You dont have javascript enabled! Please enable it!
Curriculum
Course: Class 7 Nepali Note
Login
Text lesson

पाठ 10 अवसरको सदुपयोग

शब्दभण्डार

१. दिइएका अर्थ बुझाउने शब्द पाठबाट खोज्नुहोस् :

(क) पैदल माध्यमबाट एक ठाउँबाट अर्को ठाउँ पुग्ने वा घुम्ने काम :पदयात्रा
(ख) कुनै कुरा जान्ने इच्छा : जिज्ञासा
(ग) मनलाई अन्त नडुलाई एउटै कुरामा मात्र केन्द्रित गरेको एकाग्र
(घ) दायाँ अङ्ग शिव र बायाँ अङ्ग पार्वतीको गरी दुवैका आधा आधा अङ्ग मिलेर बनेको रूप : अर्धनारीश्वर
(ङ) देशविदेश घुम्ने व्यक्ति : पर्यटक

२. उपयुक्त अर्थसँग जोडा मिलाउनुहोस् :

अब्बल :  उत्तम, वातावरण : वरिपरिको परिवेश, समझदारी : होसियारी
विश्राम : आराम गर्ने काम, वेशभूषा : पहिरन

३. पाठबाट कुनै पाँचओटा पारिभाषिक शब्द पहिचान गरी तिनको अर्थ लेख्नुहोस् :

उत्तर : इन्द्रध्वजोत्थान : इन्द्रजात्रा सुरु गर्दा इन्द्रको सम्मानमा लिङ्गो ठड्याउने काम

इन्द्रध्वजपातन : इन्द्रजात्राको आखिरी दिन इन्द्रध्वजलाई पल्टाई नदीमा सेलाउने काम

वादविवाद : कुनै कुरा वा विषयको तत्त्वनिरूपणका निम्ति आफ्ना बुँदाको समर्थन र विपक्षीका बुँदाको खण्डनसाथ गरिने छलफल, तर्कविर्तक

अर्धनारीश्वर : दायाँ अङ्ग शिव र बायाँ अङ्ग पार्वतीको गरी दुवैका आधा आधा अङ्ग मिलेर बनेको रूप

दैनिकी : दिनैपिच्छेका घटना वा दिनदिनै प्राप्त भएको तथ्य लेख्ने पुस्तिका

४. तल दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :

प्रदूषण : वातावरण  प्रदूषण भएमा हामी रोगी हुन्छौँ ।
सङ्क्रमण : डेङ्गु सङ्क्रमणबाट धेरै मानिस बिरामी भएका छन् ।
चित्रकला : मैले चित्रकला प्रदर्शनी हेरेर आएँ ।
व्यायाम :  नियमित व्यायाम गर्नाले निरोगी भइन्छ ।
निर्णायक : प्रतियोगितामा निर्णायकको निर्णय निष्पक्ष हुनुपर्दछ ।
वायुमण्डल : वायुमण्डल प्रदूषण भएमा रोग फैलन्छ ।
अक्सिजन : पीपल धेरै अक्सिजन दिने रुख हो ।

बोध र अभिव्यक्ति


१. तल दिइएका शब्दको उच्चारण गर्नुहोस् :

विविधता, एकता, देश, ज्वलन्त, उदाहरण, संस्कृति, सन्देश, विदेशी, पर्यटक, सम्प्रेषण

२. ‘अवसरको सदुपयोग’ पाठ तोकिएको समयमा पालैपालो सस्वरवाचन गर्नुहोस् र उक्त पाठको विषयवस्तुका बारेमा छलफल गर्नुहोस् ।

३. तल दिइएका प्रश्नको एक वाक्यमा उत्तर भन्नुहोस् :

