You dont have javascript enabled! Please enable it!
Curriculum
Course: Class 7 Nepali Note
Login
Text lesson

पाठ ८ सिर्जनाका कोपिला

शब्दभण्डार

१. खाली ठाउँमा उपयुक्त लघुतावाची शब्द भर्नुहोस् :

(क) आज गाईलाई दिन एक त्यान्द्रो पराल पनि छैन । (त्यान्द्रो, मुठो, भारी)
(ख) उसले एक सितो भात पनि नराखी खायो । ( डल्लो, गाँस, सितो)
(ग) आमाले मलाई एक पित्को अचार दिनुभयो । (थोपो, पित्को, छिटो)
(घ) तरकारी पकाउन एक तुर्को तेल पनि छैन । (चम्चा, मुठी, तुर्कों)

२. जोडा मिलाउनुहोस् :

एक धरो  लुगा
एक चानो  आलु
एक छिटो  पानी
एक कोसो  केरा
एक त्यान्द्रो  घाँस
एक चुस्को  चिया

३. तल दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
सितो : एक सितो पनि नफाली भात खानुपर्छ ।
धरो : गरिबहरुलाई एक धरो लुगा लगाउन पनि धौ धौ पर्छ ।
थोपो : आज गाईले एक थोपो पन दुध दिएन ।
छिटो : तेलमा एक छिटो पानी पार्नुहुँदैन है ।
गेडो : चामल एक गेडो पनि नपोख ल ।
थाली : थालीमा पूजाको सामग्री राख है ।
लौरी : विद्यार्थीहरुलाई लौरीले हिर्काउन छोड ।
कोसो : दैनिक एक कोसो केरा खानुपर्छ ।

बोध र अभिव्यक्ति

१. तल दिइएका शब्दको उच्चारण गर्नुहोस् :

उत्कण्ठा, सिर्जना, जिन्दगी, पल्लव, क्रियाकलाप, अनुभूति, सार्थक

२. ‘सिर्जनाका कोपिला’ पाठ कक्षामा सस्वरवाचन गर्नुहोस् र यसका विषयवस्तुबारेमा छलफल गर्नुहोस् ।

३. तल दिइएको पाठको अंश पढी सोधिएका प्रश्नको एक वाक्यमा उत्तर भन्नुहोस् :

प्रश्नहरू
(क) म पात्र कस्तो कल्पनामा डुब्दै थिइन् ?
उत्तर : म पात्र सुनौलो आगतको कल्पनामा डुब्दै थिइन् ।
(ख) कहिले चुहिएका आँसु ओभाउने क्रममा थिए ?
उत्तर : विगतमा चुहिएका आँसु ओभाउने क्रममा थिए ।
(ग) कलिलो मनका के के कुरा उस्तै थिए ?
उत्तर : कलिलो मनका चोट, घाउ, दर्द, पीडा उस्तै थिए ।
(घ) ‘रुँदा पनि मन हलुका हुँदो रहेछ’ भन्नुको तात्पर्य के हो ?
उत्तर : ‘रुँदा पनि मन हलुका हुँदो रहेछ’ भन्नुको तात्पर्य रुँदा आँसुका रूपमा दुःख बाहिर निस्कने हुँदा पीडा कम हुन्छ भन्नु हो ।
(ङ) म पात्र कस्तो जिन्दगीबाट निकास खोज्दै थिइन् ।
उत्तर : म पात्र आँसु अर्थात् दुःखको जिन्दगीबाट निकास खोज्दै थिइन् ।

४. भावविस्तार गर्नुहोस् :

