शब्दभण्डार
१. उपयुक्त समूहवाची शब्दसँग जोडा मिलाउनुहोस् :
कमिला : ताँती
बाँस : घारी
घाँस : भारी
दाउरा : खलियो
किताब : चाङ
हात्ती : बथान
२. खाली ठाउँमा उपयुक्त समूहवाची शब्द छानी भर्नुहोस् :
(क) रुखमा बारुलाको गोलो देखेर सबै डराए । (घार, गोलो, जालो)
(ख) जात्रामा मानिसको भिड भएकाले हिँड्ने ठाउँ थिएन । (बयान, फौज, भिड)
(ग) चोकमा फोहोरको डङ्गुर थियो । (डङ्गुर, भारी, चाङ)
(घ) विद्यार्थी फूलको गुच्छा लिएर गुरुको स्वागत गर्दै थिए । (मुठा, युँगो, गुच्छा)
(ङ) नेपालको उत्तरतर्फ हिमालको शृङ्खला चाँदी झैँ टल्किएको छ । (चुचुरो, शृङ्खला, थुम्को)
३. तल दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
विद्वान् : समाजमा विद्वान्लाई सबैले सम्मान गर्नुपर्छ ।
धुवाँ : धुवाँले धेरै प्रदूषण बढाउँछ ।
फर्सी : पोसिलो तरकारीहरूमध्ये फर्सी पनि एक हो ।
पर्वत : नेपालमा सानाठुला धेरै पर्वत छन् ।
साँचो : हामीले सधैँ साँचो बोल्नुपर्छ ।
पराल : गाईवस्तुका लागि पराल पोसिलो हुन्छ ।
केरा : केरा मानिसका लागि पोसिलो फल हो । भक्त : ईश्वरले
सेना : सेनाले देशको सेवा गर्नुपर्छ ।
बोध र अभिव्यक्ति
१. तल दिइएका शब्दको उच्चारण गर्नुहोस् :
सिर्जनामूल, इतिहास, विधाता, शिशु, गौरव, मातृवात्सल्य, स्रष्टा
२. ‘आमा’ पाठ लय हालेर पालैपालो सस्वरवाचन गर्नुहोस् र आमाका सम्बन्धमा पाठमा भनिएका विषयवस्तुका बारेमा शिक्षकको सहायता लिई साथीबिच छलफल गरी कक्षामा सुनाउनुहोस् ।
३. ‘आमा’ पाठको पहिलो श्लोक लयबद्ध वाचन गर्नुहोस् र तल दिइएका प्रश्नको एक वाक्यमा उत्तर भन्नुहोस् :
(क) बालकको जिन्दगी कसरी बन्छ ?
उत्तर : बालकको जिन्दगी आमाले खाएको गाँसले बन्छ ।
(ख) आमाले बच्चालाई के गर्न खटाउँछिन् ?
उत्तर : आमाले बच्चालाई आफू भोकै बसेर छाती अर्थात् दुध चुस्न खटाउँछिन् ।
(ग) आमालाई सिर्जनाकी मूल किन भनिएको हो ?
उत्तर : स्रष्टाको इतिहास भएको हुँदा आमालाई सिर्जनाकी मूल भनिएको हो ।
४. छुटेका शब्द राखी कविताको श्लोक पुनर्लेखन गर्नुहोस् :
को खा को खा भनी खाना नानीलाई खुवाउँछिन्
बगाई दुधको धारा शिशुलाई नुहाउँछिन्
मातृवात्सल्य रित्तिन्न जस्तै दुःख भए पनि
बचरा गुँड छोडेर टाढा टाढा गए पनि ।
५. ‘आमा’ पाठको पाँचौं श्लोक पढी त्यसलाई गद्यमा रूपान्तरण गर्नुहोस् :
उत्तर : आमाको रूप बिग्रन्छ सन्तान जन्मिएपछि – सन्तान जन्मिएपछि आमाको रूप बिग्रन्छ ।
सन्तान पर भै जान्छन् डोलीमा अन्मिएपछि – सन्तान डोलीमा अन्मिएपछि पर भई जान्छन् ।
तैपनि हुन्छ यो सारा आमाका निम्ति गौरव –आमाका निम्ति तैपनि यो गौरव हुन्छ ।
आमा निःस्वार्थ देवी हुन् कसरी नभनूँ अब । अब आमा निःस्वार्थ देवी हुन् कसरी नभनूँ
६. तल दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :
(क) कविताको पहिलो हरफमा कति अक्षर छन् ?