(क) दैनिकीमा कति दिनका विषयवस्तु समावेश छन् ?
उत्तर : दैनिकीमा तीन दिनका विषयवस्तु समावेश छन्
(ख) विद्यालयमा अतिरिक्त क्रियाकलापअन्तर्गत कुन कार्यक्रमको आयोजना गरिएको थियो ?
उत्तर : विद्यालयमा अतिरिक्त क्रियाकलापअन्तर्गत चित्रकला प्रतियोगिता र प्रदर्शनीको आयोजना गरिएको थियो ।
(ग) पुरस्कार वितरण कार्यक्रम कसको अध्यक्षतामा सम्पन्न भएको थियो ?
उत्तर : प्रतियोगिताको नतिजा सूचना पाटीमा टाँसिएको कुरा उल्लेख भए पनि पुरस्कार वितरण कार्यक्रम भएको कुरा दैनिकीमा उल्लेख भएको छैन ।
(घ) चित्रकला प्रतियोगितामा को प्रथम भए ?
उत्तर : चित्रकला प्रतियोगितामा दीपा प्रथम भइन्
(ङ) दीपालाई किन चित्रकला मन परेको हो ?
उत्तर : दीपालाई चित्र कोर्दा मन एकाग्र र शान्त हुन्छ । यसका साथै धेरै कुरा एउटै चित्रमा अभिव्यक्त गर्न सकिने भएकाले चित्रकला मन परेको हो ।

४. तल दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :

(क) अतिथि चित्रकारले बनाएको चित्र कस्तो थियो ?
उत्तर : चित्रकला प्रतियोगितामा निर्णयका लागि आएका अतिथि चित्रकारले पनि एउटा चित्र बनाउँछन् । त्यत्र चित्रमा एउटा यस्तो मानिस थियो जसको मुख कपालले छोपिएको थियो । जसका खुट्टामा दुईओटा पखेटा लागेका थिए । अवसर नामको त्यो चित्र अनौठो खालको थियो ।

(ख) अतिथि चित्रकारको चित्रले दिएको सन्देश के हो ?
उत्तर : अतिथि चित्रकारले कोरेको त्यो अनौठो चित्र अवसरलाई बुझाउन बनाइएको थियो । चित्रको मुख कपालले पुरै छोपिएको थियो । अवसर एकै स्थानमा बसिरहँदैन । यो उडेर अन्यत्र गइरहन्छ । चित्रको खुट्टामा पखेटा बनाइएको थियो । अवसरलाई देख्नासाथ त्यो उडेर अन्यत्र जानुअघि नै त्यसको सदुपयोग गरिहाल्नुपर्छ । अवसरलाई मौका पनि भनिन्छ । यसैले ‘मौका आउँछ, पखँदैन’ । यसलाई विशेष समयका रूपमा पनि चिन्न सकिन्छ । यही समयको महत्व बुझ्ने मानिस सफल हुन्छ भन्ने उक्त अनौठो चित्रको सन्देश हो ।

(ग) वातावरण प्रदूषण बढ्नुको कारण के हो ?
उत्तर : हिलोयुक्त र सहरी कोलाहल एवम् धुलोधुवाँ आदि वातावरण भएको अवस्था नै वातावरण प्रदूषण हो । प्रकृति शान्त र स्वच्छ हुन्छ । मान्छेका गलत खालका गतिविधिका कारण नै प्रकृतिमा प्रदूषण बढेको हो ।

(घ) थोरै खाजाले पनि पदयात्रामा सहभागी सबैले पेट भरिएको अनुभव गर्नुको कारण के हो ?
उत्तर : थोरै खाजाले पनि पदयात्रामा सहभागी सबैले पेट भरिएको अनुभव गर्छन् । यस्तो हुनु भनेको मैत्रीभावले भरिएको समझदारीको परिणाम हो । थोरै खाजा खोसाखोस गरेर कसैले एक्लै खाएको भए त्यति खानेकुराबाट सबैको पेट भरिँदैन थियो । दीपाका बुबाको सल्लाहअनुसार सबैले खाजा मिलेर खाएकाले सबैको पेट भरिएको अनुभव गरे ।

