शब्द भण्डार
१. तालिकामा दिइएका विषयवस्तु पढ्नुहोस् । मौलिक र आगन्तुक शब्दका बारेमा जानकारी लिनुहोस् :
आज विज्ञानको आविष्कारले विद्युतीय सञ्चार क्षेत्रको प्रभाव बढ्दै गएको छ । सहरका युवा त अझ कम्प्युटर, ल्यापटपमा बसी इन्टरनेटमार्फत नयाँ नयाँ सूचनाको खोजीमा आफूलाई लगाइहेका हुन्छन् । हिजोआज घरका छानामा टिभीको एन्टिना झुन्ड्याएको देख्न सकिन्छ । प्रविधिका कारण टाउकामा नाम्लो, पिठिउँमा डोको र कांधमा खर्पन बोक्ने चलन हराउदै गएको छ ।
मौलिक शब्द
तत्सम शब्द
विज्ञान, आविष्कार, विद्युतीय सञ्चार, क्षेत्र, प्रभाव, युवा, सूचना प्रविधि, चलन
तद्भव
आज, अझ, नयाँ, हिजो घर, छाना, टाउको, पिठिउँ, डोको, नाम्लो, काँध
आगन्तुक शब्द
कम्प्युटर, इन्टरनेट, टिभी, एन्टिना, सहर, ल्यापटप, खर्पन
२. तल दिइएका शब्द कुन कुन मौलिक र कुन कुन आगन्तुक हुन्, पहिचान गर्नुहोस् :
घर : मौलिक,
गाउँ : मौलिक,
विद्यालय : मौलिक,
धर्मशाला : मौलिक,
टाइ : आगन्तुक,
सरकार : आगन्तुक,
मन्दिर : मौलिक,
पुस्तक : मौलिक,
विद्यार्थी : मौलिक,
कलम : मौलिक / आगन्तुक,
स्कुल : आगन्तुक,
चाउमिन : आगन्तुक,
खाना : मौलिक,
पर्वत : मौलिक,
हिमाल : मौलिक,
मुक्तिक्षेत्र : मौलिक,
प्रदेश : मौलिक,
रमणीय : मौलिक,
अखबार : आगन्तुक
३. पाठको पहिलो अनुच्छेदबाट पाँचओटा मौलिक शब्द टिपी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस्।
उत्तर : पाठको पहिलो अनुच्छेदबाट पाँचओटा मौलिक शब्द र तिनको वाक्यमा प्रयोग :
अनुभव : अनुभवबाट नै हामीले जीवनमा धेरै कुराहरू सिक्छौँ ।
शिक्षा : शिक्षा जीवनको ज्योती हो ।
मनोरञ्जन : ओमकार टेलिभिजनको ‘पञ्चामृत‘ कार्यक्रमले मनोरञ्जन प्रदान गर्छ ।
यात्रा : म यात्रा गर्न एकदमै मन पराउँछु ।
रमणीय : हामी एकजुट भइ रमणीय ठाउँमा घुम्न गयौं ।
४. पाठबाट कुनै सातओटा आगन्तुक शब्द टिपी ती कुन कुन भाषाबाट आएका हुन्, शिक्षकलाई सोधेर लेख्नुहोस् ।
उत्तर :
आगन्तुक शब्द आएको भाषा
सायद अरबी
रहर हिन्दी
होटेल, टर्च, फोटो, हर्न अङ्ग्रेजी
चिया चिनियाँ
बोध र अभिव्यक्ति
१. तल दिइएका शब्दको उच्चारण गर्नुहोस् :
रमणीय, दृश्यावलोकन, पर्यटन, सुमधुर, प्रभात, प्रवाह, पलायन २. ‘काली गण्डकीको किनारै किनार‘ पाठ कक्षामा पालैपालो सस्वरवाचन गर्नुहोस् र पाठको विषयवस्तुका बारेमा छलफल गर्नुहोस् ।
३. यात्राको दोस्रो दिनका बारेमा लेखिएको पहिलो अनुच्छेद पढी तल दिइएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :
(क) के कारणले लेते भन्ने ठाउँबाट यात्रुलाई अघि बढ्न दिइएन ?