उत्तर : कविताको पहिलो हरफमा १६ अक्षर छन् ।
(ख) आमाले शिशुको कसरी हेरचाह गर्छिन् ?
उत्तर : आमा आफू भोकै भएर पनि बच्चालाई खुवाउँछिन् । नानी उठ्छ भनी राती आफू राम्ररी सुत्दिनन् । कतै गए पनि बालक सम्झेर रुन्छ भनी चाँडै फर्केर आउँछिन् । नानीलाई सुताउन काखमा राखेर गीत गाउने, थुम्थुम्याउने गर्छिन् नानीसँगै खेल्ने, काखमा नचाउने जस्ता विभिन्न कार्य गरेर आमाले शिशुको हेरचाह गर्छिन् ।
(ग) आमा कसरी निःस्वार्थ देवी हुन् ?
उत्तर : आमामा रहेको मायाममता आमालाई जस्तोसुकै दुःख परे पनि हराउँदैन । बालक जन्मेपछि आमाको रूप बिग्रन्छ । विवाह भएपछि सन्तानहरू आमाबाट टाढिन्छन् । छोराछोरी जतिसुकै टाढा भए पनि आमाको ममता र मायामा कमी आउँदैन । छोराछोरीको उन्नतिमा आमा सधैँ गौरव गर्छिन् । आमामा कुनै प्रकारको स्वार्थ हुँदैन । आमाले छोराछोरीलाई हुर्काएर केही पाउने आशा राख्दिनन् त्यसैले आमा निस्वार्थ देवी हुन् ।
(घ) जन्मदिने आमा पाइँदैन भन्नुको तात्पर्य के हो ? स्पष्ट पार्नुहुन्छ ।
संसारमा सबै चिज किन्न पाइन्छ । संसारमा अन्य नातासम्बन्ध गाँस्न सकिन्छ तर हामील जन्मदिने आमा जति खोजे पनि पाउन सक्दैनाँ । जन्मदिने आमा एकपटक पात्र पाउन सकिन्छ । कर्म दिने आमा पाए पनि जन्मदिने आमा खोजेर पाइँदैन भनिएको हो ।
७. व्याख्या गर्नुहोस् :
(क) धर्तीमा छ सबै चिज खोजे मिल्छ घरी घरी
तर जन्म दिने आमा पाइँदैन कसै गरी ।।
प्रस्तुत कवितांश कक्षा ७ को पाठ्यपुस्तकमा समावेश भएको ‘आमा’ कविताबाट साभार गरिएको हो । यस कविताका रचनाकार कवि कृष्णप्रसाद भट्टराई हुन् । उनले यस कवितामा छोराछोरीका लागि आमाभन्दा ठुलो कुरा अर्काे केही छैन । जन्मदिने आमा संसारमा जति खोजे पनि पाइँदैन भन्दै यस कवितांशमा आमाको महत्वलाई दर्साइएको छ ।
यस धर्तीमा हामीले खोजेका सबै चिजबिज पाउछौँ । धर्तीमा मानिसले खोजका सबै चिज भएकाले एकपटक मात्र होइन त्यस्ता चिजबिज हामीले खोज्दा पटक पटक पाउन सक्छौं । अरू चिजबिज जति पटक प्राप्त गर्न सके पनि हामीलाई जन्म दिने आमा भने पटक पटक हामीले पाउन सक्दैनौँ । मानिसले जीवनमा एक पटक मात्र जन्म दिने आमा पाउँछ । संसारमा आमा स्वर्गभन्दा ठुली हुन्छन् भनेर शास्त्रले समेत बताएको छ । सन्तानले आमाप्रतिको कर्तव्य कहिल्यै बिर्सनु हुन्न । आमालाई कहिल्यै हेला र घृणा गर्नुहुन्न । छोराछोरीका लागि आमा जीवनदाता हुन् । आमा नहुँदा हाम्रो जन्म हुने थिएन तसर्थ हरेक छोराछोरीले आमालाई सम्मान गर्दै आमाका सुखदुःखमा साथ दिनुपर्छ । यो संसारमा सबै कुरा पाए पनि मानिसले आमा भन्ने कुरा एकपटक पात्र पाउने भएकाले आमाको महत्व ठुलो छ भन्ने कुरा माथिको कवितांशमा स्पष्ट पारिएको छ ।
