृद्ध विकासले युक्त गाउँको कल्पना गरेर सुन्दर चित्रको सिर्जना गर्ने रजनी सर्जनशील बालिकाका रुपमा कथामा देखिएकी छन् । कल्पनाबाट नै सिर्जना गर्न सकिने विचार राख्ने रजनी सपनामा कल्पना गरेका कुराहरु नै विकासका आधार हुन् भन्ने विचार राख्दछिन् । मानिसले असल कल्पना गरेमा त्यसलाई यथार्थमा उतार्न सकिन्छ भन्ने कुरा उनले कथामा व्यक्त गरेका विचारहरुबाट रजनी कल्पनाशील र सिर्जनाशक्ति भएकी बालिका हुन् भन्ने कुरा पुष्टि भएको छ । उनीहरु राम्रो सपनालाई चित्रमा उतार्दै भविष्यमा त्यही यथार्थमा उतार्न सक्नुपर्छ भन्ने धारणा राख्ने बालिका हुन् ।
सपना नै यथार्थको आधार हो । हरेक बालबालिकाहरुले असल सपना देख्नुपर्दछ र त्यसलाई सिर्जनामा परिणत गर्नुपर्दछ । सर्जनाशक्तिको आधार नै सपना वा कल्पना हो । सपना वा कल्पनालाई यथार्थमा परिणत गराउन बालबालिकाहरु सक्षम हुनुपर्दछ भन्ने विचारबाट कथाकी मुख्य पात्र रजनी कल्पनाशील र सर्जनाशील बाल पात्र हुन् भन्ने कुरा पुष्टि गरिएको छ ।
८. पाठको अन्तिम अनुच्छेद शिक्षकबाट सुनेर लेख्नुहोस् ।
९. तलको चित्र वर्णन गर्नुहोस् :
उत्तर : दुई पहाडका बिचमा कञ्चन नदी बगेको छ । सफा र हरिया डाँडाकाँडाले युक्त भएको चित्रको वातावरण हरियाली रहेको छ । केही गाउँलेहरु जोत्दै गरेका छन् भने केही गाउँलेहरु खेतमा खन्दै छन् । केही मानिसहरु भारी बोकेर उकालो लाग्दै छन् । आफ्नै श्रममा रमाउने गाउँलेहरुका पोसाक सफा देखिन्छन् । हरियाली वातावरण र परिश्रमी मानिसहरुले युक्त गाउँ सुन्दर रहेको छ । चौतारो, रुखबिरुवाले भरिपूर्ण निकै रमाइलो गाउँ चित्रमा रहेको देखिन्छ ।
भाषिक संरचना र वर्णविन्यास
२. कोष्ठकमा दिइएका सङ्केतका आधारमा खाली ठाउँ भर्नुहोस् :
(क) सुमनले भकुन्डो खेलेको छ । (खेल् : वर्तमान, पूर्ण पक्ष)
(ख) नेपालले क्रिकेट जितेको हुने छ । (जित् : भविष्यत् पूर्ण पक्ष)
(ग) म हिजो घरमै बसेको थिएँ । (बस्ः भूत, पूर्ण पक्ष)
(घ) आकाशमा चरा उडेका छन् । (उड् : वर्तमान, पूर्ण पक्ष)
(ङ) भाइहरू विद्यालय जाँदै हुने छन् । (जा : भविष्यत्, पूर्ण पक्ष)
(च) हामी असल बनेका छौं । (बन् : वर्तमान, पूर्ण पक्ष)
(छ) म अर्को वर्ष आठ कक्षामा पुगेको हुने छु । (पुग् : भविष्यत्, पूर्ण पक्ष)
३. पूर्ण पक्ष जनाउने फरक फरक क्रियापदको प्रयोग गरी सात वाक्यमा आफूले गरेको कामको वर्णन गर्नुहोस् ।
उत्तर : मैले यसपटक धेरै मिहिनेत गरेर पढेको छु । मैले परीक्षा पनि राम्ररी लेखेको छु । मेरो मिहिनेत देखेर बुबाआमा पनि धेरै खुसी हुनुभएको छ । गुरुहरुले पनि मेरो प्रशंसा गर्नुभएको छ । मैले पढाइसँगसँगै कम्प्युटरमा राम्रो चित्र बनाउने गरेको छु । आगामी दिनमा अतिरिक्त क्रियाकलापमा पनि भाग लिएर राम्रो गर्ने विचार राखेको छु । मैले घरमा पनि आमालाई सकेको काम सघाउने गरेको छु ।