(ङ) परिवार वा समाजमा सबै जना सुखी र खुसी कसरी हुन सक्छन् ?
उत्तर : एकआपसमा सद्भावना र हार्दिक मित्रता भएमा जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि आनन्दको अनुभव हुन्छ । जहाँ परिवारका सदस्य वा समाजका मानिसहरुमा सद्भावना, मेलमिलाप र सहकार्य हुन्छ त्यस्तो परिवार वा समाजमा सबै खुसी र सुखी हुन्छन् ।

५. व्याख्या गर्नुहोस् :

(क) हाम्रो देश जातीय विविधताभित्र एकता भएको देशको ज्वलन्त उदाहरण हो ।
प्रस्तुत गद्यांश कक्षा सातको पाठ्यपुस्तकमा समावेश भएको ‘अवसरको सदुपयोग’ शीर्षकको दैनिकीबाट साभार गरिएको हो । पाठ्यपुस्तक लेखक समूहबाट तयार पारिएको यो दैनिकीको अंश दीपा कार्कीले लेखेको तेस्रो दिनको दैनिकीमा इन्द्रजात्राको अवलोकन गर्न जाँदा भनेकी हुन् ।
तेस्रो दिनको दैनिकीअनुसार दीपा र उनको परिवार इन्द्रजात्रा हेर्न गएका काष्ठमण्डप जान्छन् । त्यहाँ उनीहरूले इन्द्रजात्राका बारेमा धेरै जानकारी पनि हासिल गर्छन् । दीपाले त्यहाँ इन्द्रजात्रा मनाउन आएका विविध वेशभूषामा सजिएका मानिसहरू देख्छिन् । त्यसबेला उनलाई हाम्रो देश जातीय विविधताभित्र एकता भएको देशको ज्वलन्त उदाहरण हो भन्ने कुरा महसुस हुन्छ । उनलाई यहाँका मानिसहरु हरेक संस्कृतिहरु मिलजुली मनाउँदा रहेछन् भनेर विदेशीहरुमा पनि सन्देश पुग्दो रहेछ भन्ने लाग्छ । यस्ता सांस्कृतिक विविधतासम्बन्धी किताबमा पढेका कुराहरु आज प्रत्यक्ष देख्न पाउँदा उनलाई निकै खुसी लाग्छ । यस्तो विविधता भएको देशमा जन्मेर यस देशको नागरिक हुन पाएकामा उनलाई गर्वको अनुभूति हुन्छ ।
यसरी प्रस्तुत गद्यांशले हाम्रो देश जातीय विविधताले भरिएको छ । विविधताभित्रको एकता नै हाम्रो सांस्कृतिक पहिचान हो । यही पहिचानका आधारमा हाम्रो देश विश्वमै उदाहरणीय बनेको छ । यस्ता सांस्कृतिक विविधता जस्ता कुराहरु किताबमा मात्र होइन, बालबालिकालाई प्रत्यक्ष रुपमा सहभागी गराएर बुझ्नै अवसर दिनुपर्छ भन्ने विचारलाई उक्त गद्यांशले प्रस्ट पारेको छ ।

(ख) जुन ठाउँमा सद्भावना, मेलमिलाप र सहकार्य हुन्छ त्यस्तो परिवार र साथीसँगीको समूहमा सबै खुसी र सुखी हुन्छन् ।