उत्तर : बाटो निर्माण कार्य भइरहेकाले लेते भन्ने ठाउँबाट यात्रुलाई अघि बढ्न दिइएन ।
(ख) लेखकलाई कहाँ के खोज्न रहर लाग्यो ?
उत्तर : लेखकलाई कालीगण्डकीको बगरमा शालीग्राम खोज्ने रहर जाग्यो ।
(ग) कालीगण्डकीको पानी किन धमिलो थियो ?
उत्तर : कालीगण्डकीको पानी बाढीका कारण धमिलो थियो ।
(घ) किन लेतेमा धेरै बेर कुर्न परेन ?
उत्तर : बाटो खुलेको कारण लेतेमा धेरै बेर कुर्न परेन ।
४. व्याख्या गर्नुहोस् :
(क) मुक्तिनाथ धार्मिक सहिष्णुताको सङ्गमस्थल पनि रहेछ ।
प्रस्तुत गद्यांश ‘काली गण्डकीको किनारै किनार‘ शीर्षकको नियात्राबाट साभार गरिएको हो । यस नियात्रामा नियात्राकारले काली गण्डकी नदीको किनारै किनार मुक्तिनाथसम्मको रोचक यात्रा वर्णन गरेका छन् ।
नेपालको चर्चित धार्मिक स्थल मुक्तिनाथ धार्मिक सहिष्णुताको केन्द्र रहेको स्पष्ट पारेका छन् । यात्राका क्रममा मुक्तिनाथको सुन्दर मूर्तिको दर्शन गर्न पाउँदा नियात्राकारको मन नै आनन्दित भएको महसुस हुन्छ । त्यहाँ पुगेपछि उनलाई मुक्तिनाथ हिन्दु र बौद्धमार्गी दुवैको एक महत्त्वपूर्ण तीर्थस्थल रहेको कुरा प्रत्यक्ष देख्छन् । हिन्दुहरू यसलाई भगवान् नारायणको अवतारका रूपमा पुज्ने गर्छन् भने बौद्ध धर्मावलम्बीहरू चाहिँ भगवान् बुद्धको प्रतीक आर्यावलोकितेश्वरका रूपमा पूजा गर्छन् । त्यहाँको नित्यपूजा बौद्धधर्मावलम्बी झुमा र हिन्दु धर्मावलम्बी ब्राह्मण दुवैले गर्छन् । तसर्थ मुक्यिनाथ धार्मिक सहिष्णुताको सङ्गमस्थल हो । धार्मिक सहिष्णुताको केन्द्र र उत्कृष्ट नमुनासमेत हो । भन्ने कुरा नियात्राकारले स्पष्ट पारेका छन्।
(ख) कल्याणप्रद कार्य धेरै विघ्नबाधाले घेरिएका हुन्छन् ।
उत्तर : प्रस्तुत गद्यांश ‘काली गण्डकीको किनारै किनार‘ शीर्षकको नियात्राबाट साभार गरिएको हो । यस नियात्रामा नियात्राकारले काली गण्डकी नदीको किनारै किनार मुक्तिनाथसम्मको रोचक यात्रा वर्णन गरेका छन् । यात्राका क्रममा आनन्ददायक क्षणसँगै विभिन्न अप्ठ्यारा पनि आइपर्ने कुरालाई नियात्राकारले स्पष्ट पारेका छन् ।
नियात्राकार जब लेते भन्ने स्थानमा पुग्छन् तब त्यहाँ बाटो निर्माणको कार्य भइरहेको हुनाले अघि बढ्न पाउँदैनन् । उनी धार्मिक तथा आन्तरिक पर्यटन प्रबर्धनको उद्देश्य लिएर हिँडेका हुन्छन् । देश दर्शनको कार्य आफैँमा महान् कार्य पनि हो भन्ने उनको विचार रहेको हुन्छ । नियात्राकार त्यसबेला ‘श्रेयांसि बहुविघ्नानि‘ अर्थात् कल्याणप्रद कार्य धेरै विघ्नबाधाले घेरिएका हुन्छन् भन्ने सोच्दछन् । यात्राको अवरोधक भए पनि निर्माण कार्य चाहिँ यात्रुका लागि सुखप्रद नै थियो । सबै विघ्नबाधा कष्टकर हुँदैनन् भन्ने अनुभव नियात्राकारले गरेको कुरा नियात्रांशमा स्पष्ट पारिएको छ ।
५. तल दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :
(क) म पात्रको पहिलो दिनको यात्रा कसरी टुङ्गियो ?