(क) मान्छेले जिन्दगीका सुनौला पल कहिल्यै बिर्सन सक्दैन ।

उत्तर : प्रस्तुत निबन्ध झमक घिमिरेबाट रचना गरिएको ‘सिर्जनाका कोपिला’ निबन्धबाट साभार गरिएको हो । प्रस्तुत अंशले मानिसले आफ्ना जिन्दगीका विशेष वा सुनौला पल जस्तोसुकै अवस्थामा र समयमा पनि बिर्सन सक्दैन भन्ने कुरा स्पष्ट पार्न खोजिएको छ ।
सानैदेखि सिर्जना गर्न मन पराउने ‘म’ पात्रले विभिन्न व्यक्तिका जीवनी, लेख, रचना पढी ती रचनाबाट प्रेरित भई गर्न थाल्छिन् । सुरुका सिर्जनाभन्दा अलिक राम्रा सिर्जना भएकाले उत्साहित हुँदै नजिकै डेरामा बस्ने एक जना दाइलाई देखाउँछिन् । दाइले ‘म’ पात्रलाई निकै  माया गर्नुहुन्थ्यो । कुनै नयाँ पुस्तक किनेर ल्याएर ‘म’ पात्रलाई पढ्न दिनुहुन्थ्यो । ‘म’ पात्रलाई यति धेरै माया गर्ने मान्छेको नाम, घर थाहा नपाउँदा निकै दुःख लागेको बताउँछिन् । जीन्दगीमा यस्ता खुसीका पल मानिसले कहिल्यै बिर्सन सक्दैन । त्यहीँ खुसीका पलले नै मानिसलाई अगाडि बढ्ने प्रेरणा प्राप्त गरेको कुरा आज सम्झिँदा ‘म’ पात्रलाई निकै खुसीको महसुस भएको कुरा उक्त अंशमा प्रस्तुत भएको छ ।
यसरी मानिसले जीवनमा खास समयमा प्राप्त गरेको खुसी कहिल्यै पनि मेटिँदैन । त्यही खुसीले मानिसलाई अगाडि बढ्ने बाटो देखाइरहन्छ भन्ने भाव उक्त कथनमा व्यक्त भएको छ।

(ख) म बसौं अगाडिदेखि समताको चिन्तन बोक्दै आइरहेकी थिएँ ।

उत्तर : प्रस्तुत अंश झमक घिमिरेबाट रचना गरिएको ‘सिर्जनाका कोपिला’ निबन्धबाट साभार गरिएको हो । यस निबन्धांशमा मान्छेको जात मान्छे नै हो । हरेक मानिसले विभेदमुक्त र समतामूलक सोच लिएर अगाडि बढ्नुपर्छ भन्ने विचारलाई प्रस्ट पार्न खोजिएको छ ।  
बाल्यकालदेखि नै ‘म’ पात्र समतामूलक समाजको विचार लिएर हिँड्ने व्यक्ति हुन्छिन् । सबैलाई समान दृष्टिकोणले हेर्नुपर्छ । मान्छे सबै बराबर हुन् । म पात्रले खुट्टाले लेख्छिन् भन्ने कुरा एकाएक सबैतिर फैलिएपछि उनलाई हेर्न र भेट्न धेरै मान्छे आउन थाल्छन् । हिजोसम्म बिरानोजस्तो उनको घर आज आस्था र विश्वासको स्थल बनेको थियो । उनका घरमा जुनसुकै मान्छे निर्वाध रुपमा आउन जान सक्थे । जहाँ सबै जात, भाषा, वर्ग, लिङ्गका मान्छे सबैलाई समान व्यवहार गरिन्थ्यो । आफूले बोकेको समताको चिन्तनले आज मूर्त रूप लिएको देख्दा ‘म’ पात्र निकै  खुसी हुन्छिन् ।
अतः हामीले पनि समान र  समतामूलक चिन्तन लिएर हिँड्नुपर्छ । जीवनमा मानिसले सकारात्मक सोच लिएर हिँड्यो भने एक दिन सफलता प्राप्त हुन्छ भन्ने कुरालाई यस निबन्धांशले पुष्टि गरेको छ ।

५. तल दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :

(क) किताब पढ्दा निबन्धकारको मनमा कस्ता विचार उत्पन्न हुन्थे ?