प्रस्तुत गद्यांश कक्षा सातको पाठ्यपुस्तकमा रहेको ‘अवसरको सदुपयोग’ भन्ने दैनिकी पाठबाट साभार गरिएको हो । यो दैनिकी नेपाली पाठ्यपुस्तक लेखक समूहबाट तयार पारिएको हो । दैनिकीको दोस्रो दिन पदयात्रा गरेको दैनिकी लेख्ने क्रममा दीपा कार्कीले उक्त अंश पनि लेखेकी छन् ।
तारकेश्वर क्षेत्रको पदयात्राका क्रममा मन्दिरको दर्शन पटि भोक लाग्दा दीपा र उनका साथीहरू खाजा खान जम्मा हुन्छन् । खाजा चाहिँ गाडीमा नै छुट्छ । त्यस ठाउँमा कुनै होटलहरु पनि हुँदैनन् । अवधेश झाले बोकेको थेरै भुटेको मकै मात्र हुन्छ । थोरै मकै देखेर सबै अताल्लिन्छन् तर दीपाका बुबाले सबैले मिलेर खाएमा यसले सबै जनालाई पुग्ने कुरा बताउँछन् । उनीहरूले मिलेर खाजा खान्छन् । थोरै खाजाले पनि सबैले अघाएको महसुस गर्छन् । मैत्रीभावले भरिएको समझदारीको परिणामका सबैले अघाएको अनुभूति हुन्छ । खोसाखोस गरेको भए वा एक्लै खाएको  भए त्यति खानेकुराबाट सबैको पेट भरिन सम्भव थिएन । जहाँ सद्भावना र हार्दिक मित्रता छ त्यहाँ जस्तो परिस्थितिमा पनि आनन्दको अनुभव हुन्छ । जहाँ सद्भावना, मेलमिलाप र सहकार्य हुन्छ त्यस्तो परिवार वा समाज खुसी र सुखी हुन्छन् भन्ने कुरा यस गद्यांशमार्फत व्यक्त गरिएको छ ।
यसरी भावनात्मक प्रेम भएमा थोरै कुराबाट पनि सन्तुष्ट मिल्न  सक्छ । एकआपसको प्रेमले खुसी र सुख दुबै दिन सक्छ भन्ने कुरा यस गद्यांशमार्फत सन्देश दिन खोजिएको छ ।

६. ’ अवसरको सदुपयोग’ पाठको सार लेखेर कक्षामा प्रस्तुत गर्नुहोस् ।

उत्तर : पहिलो दिनको दैनिकीमा विद्यालयमा अतिरिक्त क्रियाकलापअन्तर्गत चित्रकला प्रतियोगिता र प्रदर्शनीको आयोजना गरिएको छ । त्यस प्रतियोगिताको निर्णायकमा बाहिरबाट चित्रकारलाई बोलाइन्छ । एक घण्टाको उक्त प्रतियोगितामा अतिथिले पनि एउटा चित्र कोर्छन् । उक्त चित्रले सबैको ध्यान आकर्षित गर्छ । निर्णायकले अवसरको चित्रमार्फत समयको महत्व दर्शाउँछन् । चित्र प्रदर्शनीपछि चित्रकलाको नतिजामा ‘म’ पात्र प्रथम   हुन्छिन् ।
दोस्रो दिनको दैनिकीमा ‘म’ पात्रलगायत साथीहरू पदयात्राका जान्छन् । पदयात्रामा ‘म’ पात्रका साथै डोल्मा, पासाङ, सोनम, अवधेश, रतिया, असीम, आसिफ र ब्रिजेन सहभागी हुन्छन् । मार्गनिर्देशन गर्न ‘म’ पात्रका बुबा पनि जान्छन् । काठमाडौं उपत्यकाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जअन्तर्गतको तारकेश्वर क्षेत्र र तारकेश्वर मन्दिर पदयात्राको गन्तव्य हुन्छ । उनीहरु त्यहाँको दर्शनपछि थोरै मकै खाएर सन्तोषको अनुभव गर्दै त्यस दिनको पदयात्रा पूरा गर्छन् ।
तेस्रो दिनको दैनिकीमा ‘म’ पात्र परिवारका साथमा इन्द्रजात्रा हेर्न जान्छिन् । उनीहरूले त्यहाँ इन्द्रजात्राको बारेमा धेरै जानकारी प्राप्त गर्छन् । इन्द्रजात्रामा विविध वेशभूषामा सजिएर आएका मानिसहरु भेला भएका हुन्छन् । ती मानिसहरुलाई देख्दा उनलाई हाम्रो देश जातीय विविधताभित्र एकता भएको देशको ज्वलन्त उदाहरण हो भन्ने प्रत्यक्ष महसुस हुन्छ । यसरी इन्द्रजात्रा हेरेर रमाइलो अनुभूति लिएर उनीहरु घर फर्किन्छन् ।