यसरी माथिको कवितांशमा कविले धर्तीमा सबै चिज पटक पटक प्राप्त गर्न सकिए पनि जन्म दिने आमा एक पटक मात्र पाउने भएकाले हामीले आमाको माया कहिल्यै भुल्नुहुँदैन भाव कविले बताएका छन् ।
(ख) जिन्दगानी रहेसम्म आँखाले देख्न पाउलान्
आफ्नो शक्ति भए मान्छे सेवामा जुट्न आउलान् ।
प्रस्तुत कवितांश कक्षा ७ को पाठ्यपुस्तकमा समावेश भएको ‘आमा’ शीर्षकको कविताबाट साभार गरिएको हो । यस कविताका रचनाकार कवि कृष्णप्रसाद भट्टराई हुन् । प्रस्तुत कवितांशमा मानिसले आफ्नो जिन्दगानी रहेसम्म मात्र आमालाई आँखाले देख्न पाउँछन् । हरेक छोराछोरीले आमाको सेवामा जुट्नुपर्ने कुरा प्रस्तुत गरिएको छ ।
मानिसको जीन्दगी बारम्बार पाइँदैन । हाम्रो जिन्दगानी एक पटकका लागि मात्र हो । त्यस्तै गरी यही जिन्दगी रहेसम्म मात्र हामीले आमालाई देख्न पाउँछौँ । हामीले पटक पटक आमालाई पाउन सक्दैनौँ । हामीले हाम्रो जिन्दगीमा आफ्नो शक्ति र बर्कतले भएसम्म आमाको सेवामा लगाउनुपर्छ । आमाप्रतिको कर्तव्य निर्वाह गर्ने काम नै सबैभन्दा ठुलो सेवा हो भन्ने कुरा माथिको कवितांशमा स्पष्ट पारिएको छ ।
यसरी माथिको कवितांशमा कविले आफ्नो जिन्दगानी रहेसम्म मात्र आमालाई आँखाले देख्न पाइने भएकाले आमाको सेवामा लाग्न आग्रह गर्दै आमाको सेवाभन्दा संसारमा अर्काे ठुलो सेवा छैन भन्ने मूलभावलाई प्रस्तुत गरेका छन् ।
८. तल दिइएका प्रश्नको लामो उत्तर लेख्नुहोस् :
(क) ’आमा’ कवितामा कविले आमाका सम्बन्धमा व्यक्त गरेका विचार कस्ता छन्, वर्णन गर्नुहोस् ।
उत्तरः आमाको महत्वलाई दर्साएर कवि कृष्णप्रसाद भट्टराईद्वारा रचना गरिएको यस कवितामा आमाको महिमा तथा विशेषतालाई प्रस्तुत गरिएको छ । कवितामा कविले आमा निःस्वार्थ देवी हुन् । आमाले अकेक दुःखकष्ट झेलेर छोराछोरीलाई हुर्काउँछिन् । हिँड्न र बोल्न सिकाउँछिन् । आमाले निस्वार्थ रुपमा आफूले नखाई नखाई छोराछोरीलाई हुर्काउँछिन् त्यसैले आमा देवीका रुपमा प्रकट भएकी हुन्छिन् भन्ने विचार प्रस्तुत गरेका छन् ।
यसका साथै कविले अन्य चिजबिज हामीले खोज्दा जतिपटक पाउन सक्छौँ तर आमा धर्तीमा पटक पटक पाइँदैन विभिन्न दुःख सहेर आमाले सन्तान हुर्काउँछिन् । सन्तान ठुलो भएपछि आमाबाट टाढिन्छन् । सन्तानको
उन्नतिप्रगतिमा आमाले सधैं गौरव गर्छिन् । उनमा कुनै पनि प्रकारको स्वार्थ हुँदैन । आफू भोकै बसेर सन्तानलाई खुवाएर हुर्काउने आमा साँच्चै निःस्वार्थ देवी हुन् भन्ने विचार कविले प्रस्तुत कवितामा व्यक्त गरेका छन् ।
यसरी नै मानिसले आफ्नो जिन्दगीमा एकपटक मात्र आमालाई पाउन सक्ने भएकाले आमाप्रति छोराछोरीको कतव्य के हो ? भन्ने कुरालाई कहिल्यै भुल्नुहँदैन । मानिसले भगवान् अति आदर र श्रद्धा गर्छ आमालाई पनि त्यति नै आदर र श्रद्धा गर्नुपर्छ । आमालाई गर्ने कर्तव्यबाट कहिल्यै विमुख हुनुहुँदैन भन्ने विचार कविले यस कवितामार्फत प्रस्तुत गरेका छन् ।