उत्तर : किताब पढ्दा निबन्धकारको मनमा विभिन्न किसिमका विचार उत्पन्न हुन्थे । निबन्धकारलाई किताबका पढ्दा कथा, कविताका पात्रजस्तै अलग पात्र खोजेर तिनका बारेमा लेख्न, जान्न पाए हुन्थ्यो भन्ने विचार उत्पन्न हुन्थे ।

(ख) निबन्धकारको मन किन अस्थिर भएको थियो ?
उत्तर : निबन्धकार बालिका नै थिइन् । बालबालिकाको मन स्वाभाविक रुपमा चञ्चल हुन्छ । चञ्चल मन अस्थिर हुन्छ । यस्तो समयमा कसैले राम्रो गाएको सुन्यो भने आफूलाई पनि गाउन मन लाग्ने, कसैले राम्रो नाचेको देख्यो भने नाच्न मन लाग्ने, कसैले राम्रो चित्र कोरेको, कसैले राम्रो लेखेको देख्यो भने आफूलाई पनि त्यही गर्न मन लाग्ने हुन्छ । यही कारणले निबन्धकारको मन अस्थिर भएको थियो ।

(ग) निबन्धकारको मन रमाउनाको कारण के थियो ?
उत्तर : निबन्धकारले खुट्टाले लेख्ने कुरा चारैतिर फैलियो र मानिसहरू उनलाई हेर्न आउन थाले । घरमा चलहपहल हुन थालेको थियो । मान्छेको आवतजावतले घरको रौनक अर्कै बनेको थियो । त्यही समयदेखि उनका घरमा जातीय पर्खाल भत्कियो । यो बसौंदेखि उभिएको विभेदको पर्खाल भत्किएकाले निबन्धकारको मन साह्रै रमाएको थियो ।

(घ) यस निबन्धको मूल भाव के हो ?
उत्तर : बालबालिकाहरुमा अनेक प्रतिभा हुन्छन् । बाल्यकालमा त्यस्तो प्रतिभाले प्रस्फुटन हुन पाउनुपर्दछ । बालबालिकाहरुमा रहेको चञ्चलता नै सिर्जनाको प्रारम्भ रुप हो । बालबालिकाहरुमा  सिर्जना गर्ने क्षमता हुन्छ । उनीहरुको बाहिरी शारीरिक स्वरुप देखेर भित्री सिर्जनाको शक्ति थाहा पाउन सकिँदैन । त्यसैले उनीहरूलाई हौसला प्रदान गरेर उनीहरुभित्र रहेको सिर्जनालाई फक्रिन दिने अवसर प्रदान गर्नुपर्छ । बालबालिकाहरुका उचित चाहना, रुचिअनुसार अघि बढ्ने अवसर प्रदान गर्नुपर्छ । असल चिन्तन भएका बालबालिकाहरुले समाज रुपान्तरणमा ठुलो भूमिका खेल्न सक्छन् । त्यस्ता बालबालिकाहरुका विचारलाई बुझेर उनीहरुभित्र रहेको विचारलाई प्रस्फुटन गर्ने अवसर दिनुपर्छ भन्ने मूल भाव यस निबन्धमार्फत व्यक्त गरिएको छ ।

६. तल दिइएका प्रश्नको लामो उत्तर लेख्नुहोस् :

(क) ‘सिर्जनाका कोपिला’ पाठमा निबन्धकारले आफ्नो जीवनको कस्तो अवस्थालाई दर्साएकी छन्, लेख्नुहोस् ।