७. लामो उत्तर लेख्नुहोस् :

(क) ‘अवसरको सदुपयोग’ पाठमा ‘म’ पात्रले समयको सदुपयोग कसरी गरेकी छन्, लेख्नुहोस् ।

उत्तर : पहिलो दिनको दैनिकीमा ‘म’ पात्रले विद्यालयमा आयोजित अतिरिक्त क्रियाकलापअन्तर्गत चित्रकला प्रतियोगिताको आयोजना गरिएको हुन्छ । उक्त प्रतियोगिताको निर्णायकमा चित्रकारलाई बोलाइएको र उनले बनाएको चित्रले सबैको ध्यान आकर्षित गरेको थियो । निर्णायकले अवसर नामको चित्र बनाएर त्यस चित्रका माध्यमबाट समयको महत्व अथ्र्याउँछन् । चित्र प्रदर्शनीपछि त्यस दिनको चित्रकलामा प्रतियोगितामा ‘म’ पात्र प्रथम     हुन्छिन् ।
दोस्रो दिन काठमाडौं उपत्यकाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जअन्तर्गतको तारकेश्वर क्षेत्र र तारकेश्वर मन्दिरको पदयात्रामा सामेल भएकी ‘म’ पात्रले त्यस पदयात्रामा जहाँ सद्भावना र हार्दिक मित्रता छ त्यहाँ जस्तो परिस्थितिमा पनि आनन्दको अनुभव हुन्छ । जहाँ सद्भावना, मेलमिलाप र सहकार्य हुन्छ त्यहाँकोे परिवार वा समाज खुसी र सुखी हुन्छ भन्ने कुरा सिक्ने अवसर पाउँछिन् ।
तेस्रो दिन ‘म’ पात्रले इन्द्रजात्रा हेरेर समयको सदुपयोग गर्छिन् । उनीहरुले वसन्तपुर गई इन्द्रजात्राका बारेमा धेरै जानकारी हासिल गर्छन् । इन्द्रजात्रामा सजिएर सामेल भएका विविध वेशभूषामा उपस्थित भएका मानिसहरू देख्दा दीपालाई हाम्रो देश जातीय विविधताभित्र एकता भएको देशको ज्वलन्त उदाहरण हो भन्ने प्रत्यक्ष महसुस गर्ने अवसर पाउँछिन् । यसरी ‘अवसरको सदुपयोग’ पाठका आधारमा ‘म’ पात्रले समयको सदुपयोग गर्छिन् । उनले यी तीन दिनमा व्यावहारिक ज्ञानका साथै समयको सदुपयोग भएको अनुभूतिसमेत गर्छिन् ।

(ख) ‘नेपाल प्राकृतिक दृष्टिले सुन्दर र सांस्कृतिक दृष्टिले समृद्ध देश हो’ भन्ने भनाइलाई पाठका आधारमा तर्कसहित पुष्टि गर्नुहोस् ।