उत्तर : म पात्र म्याग्दीको सदरमुकाम बेनीमा चिया खाएपछि वरिपरिका दृश्य अवलोकन गर्दै अघि बढ्छन् । ग्राबेल गरेको बाटो हुँदै उनीहरू रातको समयमा करिब नौ बजेतिर तातोपानी पुग्छन् । त्यहाँ होटल खोज्न केही समय लाग्छ । बल्लबल्ल एउटा होटेलमा कोठा लिई खानाको व्यवस्था गरेर तातोपानीमा नुहाउन जान्छन् । नुहाएर खाना खाई सुतेपछि म पात्रको पहिलो दिनको यात्रा टुङ्गियो ।
(ख) म पात्रको दोस्रो दिनको यात्रा अनुभव कस्ता रहे ?
उत्तर : म पात्र दोस्रो दिन लेते पुगेपछि सडक निर्माणका कारण केही समय यात्रा अवरुद्ध हुन पुग्यो । त्यहाँबाट अगाडि बढेपछि बाटो बिराएर खोलामा गाडी फस्न पुग्यो । जोमसोममा पुगेपछि कागबेनीमा तर्पणश्राद्ध गरे । मुक्तिनाथको दर्शन गर्दाको आनन्ददायक क्षणको चर्चासमेत दोस्रो दिनमा रहेको छ । यसरी म पात्रको दोस्रो दिनको यात्रा तितामिठा अनुभवमा आधारित रहे ।
(ग) जोमसोम र त्यस वरपरका दृश्यको वर्णन नियात्रामा कसरी गरिएको छ ?
उत्तर : जोमसोम र त्यस वरपरका दृश्यको रोमाञ्चक वर्णन नियात्रामा गरिएको छ । कागबेनीमा तर्पणश्राद्ध गर्ने प्रचलन रहेको वर्णन गरिएको छ । त्यस्तै जोमसोममा सरर चलेको हावाको स्पर्श आनन्ददायक रहेको कुरा वर्णन गरिएको छ । जोमसोमबाट मुक्तिनाथ जाने बाटो राम्रो रहेको र हरियालीविहीन डाँडा निकै मनमोहक र कलात्मक रहेको वर्णन नियात्रामा गरिएको छ ।
(घ) ठुलो शालिग्रामको दर्शन गर्न जाँदा कस्ता कठिनाइ उत्पन्न भए ?
उत्तर : चौथो दिन गुल्मी, पर्वत र स्याङ्जाको सङ्गममा पर्ने कालीगण्डकीको किनारमा अवस्थित ठुलो शालिग्रामको दर्शन गर्न नियात्राकारहरू जाँदा बाटामा पानी पर्न थाल्यो । बिच बाटोमा पुगेपछि मुसलधारे पानी पर्न थाल्यो । वर्षामा डुङ्गा नचल्ने भएकाले ठुलो शालिग्राम पुग्ने इच्छा भने पूरा हुन सकेन ।
(ङ) पाठमा मुक्तिनाथ मन्दिरको वर्णन कसरी गरिएको छ ?