उत्तर : आत्मपरक शैलीमा रचना गरिएको प्रस्तुत सिर्जनाको कोपिला’ निबन्ध झमक घिमिरेद्वारा रचना गरिएको उत्कृष्ट निबन्ध हो । निबन्धमा निबन्धकारले एउटा व्यक्तिले कसरी सिर्जना गर्न थाल्दछ भन्ने विचारलाई प्रस्तुत गरेकी छन् । यसका साथै निबन्धकारले बाल्यकालमा भोग्नुपरेका पीडाहरुलाई पनि प्रस्तुत गरेकी छन् ।
प्रस्तुत निबन्धमा आँसुको जिन्दगीबाट मुक्ति पाउन र सुनौला आगतको कल्पनामा पुग्ने गरेको प्रयासलाई निबन्धकारले दर्साएकी छिन् । बाल्यकालमा कलिलो मनले भोगेका चोट, घाउ, दर्द, पीडाको निकास गर्ने ठाउँ नभेटेको र त्यस्ता पीडाबाट मुक्ति पाउने माध्यम आँसु रहेको कुरा निबन्धकारले बताएकी छन् । आँसुबाट मुक्ति पाउन खोजिरहेकी निबन्धकारले कथा, उपन्यास पढ्न थालिन् र आफूभित्र रहेका विचार व्यक्त गर्ने माध्यम खोज्न थालिन् । अक्षर चिनेर खुट्टाले लेखेर भए पनि उनले आफ्ना विचार व्यक्त गर्न थालेपछि खुट्टाले लेखेको हेर्न आउने मानिसहरु बढ्दै गए । मान्छेको आवतजावतले घरको रौनक अर्कै बनेको थियो । त्यही समयदेखि उनको घरमा रहेको जातीयताको पर्खाल भत्किएको महसुस हुन थाल्यो । प्राचीन कालदेखि उभिएको विभेदको पर्खाल भत्किँदा उनको मन साह्रै रमाएको थियो ।
यसरी निबन्धकारले बाल्यकालमा अनेकौँ कष्ट झेल्दै दुःखबाट क्रमशः सफलता चुम्दै दुःखको अन्त्य हुँदै गएको जीवनको अवस्थालाई यस निबन्धमा प्रस्तुत गरेकी छन् ।

(ख) यस पाठमा निबन्धकारको सिर्जनाप्रतिको मोह कसरी झल्किएको छ, स्पष्ट पार्नुहोस् ।

उत्तर : झमक घिमिरेद्वारा रचिएको ‘सिर्जनाका कोपिला’ आत्मपरक शैलीमा लेखिएको निबन्ध हो यस निबन्धमा निबन्धकारले मानिसमा मनमा सिर्जनाका कोपिला फक्रिन्छन् भन्ने कुरालाई प्रस्तुत गरेकी छन् । साथै सिर्जना गर्न थालेपछि मानिसमा कसरी सिर्जनाप्रतिको मोह बढ्छ भन्ने कुरालाई पनि प्रस्तुत गरेकी छन् ।
बाल्यकालमा भोगेका चोट, घाउ, दर्द र पीडालाई आँसुका रुपमा बाहिर निकालेर जिन्दगीबाट निकास खोजिरहेकी निबन्धकारमा किताब पढ्दा कथा, कविताका पात्र जस्तै पात्र खोज्न र तिनका बारेमा लेख्न जान्न पाए हुन्थ्यो भन्ने चाहना उत्पन्न हुन्छ तर नजानेको हुनाले तिनका बारेमा घन्टौंसम्म हेरेर पढिरहने गर्थिन् । त्यस्तै पुतली देखे पुतली, रुपी, भँगेरा, काग, गौंथली र मान्छे देखे तिनकै बारेमा सोच्न थाल्थिन् । कल्पना कल्पनामै सीमित हुन्थ्यो । लेख्ने रहर पलाएपछि सुरु सुरुमा लेखिएका कुरा राम्रो नलागेर उनी च्यातेर फाल्ने गर्थिन् । साहित्यका पुस्तक पढ्ने र आफूलाई मन परेको सिर्जना कापीमा सारेर राख्ने बानी थियो । उनले त्यही समयमा साहित्य सिर्जना गर्न पुगेकी थिइन् । ती सुरुका सिर्जनाभन्दा थोरै राम्रा सिर्जना भएकाले उत्साहित हुँदै डेरामा बस्ने एक जना दाइलाई देखाएको र ती दाइले राम्रो भएको अझ राम्रो  लेख भन्दा फुरुङ्ग परेर सिर्जनामा लाग्न थालेको बताउँछिन् । बिस्तारै बिस्तारै उनमा सिर्जनाका नयाँ बियाँ अङ्कुराउन थाल्छन् र टुसाउन      थाल्छन् । लेख्ने र पढ्ने क्रममा निरन्तर रुपमा चलेकाले उनमा सिर्जनाप्रतिको मोह बढ्दै गएको कुरा बताएकी छन् ।
यसरी विभिन्न पीडा र दर्द सहँदै आफूभित्र उत्पन्न सिर्जनाप्रतिको प्रेमलाई सार्थकता दिएको कुरा उनले यस निबन्धमार्फत प्रस्तुत गरेकी छन् ।