उत्तर : ‘समयको सदुपयोग’ दैनिकीको दोस्रो दिनको दैनिकीमा ‘म’ पात्रलगायत उनका साथीहरू शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने तारकेश्वर क्षेत्रमा पदयात्रा र तारकेश्वर मन्दिरको दर्शन गर्न गएका हुन्छन् । पदयात्राका क्रममा त्यस ठाउँको सुन्दरता देखेर नेपाललाई प्राकृतिक दृष्टिले सुन्दर देश हो भन्ने कुरा दीपाले उल्लेख गरेकी छन् । स्वच्छ आकाश, रुखका हाँगाबाट चियाइरहेको प्रकाश, हावाको चिसो स्पर्श र चराचुरुङ्गीका सुमधुर कलरवले उनीहरूलाई स्वागत गरिरहेका थिए । वर्षा ऋतु सिद्धिएर भर्खर आएको शरद् ऋतुसँगै हिलोविहीन र सहरी कोलाहल एवम् धुलोधुवाँबाट पूर्णतः मुक्त त्यहाँको धरतीमा प्रवेश गर्दा उनीहरुलाई कुनै दिव्यभूमिमा प्रवेश गरेको जस्तो महसुस हुन्छ । बाटाका छेउछाउमा रहेका धारा, कुण्ड, हरियाली र विविध प्रजातिका बोटबिरुवा हेर्दै कहिले अलिअलि उकालो, कहिले सिँढीको ठाडो उकालो अनि मन्दिरबाट फर्केपछि खुट्किलै खुट्किला भएको बाटाबाट ओर्लेर पोखरी हुँदै झरनातर्फको दृश्य साँच्चै मनमोहक खालको हुन्छ ।
तेस्रो दिनमा इन्द्रजात्रा हेर्न जाँदा विभिन्न वेशभूषामा सजिएका मानिसहरुबाट नेपाल सांस्कृतिक दृष्टिले समृद्ध देश हो भन्ने कुरा प्रष्ट पारिएको छ । त्यहाँ विभिन्न जाति, धर्म, संस्कृति मान्ने मानिसहरुको उपस्थिति रहेकाले जातीय विविधताभित्र एकता भएको देशको ज्वलन्त उदाहरण हो भन्ने प्रत्यक्ष महसुस गर्ने अवसर प्राप्त हुन्छ विविधताभित्रको  एकता नै नेपालको पहिचान हो । जुन पहिचान विश्वमै उदाहरणीय बनेको छ ।

८. तपाईंको विद्यालयमा आयोजना गरिएको कुनै एक दिनको कार्यक्रमलाई समेटेर दैनिकी लेख्नुहोस् ।  

(दैनिकी लेखन) उत्तर : नृत्य तथा गायन प्रतियोगिता 

२०७९ भदौ २१ सोमबार

सदाझैँ आज पनि म बिहानै ५ बजे उठेँ, हात मुख धोएँ र कसरत गरेँ । म प्रायः बिहान आमालाई सब्जी काट्न सघाउँथे । आज अतिरिक्त क्रीयाकलापको तयारी गर्नुपर्ने हुँदा मैल आज आमालाई सघाउन भ्याइनँ ।  बिहानको चियाखाजापछि मैले एक घण्टा नृत्यको अभ्यास गरेँ । बिहान ९ बजे खाना खाएर म स्कुलतिर लागेँ । हरेक शुव्रmबार हाम्रो स्कुलमा अतिरिक्त क्रीयाकलाप सञ्चालन हुन्छ । त्यसमा खेलकुद, गायन, नृत्य, कविता, निबन्ध, हाजिरीजवाफ, वक्तृत्वकला, वादविवाद, चित्रकला आदि प्रतियोगिताहरू हुने गर्छन् ।
मलाई गीत र नृत्य खुब मन पर्छ । त्यसैले आज गीत तथा नृत्य प्रतियोगितामा भाग लिन पाएकाले म ज्यादै खुसी र उत्साहित थिएँ । सुरुमा त मलाई प्रतियोगिताहरूमा भाग लिन पनि सङ्कोच लाग्थ्यो । मानिसहरूका अगाडि माइक समाएर बोल्नुपर्दा गोडा काम्थे । पटक पटक भाग लिनाले अहिले त्यस किसिमको सङ्कोच र डर धेरै हटेको छ । अभ्यास र शिक्षा प्राप्त गर्न पाए सबै किसिमका नृत्य गर्न सक्छु भन्ने ममा विश्वास छ । तैपनि प्रतिस्पर्धा भनेपछि एकप्रकारको छटपटाहट भने हदो रहेछ । के हुने हो भन्ने आशङ्का पनि जन्मिँदो रहेछ । नेपाली गुरुको मिठो उद्घोषणसँगै कार्यव्रmम अगाडि बढ्यो । पहिले गीत र त्यसपछि नृत्य प्रतियोगिताहरू भए । एकल नृत्यमा म प्रथम भएँ । समूह नृत्यमा रीता, अनिल र गीताको समूह प्रथम भयो । एकल गायनमा प्रमिलाले सबैलाई उछिनिन् । पार्वती र श्याम युगल गायनमा प्रथम भए । बिच बिचमा अप्रतियोगी कार्यव्रmम पनि भए । गणित शिक्षक रत्न प्रजापतिले मिठो कविता सुनाउनुभयो । विज्ञान शिक्षकले गीत गाएर मन्त्रमुग्ध बनाउनुभयो । प्रधानाध्यापकले साहित्य, सङ्गीत, कला तथा खेलकुदको महत्वका बारे प्रकाश पार्नुभयो । हरेक मानिसमा कुनै न कुनै प्रकारको प्रतिभा हुन्छ, सबैको प्रतिभाले प्रस्फुटन हुने अवसर पाउनुपर्छ भन्ने कुरामा उहाँले जोड दिनुभयो । हामीले सबैले पुरस्कार तथा प्रमाणपत्र पायौँ ।
अन्त्यमा फोटो खिच्ने काम भयो । गुरुहरू र साथीहरूले मेरो नृत्यकोसराहना गर्नुभयो । म दङ्ग परेँ । घर पुग्दा सबैले मलाई बधाई दिनुभयो । खुसीले गर्दा आज यति बेलासम्म पनि निद्रा लागेन । आज किन यस्तो खुसी लागेको होला भन्दै सोचेँ । ओहो ! रातीको ११ बजिसकेछ । भोलि त बिहानै उठ्नु छ । निद्रा नलागे पनि अब त सुत्नुपर्छ भन्दै म सिरक ओढेर सुतेँ ।  