यसरी यस कवितामा कविले आमा महत्व दर्साउँदै आमा जगत्की निःस्वार्थ देवी भएकाले सबै छोराछोरीले आमाको सेवामा जुट्नुपर्ने विचार व्यक्त गरेका छन् ।
(ख) ‘मातृवात्सल्य रित्तिन्न जस्तै दुःख भए पनि’ भन्ने भनाइलाई पाठका आधारमा पुष्टि गर्नुहोस् ।
उत्तर : आमाको महत्व र विशेषतालाई प्रस्तुत गरिएको यो कविता कवि कृष्णप्रसाद भट्टराईद्वारा रचना गरिएको हो । यस कवितामा कवितामा कविले आमा निःस्वार्थ देवी भएकाले आमाको सेवामा जुट्नुपर्ने विचार अभिव्यक्त गरेका छन् । छोराछोरी टाढा भए पनि आमामा जस्तोसुकै अवस्थामा पनि मातृवात्सल्य रित्तिन्न भन्ने कुरा कवितामा कविले प्रस्तुत गरेका छन् ।
अनेकौँ दु:खकष्ट सहेर आमाले सन्तान हुर्काउँछिन् । सन्तानको खुसीका लागि आमाले आफ्ना इच्छा, चाहनासमेत परित्याग गर्न गर्छिन् । आमाका दुःख सहने सामथ्र्य हुन्छ । आफू भोकभोकै रहेर पनि सन्तानको पेट भर्न पाउँदा आमा निकै खुसी हुन्छिन् । बच्चाले खाना खान नमान्दा विभिन्न बहाना गरेर पनि सन्तानलाई भोको राख्दिनन् । दस धारा दुधको धारा बगाएर सन्तानलाई ठुलो बनाउँछिन् । सन्तान ठुला भएपछि आमालाई छोडेर जान्छन् तैपनि आमालाई दुःख लाग्दैन । आमाले जीवनमा धेरै दुःख पाए पनि उनमा भएको मातृवात्सल्य कहिल्यै रित्तिदैन । बाल्यकालदेखि वृद्ध हुँदासम्म आमाले उत्तिकै माया दिइरहन्छिन् ।
यसरी यस कवितामा कविले आमाको गुण, विशेषता दर्साउँदै महिमागान गाएका छन् । जस्तोसुकै सङ्कटमा पनि सन्तानका लागि आमामा रहेको आमाको मातृवात्सल्य रित्तिदैन भन्ने कुरा प्रस्तुत गर्दै आमालाई सबै सन्तानले सेवा गर्नुपर्ने विचार कवितामा प्रस्तुत गरिएको छ ।
९. ‘आमा’ पाठको दोस्रो श्लोकबाट तीनओटा प्रश्न बनाउनुहोस् ।
उत्तर : ’आमा’ कविताका दोस्रो श्लोकबाट तीनओटा प्रश्न :
(क) आमाले सन्तानलाई किन टेक्न लगाउँछिन् ?
(ख) आमाले किन गीत गाउँछिन् ?
(ग) ‘कोख’ र ‘धर्ती’ शब्दको अर्थ लेखी वाक्यमा प्रयोग गर्नुहोस् ।
१०. सन्ततिले आफ्नी आमाप्रति गर्नुपर्ने कर्तव्यका बारेमा लेखेर कक्षामा सुनाउनुहोस् :
उत्तर : सन्ततिले आफ्नी आमाप्रति सधैँ श्रद्धा र सम्मान गर्नुपर्छ । सन्तानले कहिल्यै आमाप्रतिको कर्तव्यलाई बिर्सनु हुँदैन । आमाको सेवा गर्नु सन्तानका लागि ठुलो धर्म हो । आमा खोजेर संसारमा कहीँ पाइँदैन त्यसैले आमको उचित रेखदेख र स्याहारसुसार गर्नुपर्छ । आमाका चाहना र इच्छा बुझेर हरेक सन्तानले आमाका उचित कुरालाई पूरा गर्नुपर्छ । आमा जगत्की देवी हुन् त्यसैले आमाको पूजा गरेर आमालाई खुसी राख्नु नै हरेक सन्तानको कर्तव्य हो । आमालाई पूजा गरेमा सम्पूर्ण तीर्थव्रत गरेको फल पाइने हुनाले आमाको सेवामा हरेक सन्तान जुट्नुपर्छ ।