७. पाठको दोस्रो अनुच्छेद मौन पठन गरी मुख्य मुख्य चारओटा बुँदा टिपी सारांश लेख्नुहोस् ।

 उत्तर : मुख्य मुख्य चारओटा बुँदा :
(क) किताब पढ्दा कथा, कविताका पात्र जस्तै पात्र खोज्न र तिनका बारेमा लेख्न जान्न पाए हुन्थ्यो भन्ने चाहना सल्बलाउनु,
(ख) नजानेको हुनाले तिनका बारेमा घन्टौंसम्म हेरेर पढिरहनु,
(ग) पुतली देखे पुतली, रुपी, भँगेरा, काग, गौंथली र मान्छे देखे तिनकै बारेमा सोच्नु,
(घ) कल्पना कल्पनामै सीमित बनेकाले कैयौँ कथा भएर नलेखिनु ।
 
सारांश :– किताब पढ्दा पात्र जस्तै पात्र खोज्न र तिनका बारेमा लेख्न जान्न पाए हुन्थ्यो भन्ने चाहना सल्बलाउँछ । घोत्लिएर घन्टौँसम्म हेर्थिन् । जे देख्यो तिनकै बारेमा सोच्दछिन् । कल्पना कल्पनामै सीमित बन्थे । अनेकौँ कथा भएर पनि लेखिएनन् ।

८. तपाईंलाई झमक घिमिरेका बारेमा के के कुरा थाहा छ, कक्षामा छलफल गर्नुहोस् ।

उत्तर : झमक घिमिरेको जन्म वि.सं. २०३७ असार १ गते धनकुटाको कचिँडेमा भएको थियो । माता आशादेवी घिमिरे र पिता श्रीकृष्णबहादुरकी सन्तानका रूपमा घिमिरे जन्म भएको थियो । मस्तिष्कीय पक्षाघातका कारण यिनका हातगोडा सक्रिय थिएनन् । यिनी बोल्न र हातले केही गर्न पनि सक्दिन थिइन् । विद्यालयसमेत नदेखेकी घिमिरे आफ्नै प्रयासले अक्षर चिनिन् र खुट्टाले धुलोमा कोर्दै साहित्य रचना गर्न थालिन् । उनको ‘जीवन काँडा कि फूल’ साहित्यिक कृति निकै स्तरीय र बौद्धिक चिन्तनले भरिएको सिर्जना हो । यस कृतिमा उनले आफ्नो जीवनको सङ्घर्षलाई राम्ररी वर्णन गरेकी छन् । यस कृतिका लागि झमक घिमिरेलाई २०६८ सालको मदन पुरस्कारसमेत दिइएको छ । यसरी शारीरिक अपाङ्गता भएका मानिसहरुले पनि बौद्धिक कार्य गर्न सक्छन् भन्ने उदाहरण घिमिरेको जीवनीबाट प्रेरणा पाउन सकिन्छ ।