९. ‘अवसरको सदुपयोग’ पाठबाट तपाईंले के सन्देश पाउनुभयो, १०० शब्दसम्ममा लेखेर कक्षामा सुनाउनुहोस् ।

उत्तर : अवसर भनेको मौका हो यसैले ‘मौका आउँछ, पखँदैन’ । यस वाक्यले समयको महत्व बुझ्नुपर्दछ भनेको हो । समयको महत्व बुझेमा मात्र मानिसले हरेक क्षेत्रमा सफलता हासिल गर्न सक्छ । सद्भावना र हार्दिक मित्रता भएमा जस्तोसुकै परिस्थितिमा पनि आनन्दको अनुभव हुन्छ । जहाँ सद्भावना, मेलमिलाप र सहकार्य हुन्छ त्यहाँका परिवार वा समाज सबै खुसी र सुखी हुन्छन् । हाम्रो देश जातीय विविधतापूर्ण देश हो । विविधताभित्रको एकता नै नेपाली संस्कृतिको पहिचान हो । यहीँ पहिचान नै विश्वमै उदाहरणीय बनेको छ । नेपाल प्राकृतिक रूपमा पनि सुन्दर देश हो । समय निकालेर बेलाबेलामा अवलोकन गरेर रमाइलो अनुभूति बटुल्नुपर्छ । दीपाले झँ समयको महत्व बुझेर अवसरको सही सदुपयोग गर्नुपर्छ भन्ने सन्देश यस दैनिकबाट प्राप्त गर्न सकिन्छ ।

भाषिक संरचना र वर्णविन्यास

१. तल दिइएको अनुच्छेद पढ्नुहोस् र कुन कुन संयोजक प्रयोग भएका छन्, पहिचान गरी भन्नुहोस् :

उत्तर : जहाँ त्यहाँ, तैपनि, जे त्यस, किनकि, किनभने

२. ‘अवसरको सदुपयोग’ पाठको तेस्रो दिनका अनुच्छेदमा प्रयोग भएका संयोजक टिपोट गर्नुहोस् ।
उत्तर : र, अर्थात्, एवम्, भन्ने

३. तलका वाक्य पढ्नुहोस् र भिन्नता थाहा पाउनुहोस् :