उत्तर : मुक्तिनाथको मन्दिरको प्राङ्गणमा रहेका दुईओटा कुण्डमा स्नान गरेपछि दर्शनका लागि लाइनमा बसेको र मुक्तिनाथको सुन्दर मूर्तिको दर्शन गर्न पाउँदा मन नै आनन्दित भएको कुरा लेखकले वर्णन गरेका छन् । मन्दिरको नजिकै ज्वालादेवीको मन्दिर र प्राङ्गणमै रहेका दुईओटा ससाना जलकुण्डले मन्दिरको शोभा बढाएको कुरा वर्णन गरिएको छ । त्यस्तै मन्दिर निकै कलात्मक रहेको र धार्मिक सहिष्णुताको सङ्गमस्थलका रूपमा रहेको वर्णन पाठमा गरिएको छ ।
६. लामो उत्तर लेख्नुहोस् :
(क) ‘काली गण्डकीको किनारै किनार‘ पाठमा लेखकले धार्मिक पर्यटकीय स्थलको वर्णन कसरी गरेका छन्, लेख्नुहोस् ।
उत्तर : ‘काली गण्डकीको किनारै किनार‘ नियात्रामा नियात्राकारले नेपालको चर्चित धार्मिक तथा पर्यटकीय स्थल मुक्तिनाथसम्मको वर्णन गरेका छन् । नियात्रामा नियात्राकारले मुक्तिनाथलाई धार्मिक सहिष्णुताको केन्द्रका रूपमा वर्णन गरेका छन् ।
कागबेनीमा तर्पणश्राद्ध गर्ने प्रचलन रहेको र नियात्राकार त्यहाँ श्राद्ध गरी मुक्तिनाथतर्फ लागेको वर्णन गरिएको छ । मुक्तिनाथको सुन्दर मूर्तिको दर्शन गर्न पाउँदा नियात्राकारको मन नै आनन्दित भएको महसुस हुन्छ । त्यहाँ पुगेपछि उनलाई मुक्तिनाथ हिन्दु र बौद्धमार्गी दुवैको एक महत्त्वपूर्ण तीर्थस्थल रहेको कुरा प्रत्यक्ष देख्छन् । हिन्दुहरू यसलाई भगवान् नारायणको अवतारका रूपमा पुज्ने गर्छन् भने बौद्ध धर्मावलम्बीहरू चाहिँ भगवान् बुद्धको प्रतीक आर्यावलोकितेश्वरका रूपमा पूजा गर्छन् । मुक्तिनाथको मन्दिरको प्राङ्गणमा रहेका दुईओटा कुण्डमा स्नान गरेपछि दर्शनका लागि लाइनमा बसेको र मुक्तिनाथको सुन्दर मूर्तिको दर्शन गर्न पाउँदा मन नै आनन्दित भएको कुरा लेखकले वर्णन गरेका छन् । मन्दिरको नजिकै ज्वालादेवीको मन्दिर र प्राङ्गणमै रहेका दुईओटा ससाना जलकुण्डले मन्दिरको शोभा बढाएको कुरा वर्णन गरिएको छ ।
यसरी मुक्यिनाथ मन्दिर निकै कलात्मक रहेको र धार्मिक सहिष्णुताको सङ्गमस्थलका रूपमा रहेको वर्णन गरिएको छ ।
(ख) ‘नेपाल प्राकृतिक र सांस्कृतिक रूपमा धनी देश हो‘ भन्ने भनाइलाई यस पाठका आधारमा पुष्टि गर्नुहोस् ।
उत्तर : ‘काली गण्डकीको किनारै किनार‘ नियात्रामा नियात्राकारले धार्मिक पर्यटकीय क्षेत्र मुक्तिनाथको वर्णनका माध्यमबाट नेपाललाई प्राकृतिक र सांस्कृतिक रूपमा धनी मुलुकका रूपमा चिनाएका छन् । काली गण्डकीको किनारै किनार हुँदै मुक्तिनाथसम्मको विभिन्न प्राकृतिक दृश्य र सांस्कृतिक विविधतालाई यात्रा वर्णनमा समेटिएको छ ।