९. यस पाठको शीर्षक ‘सिर्जनाका कोपिला’ किन राखिएको होला, तर्क दिनुहोस् ।

उत्तर : झमक घिमिरेद्वारा आत्मपरक शैलीमा रचना गरिएको प्रस्तुत निबन्धमा निबन्धकारले आफूमा कसरी सिर्जनाको प्रारम्भ भयो भन्ने कुरा बताएकी छिन् । कोपिला कसरी एउटा सुन्दर फूलमा परिणत भयो भन्ने कुरा निबन्धमा वर्णन गरिएको छ । सानैमा हरेक व्यक्तिमा सिर्जनाका कोपिला पलाउने गर्दछन् । हामीले यसलाई प्रस्फुटन गर्न सक्नुपर्छ । सिर्जना गर्ने क्षमता उसले जन्मजात प्राप्त गरेको अधिकार हो । जस्तोसुकै कठिन अवस्थामा पनि मानिसले आफूभित्र भएको सिर्जना प्रस्फुटन गरेर छाड्छ भन्ने कुरालाई घिमिरले यस निबन्धमा उल्लेख गरेबाट यस पाठको शीर्षक ‘सिर्जनाका कोपिला’ राखिएको हो ।

१०. ’ मेरो गाउँ’ शीर्षकमा एक अनुच्छेद लेखी कक्षामा सुनाउनुहोस् ।

उत्तर :  मेरो गाउँ 
म जन्मेको गाउँ निकै रमाइलो छ । पहाडी मुलुक भएकाले मेरो गाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । खेतीकिसानी गर्ने गाउँले जीवनका रमाइला क्षण सम्झिँदा निकै रमाइलो अनुभूति हुन्छ । मेरो गाउँका मानिसहरू कर्ममा विश्वास गर्छन् । मेरा गाउँमा खोलानाला, ताल, पाखापखेराले निकै आकर्षक छ । सुखदुःखमा एकअर्कामा सहयोगी मन भएका गाउँका मानिसहरु इमानदार र कर्मशील छन् । कृषिमा आधािरत मेरो गाउँमा पशुपालन, सब्जीखेती गरेर मानिसहरु जीवन निर्वाह गर्दछन् ।

भाषिक संरचना र वर्णविन्यास

२. तल दिइएका वाक्य पढ्नुहोस् र रातो रङ लगाइएका शब्दको कारक र विभक्ति पहिचान गरी लेख्नुहोस् :

(क) म विद्यालय जान्छु । म : कर्ताकारक, शून्य विभक्ति
(ख) झमक खुट्टाले कलम समाएर लेख्थिन् । कलम : कर्म कारक, शून्य विभक्ति
(ग) उसले गृहकार्य गरेको छ । उसले : कर्ताकारक, प्रथमा विभक्ति
(घ) आमा बहिनीलाई पढाउनुहुन्छ । बहिनीलाई : कर्म कारक, द्वितीया विभक्ति
(ङ) विद्यार्थी कलमले लेख्छन् । कलमले : करण कारक, तृतीया विभक्ति
(च) रुखबाट फल भयो । रुखबाट : अपादान कारक, पञ्चमी विभक्ति

३. रातो रङ लगाइएका पदका कारक र विभक्तिको नाम लेख्नुहोस् :

उनीहरू :कर्ताकारक, मैले कर्ता कारक, खुट्टाले : करण कारक, तृतीया विभक्ति, विचारमा : अधिकरण कारक, सप्तमी विभक्ति, मलाई : कर्म कारक, द्वितीया विभक्ति, भगवान्ले : कर्ता कारक, प्रथमा विभक्ति, धरतीमा : अधिकरण कारण, सप्तमी विभक्ति, डेरामा : अधिकरण कारक, सप्तमी विभक्ति, घरमा : अधिकरण कारक, सप्तमी विभक्ति, मलाई : सम्प्रदान कारक, चतुर्थी विभक्ति ।

४. तल दिइएका विभक्ति चिह्नको प्रयोग गरी १० ओटा वाक्यको एउटा अनुच्छेद लेखेर कक्षामा सुनाउनुहोस् :