भाषिक संरचना र वर्णविन्यास
१. तल दिइएको अनुच्छेदमा रातो रङ लगाइएका पद तालिकामा छुट्याएर लेख्नुहोस् :
उत्तर :
नामयोगी क्रियायोगी
तिर, तर्फ, माथि, बमोजिम
आज, घरीघरी, घुमाएर, सरसरती, राखेर, सुस्तरी, फर्किएर, मुसुक्क
२. तल दिइएको अनुच्छेद पढी क्रियायोगी र नामयोगी पद पहिचान गरी लेख्नुहोस् :
क्रियायोगी :– हिजो, बाहिर, धेरै, भोकाएर, एक्कासि तुरुन्त, झिकेर मुसुक्क, देखेर, फुरुङ
नामयोगी : सँग, भित्र, बित्तिकै, सित
३. ‘आमा’ पाठ पढ्नुहोस् र तीनओटा क्रियायोगी पद पहिचान गरी लेख्नुहोस् ।
उत्तर : कसरी, घरी, कहिले ।
४. तल दिइएका क्रियायोगी र नामयोगी पदलाई वाक्यमा प्रयोग गर्नुहोस् :
उदाहरण : भोलि : दाजु भोलि गाउँ जानुहुन्छ ।
सित : गीता दिदीसित घुम्न गइन् ।
अनुसार : मैले तिमीले भनेअनुसार काम गरेको छु ।
सुटुक्क : रमेश कक्षाबाट सुटुक्क भाग्यो ।
मध्ये : तिमीहरूमध्ये कसले गृहकार्य गरेको छ ।
अगिल्तिर : कक्षामा मेरो अगिल्तिर रमेश बस्छ ।
बिना : आमाबिना म बाँच्न सक्दिनँ ।
अकस्मात् : आज अकस्मात् ठुलो पानी आयो ।
बारे : आज म आमाबारे केही भन्दै छु ।
बमोजिम : तिमी मेरो कुराबमोजिम काम गर ।
सामु : म तिमीसामु केही भन्दिनँ ।
पछाडि : मेरो घरपछाडि खेल्ने ठुलो चौर छ ।
५. तल दिइएका शब्द पढ्नुहोस् र शब्दकोश हेरी ‘श’ / ‘ष’ / ‘स’ वर्ण प्रयोग भई बनेका पाँच पाँचओटा शब्द लेखेर कक्षामा सुनाउनुहोस् :
‘श’ वर्ण प्रयोग भएका शब्द :
शिव, शङ्कर, विशेषण, शिशु, शासन
‘ष’ वर्ण प्रयोग भएका शब्द :
षट्कोण, षड्दर्शन, विशेषण, पोषण, आषाढ
‘स’ वर्ण प्रयोग भएका शब्द :
सामान, सहर, सिकार, सहयोग, सरकार
६. ‘आमा’ पाठबाट श / स वर्ण प्रयोग भई बनेका दुई दुईओटा शब्द खोजी तिनलाई वाक्यमा प्रयोग गरी कक्षामा सुनाउनुहोस् ।
उत्तरः ‘श’ वर्ण प्रयोग भएका
शिशु :– आमाको दुध शिशुका लागि अमृतसमान हुन्छ ।
शक्ति : युवा शक्ति देशनिर्माणमा जुट्नुपर्छ ।
‘स’ वर्ण प्रयोग भएका
स्रष्टा :– स्रष्टाले सिर्जना गर्छ ।
मातृवात्सल्य :– जस्तोसुकै अवस्थामा पनि मातृवात्सल्य रित्तिँदैन ।
सुनाइ र बोलाइ
१. सुनाइ पाठ ९ सुन्नुहोस् र तलका प्रश्नको मौखिक उत्तर दिनुहोस् :
(क) अमृत भनेको के हो ?
उत्तर : सच्चा कमाइ गरेर खानु नै अमृत हो ।
(ख) सबैले खोज्ने गरेको सुख कहाँ छ ?
उत्तर : सबैले खोज्ने गरेको सुख आफूलाई मेटाएर अरुलाई दिनुमा छ ।
(ग) मानिसले खोजको शान्ति कुन ठाउँमा पाइन्छ ?
उत्तर : मानिसले खोजेको शान्ति रुखमुनि पाइन्छ ।
सिर्जना र परियोजना कार्य :
१. तल दिइएका शब्दको उपयुक्त प्रयोग गरी श्लोक पूरा गर्नुहोस् :
कहाँ जाने होला साथी पर्ख एकैछिन
सँगै खेल्ने साथीलाई बिर्सिएको किन ?
पढ्न लेख्न भनिकन बोकी आएँ झोला
छुट्टिएर गयो भनी रिस उठ्यो होला ।।