(क) सधैँ यसै गरी राम्ररी पढ्नुपर्छ । स्याबास् ! सधैँ यसै गरी राम्ररी पढ्नुपर्छ ।
(ख) यहाँ त फोहोर रहेछ । छि ! यहाँ त फोहोर रहेछ ।
(ग) मैले त भुसुक्कै बिर्सिएछु । ज्या ! मैले त भुसुक्कै बिर्सिएछु ।
(घ) तिम्रो परिश्रम सफल भएछ । धन्य ! तिम्रो परिश्रम सफल भएछ ।
(ङ) बाबु त ठुलो पो भएछ । आम्मै ! बाबु त ठुलो पो भएछ ।

४. तल दिइएका वाक्यमा निपात पहिचान गर्नुहोस् :

(क) खै, त्यो कुरा त मलाई केही थाहा भएन ।

उत्तर : खै,
(ख) छिटो काम सक क्या, अबेर भइसक्यो ।

उत्तर : क्या
(ग) एक जुगमा एक दिन एक पटक आउँछ रे ।

उत्तर : रे
(घ) उनलाई भेट्न आउनेको त भिड नै लाग्ने गर्थ्यो रे

 

उत्तर : त, रे, नै

५. वाक्यमा प्रयोग गर्नुहोस् :

त : तिमी त ठुला मान्छे भएछौ ? क्या : क्या सुन्दर ठाउँ रहेछ ।
आहा : आहा ! कति राम्रो खेलौना रहेछ । आत्था : आत्था ! मलाई आगोले पोल्यो ।
तर : तिमी जाऊ तर म चाहिँ जान पाउँदिनँ ।  
किनभने : हरि आज विद्यालय  आउन किनभने उसलाई ज्वरो आएको छ ।
जुन : जुन कलम राम्रो छ त्यो किन ।
र : विवेक र कपिल खेल्न गए ।
अथवा :  तिमी काम गर अथवा बजार जाऊ ।  
जसरी : जसरी कमिलाले परिश्रम गर्छ त्यसरी हामीले पनि परिश्रम गर्नुपर्छ ।
अनि : तिमी खाना  खाऊ अनि विद्यालय जाऊ ।
पनिः पवित्रा पनि जान्छे, आगमन पनि जान्छ ।
जो : जो इमानदार छ उही असल मानिन्छ ।

६. तल दिइएका जोडा शब्दमध्ये शुद्ध शब्द पहिचान गरी गोलो घेरा लगाउनुहोस् :
शुद्ध शब्द : ज्ञात, ग्याँस, आज्ञा, प्रज्ञा, प्रतिज्ञा, ज्ञातव्य, यज्ञ, ज्ञानी ।

सुनाइ र बोलाइ

१. सुनाइ पाठ १० सुन्नुहोस् र खाली ठाउँ भर्नुहोस् :

(क) सहदेव सुन्दर र अनुशासित थिए ।
(ख) कौरवले पाण्डवसँग पासा खेल्ने योजना बनाए ।
(ग) पाँच पाण्डव पिता पाण्डु, कुन्ती र माद्रीका पुत्र थिए ।
(घ) पाण्डव सत्यवादी, धर्मात्मा र कर्तव्यपरायण थिए ।

२. सुनाइ पाठ १० का आधारमा तलका प्रश्नको उत्तर भन्नुहोस् :

(क) पाँच पाण्डवका आमाको नाम के थियो ?
उत्तर : पाँच पाण्डवकी आमाको नाम कुन्ती र माद्री थियो ।


(ख) नकुल र सहदेवकी आमा को थिइन् ?
उत्तर : नकुल र सहदेवकी आमा माद्री थिइन् ।


(ग) युधिष्ठिर कस्ता स्वभावका थिए ?
उत्तर : युधिष्ठिर सत्य र आदर्श स्वभाव भएका व्यक्ति थिए ।


(घ) पाण्डवले इन्द्रप्रस्थ कसरी प्राप्त गरेका थिए ?
उत्तर : पाण्डवले बाहुबलका बलमा इन्द्रप्रस्थ प्राप्त गरेका थिए ।

This website uses cookies and asks your personal data to enhance your browsing experience. We are committed to protecting your privacy and ensuring your data is handled in compliance with the General Data Protection Regulation (GDPR).