 ले, बाट, द्वारा, देखि, मा, को, रो, ना, लाई, नो 

शिवले व्यापार गरेर परिवार पालेका छन् । उनले व्यापारबाट प्रशस्त आम्दानी पनि गरेका छन् । विज्ञापनद्वारा पनि उनले आफ्नो व्यापारको प्रचार गरेका छन् । उनको व्यापारको चर्चा गाउँदेखि सहरसम्म फैलिएको छ । उनले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाएका छन् । उनको सहयोगी भावना देखेर सबै गाउँले खुसी छन् । राम्रो खानलाउन र आफ्ना साथीभाइहरुलाई सहयोग गर्न उनलाई पुगेको छ । आफ्नो व्यवसाय दिनदिनै फस्टाउँदै गएकामा  शिव खुसी छन् ।

५. पाठको अन्तिम अनुच्छेदबाट कारक र विभक्ति लागेर बनेका पाँचओटा शब्द टिपी शिक्षकलाई देखाउनुहोस् ।

उत्तर : पाठको अन्तिम अनुच्छेदबाट कारक र विभक्ति लागेर बनेका पाँचओटा शब्द : बगैँचामा : अधिकरण कारक, सप्तमी विभक्ति, जिन्दगीलाई : सम्प्रदान कारक, चतुर्थी विभक्ति, मैले : कर्ता कारक, प्रथमा विभक्ति, ममाथि : अधिकरण कारक, सप्तमी विभक्ति, रुपमा : अधिकरण कारक, सप्तमी विभक्ति ।

६. तल दिइएका शब्द पढ्नुहोस् र ’क्ष’ र ’छ’ वर्ण प्रयोग भएका चार चारओटा अन्य शब्द लेखेर कक्षामा सुनाउनुहोस् :

क्ष’ वर्ण प्रयोग भएका शब्द : अक्षर, अध्यक्ष, मोक्ष, क्षमा, वक्ष, नक्षत्र
अन्य शब्द : सक्षम, शिक्षा, दीक्षा, अक्ष


छ’ वर्ण प्रयोग भएका शब्द : छन्द, छत्र, छटा, छवि, खेल्छ, पढ्छ
अन्य शब्द : छेउ, छाया, छाप, छल

७. पाठको चौथो अनुच्छेदबाट क्ष र छ वर्ण प्रयोग भएका शब्द खोजी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :

उत्तर : ‘क्ष’ प्रयोग भएका
अक्षर– हामीले अक्षर सुन्दर बनाउनुपर्छ ।

 


छ’ प्रयोग भएका
मान्छे : मान्छे भएर जन्मेपछि जीवनलाई सार्थक बनाउनुपर्छ ।
छिर्का – लुगाभरि मसीका छिर्का लगाएर आएछौ हैन ?
छक्क : ऊ मेरो काम देखेर छक्क प¥यो ।
रहिछ – विनिता साह्रै असल रहिछ ।

मेरो रमाइलो यात्रा (निबन्ध) 