४. तल दिइएको तालिकाबाट ’ऋ’ र ’रि’ प्रयोग भएका शब्द पहिचान गरी लेख्नुहोस् :
ऋ : ऋषि, ऋग्वेद, ऋचा, ऋषभ, ऋद्धि
रिः रिबन, रिक्त, रित्तो, रिपोर्ट, रिकापी, रिस,
५. दिइएका जोडा शब्दमध्ये सही शब्दमा गोलो घेरा लगाउनुहोस् :
रिसी ऋषि रिचा ऋचा
रिस ऋष ऋषभ रिसभ
रितु ऋतु रिक्त ऋक्त
ऋद्धि रिद्धि रिग्वेद ऋग्वेद
१. सुनाइ पाठ ७ सुन्नुहोस् र तल दिइएका भनाइ ठिक भए ठिक र बेठिक भए
बेठिक भन्नुहोस् :
(क) मानबहादुर घरको जेठो सन्तान थियो ।
= बेठिक
(ख) मानबहादुरलाई अंशमा मटान परेको थियो ।
=ठिक
(ग) मानबहादुरका छोराको उमेरमा पाँच वर्षको फरक थियो ।
=बेठिक
(घ) उनीहरूले एउटा पाडी पालेका थिए ।
=ठिक
२. सुनाइ पाठ ७ सुन्नुहोस् तल दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) मानबहादुरका कति भाइ छोरा थिए ?
उत्तर : मानबहादुरका दुई भाइ छोरा थिए ।
(ख) गाउँलेहरू मानबहादुरलाई के भनी बोलाउँथे ?
उत्तर : मानबहादुरलाई गाउँलेहरु मटाने माइला भनेर बोलाउँथे ।
(ग) ठुलो छोरा कस्तो स्वभावको थियो ?
उत्तर : ठुलो छोरा चाहिँ अल्छी र डाढे स्वभावको थियो ।
(घ) मानबहादुर छोराहरूलाई कस्तो अर्ती दिन्थे ?
उत्तर : मानबहादुर छोराहरुलाई मिलेर बस्नुपर्छ र इमानदार हुनुपर्छ भनेर अर्ती दिन्थे ।
१. दिइएका खाली ठाउँमा उपयुक्त क्रीयापद राखी कथा पूरा गर्नुहोस् र उपयुक्त
शीर्षकसमेत दिनुहोस् :
असल कुकुर
किसानको घरमा एउटा राम्रो कुकुर थियो । कुकुरले इमान्दारपूर्वक घरको हेरचाह गथ्र्याे । किसानले कुकुरलाई निकै माया गथ्र्याे । कुकुर बुढो हुँदै गएपछि किसानले बेवास्ता गर्न थाल्यो । खानेबस्ने कुरामा ध्यान दिन छोड्यो । उसले कुकुरलाई पिट्नसमेत थाल्यो । एकदिन कुकुर निराश भएर घर छाडेर हिँड्यो । घर छोडेर हिँडेको कुकुरको स्यालसँग भेट भयो । उनीहरुबिच मित्रतासमेत भयो । कुकुरले आफ्नो कथा स्याललाई सुनायो । चलाख स्यालले जुक्ति निकाल्यो । किसानकी श्रीमती खेतमा काम गर्न गएकी थिई । काम गर्दा उसले छोरालाई छेउमा सुताएकी थिई । स्याल त्यहाँ पुग्यो । शिशुलाई लिएर स्याल जङ्गलतिर पुग्यो । कुकुरले भुक्दै स्याललाई पछ्यायो । किसानकी पत्नी बेहोस भई । कुकुरले एकैछिनपछि शिशुलाई लिएर आयो । आफ्नो बच्चालाई बचाएको ठानी किसानका पतिपत्नीले कुकुरलाई पहिलेभन्दा धेरै माया गर्न थाले । कुकुर खुसी भयो । कथाले बुढो भयो भन्दैमा कसैलाई पनि हेला गर्न नहुने सन्देश दिएको छ ।