करिब एक वर्षअगाडिको कुरा हो, मलगायत मेरो परिवार पूर्वी नेपालको  इलामको चियाबारी घुम्न भनेर काठमाडाँबाट हिँड्यौँ । बनेपा बर्दिबासको सडक हुँदै माइक्रोबसमा काठमाडौंको कोटेश्वरबाट बिहानको ६ बजे यात्रा प्रारम्भ ग¥यौँ । वर्षभरि कार्यालयको काम र झन्झटबाट मुक्त हुनका लागि नयाँ ठाउँ जान लागेकाले मनमा निकै आनन्दको महसुस भइरहेको थियो । मलाई पनि होइन, मेरी श्रीमती र छोराछोरीमा पनि त्यो खुसीको अनुभूति भएको म महसुस गर्थेँ ।
घुमाउरो बाटो, शीतल हावासँगै माइक्रोबस एकनासले हुइँकिरहेको थियो । झ्यालबाट रमाइला दृश्यहरू हेर्दै केही छिनमै धुलिखेलबाट बनेपा बर्दिबास खण्डको बिपी राजमार्ग हुँदै माइक्रोबस आफ्नै गतिमा अगाडि बढिरहेको थियो ।
बिपी राजमार्गमा पर्ने मनमोहक सुन्दर घुम्ती सडकहरू हेर्दा जेसुकैको पनि मन लोभिन्छ । सुनकोसीको तिरैतिर दौडिएको माइक्रोबस सिन्धुली जिल्लाको खुर्कोटमा पुगेर रोकियो । सुनकोसी र तामाकोसी मिसिएको त्यो ठाउँ निकै सुन्दर र मनमोहक रहेछ । खुर्कोटमा खाजा र जुनार खाएपछि हाम्रो यात्रा फेरि अगाडि बढ्यो ।
गाडीमा रहेका अन्य यात्रुहरु पनि बाहिरका दृश्य हेर्दै रमाइरहेका थिए । हलुका कुइरो लागेका डाँडाहरु छिचोल्दै माइक्रोबस आफ्नै गतिमा बढिरहेको छ । केहीबेरको यात्रापछि सिन्धुलीको ऐतिहासिक स्थान गढी हुँदै गाडी अगाडि बढिरह्यो । नेपालले ब्रिटिस इन्डिया कम्पनीलाई युद्धमा हराएर नेपाली फौजले नेपाललाई ब्रिटेनको कब्जा हुनबाट रोकेकाले सिन्धुलीगढीको ऐतिहासिक महत्व छ, जुन कुरा मैले इतिहासमा पढेको थिएँ ।
सिन्धुलीको चियाबारीमा पुगेपछि खाना खानका लागि गाडी रोकियो। त्यसपछि सबै यात्रीलेझैं हामीले पनि खाना खायौँ । त्यसपछि सिन्धुलीमाढी हुँदै यात्रा अगाडि बढिरह्यो ।  बर्दिबास पुगेपछि पूर्व पश्चिम महेन्द्र राजमार्ग हुँदै यात्रा बढी रह्यो । सुनसरी जिल्लाको सिमानामा रहेको सप्तकोशी नदीमाथि रहेको कोशी पुल अत्यन्त सुन्दर रहेछ । वरिपरिका सुन्दर, रमाणीय स्थानहरू हेर्दै गाडी सुनसरी, दमक हुँदै झापाको बिर्तामोड सहरमा पुगेर रोकियो । बिर्तामोड पुग्दा रात परेकाले हामी त्यहीँ बास बस्यौँ ।
भोलिपल्ट बिहान त्यहाँबाट अर्काे गाडीमा चढ्यौँ । चारआली हुँदै गाडी उत्तरतिर लाग्यो । बर्नेको चियाबारी हेर्दै हेर्दै झन्डै बनेपा बर्दिबास खण्डको सडकलाई बिर्साउने सडक हुँदै गाडी उकालो लाग्यो । करिब ३ घण्टाको यात्रापछि हामी इलामको रमणीय स्थान कन्याम पुग्यौँ । त्यहाँको चिया बगान, सूर्यास्तको रमणीय दृश्य त्यहाँको घण्टाघरसमेत घुमेर रमाइलो    ¥यौँ । भोलिपल्ट अन्तु गई सूर्याेदयको दृश्य हेर्दा निकै आनन्द लाग्यो । त्यस रात त्यहीँ चिया बगान छेउमा रहेको दिदीको घरमा बसेर भोलिपल्ट हामी इलाम, माइपोखरीको दर्शन गर्न गयौँ  । ऐतिहासिक महत्व बोकेको माइपोखरी घुम्दा स्वर्ग घुमेको जस्तै अनुभूति भयो । चार दिनको रमाइलो यात्रा सकेर हामी पुनः काठमाडाँ आयौँ ।

This website uses cookies and asks your personal data to enhance your browsing experience. We are committed to protecting your privacy and ensuring your data is handled in compliance with the General Data Protection Regulation (GDPR).