म्याग्दीको सदरमुकाम बेनी वरिपरिका दृश्य अवलोकन गर्दै अघि बढ्छन् । ग्राबेल गरेको बाटो हुँदै उनीहरू रातको समयमा करिब नौ बजेतिर तातोपानी पुगी तातोपानीमा नुहाउन गएको वर्णन गरिएको छ । जोमसोममा पुगेपछि कागबेनीमा तर्पणश्राद्ध गरेको तथा जोमसोम र त्यस वरपरका दृश्यको रोमाञ्चक वर्णन नियात्रामा गरिएको छ । त्यस्तै जोमसोममा सरर चलेको हावाको स्पर्श आनन्ददायक रहेको कुरा वर्णन गरिएको छ । जोमसोमबाट मुक्तिनाथ जाने बाटो राम्रो रहेको र हरियालीविहीन डाँडा निकै मनमोहक र कलात्मक रहेको वर्णन नियात्रामा गरिएको छ । मुक्तिनाथको मन्दिर पुगेपछि त्यहाँको सुन्दर दृश्य र धार्मिक सहिष्णुताको वर्णन पनि गरिएको छ । यसरी नियात्रामा नेपाल प्राकृतिक र सांस्कृतिक रूपमा धनी देश हो भन्ने पुष्टि गरिएको छ ।
७. ‘काली गण्डकीको किनारै किनार‘ पाठबाट मुख्य मुख्य घटना टिपोट गरी साथीलाई सुनाउनुहोस् ।
उत्तर : ‘काली गण्डकीको किनारै किनार‘ पाठबाट मुख्य मुख्य घटना :
(क) उपत्यकाबाट सात जनाको टोली यात्राका लागि निस्कनु र तनहुँको डुम्रेमा खाना खाई म्याग्दीको तातोपानी पुग्ने लक्ष्यका साथ अघि बढ्नु
(ख) म्याग्दीको सदरमुकाम बेनीमा चिया खाएपछि वरिपरिका दृश्य अवलोकन गर्दै अघि बढ्नु ।
(ग) ग्राबेल गरेको बाटो हुँदै उनीहरू रातको समयमा करिब नौ बजेतिर तातोपानी पुग्नु र एउटा होटेलमा कोठा लिई खानाको व्यवस्था गरेर तातोपानीमा नुहाउन जानु तथा नुहाएर खाना खाई सुतेपछि म पात्रको पहिलो दिनको यात्रा टुङ्गिनु
(घ) म पात्र दोस्रो दिन लेते पुगेपछि सडक निर्माणका कारण केही समय यात्रा अवरुद्ध हुन पुग्नु ।
(ङ) त्यहाँबाट अगाडि बढेपछि बाटो बिराएर खोलामा गाडी फस्न पुग्नु तथा गाडी निकालेर जोमसोममा पुगेपछि कागबेनीमा तर्पणश्राद्ध गर्नु ।
(च) तातोपानी नुहाई मुक्तिनाथको दर्शन गर्दाको आनन्ददायक क्षणको चर्चा गर्नु
(छ) वर्षाका कारण ठुलो शालिग्रामका दर्शन गर्न नपाउनु।
८. तपाईंले भ्रमण गरेको कुनै रमणीय स्थलका बारेमा १५० शब्दसम्मको यात्रा वर्णन लेख्नुहोस्।
उत्तर : सिन्धुलीगढीको यात्रा
सिन्धुलीगढी जाने योजना निकै अगाडिदेखि मैले बनाइरहेको थिएँ । जाने मौका भने मिलेको थिएन । २०७९ साउन १९ गते दिउँसो १:०० बजेतिर म, भाइ र भतिज सिन्धुली गढीको यात्राका लागि मोटरसाइकलमा निस्क्यौं । बर्दीबास, भिमान हुँदै हामी करिब चार बजेतिर सिन्धुली गढीको पहिलो प्रवेशद्वारमा पुग्यौँ । प्रवेशद्वारबाट अगाडि बढेपछि सिन्धुली गढीको मुख्य प्रवेशद्वारमा पुगेपछि पो थाहा भयो चार बजेपछि गढी प्रवेश बन्द हुँदो रहेछ । गढी भोलिपल्ट दश बजेमात्र खुल्ने रहेछ । त्यसपछि हामी गढीभन्दा केही अगाडि खनियाखर्कमा गएर एउटा होटलमा खाना खाई बास बस्यौं ।
भोलिपल्ट बिहान सात बजे हामी पुन: गढीतर्फ लाग्यौं । सिन्धुली दरबार हेर्दै हामी कला घरतर्फ लाग्यौं । जलकन्या भन्ने स्थानमा निर्माणाधिन रहेको कला घर साँच्चै कलाले भरिएको र आकर्षक रहेछ । दोहोरी गाउने बहिनीहरूको आतिथ्यले हामीलाई अझ मोहित बनायो । सिन्धुली गढी पुगेपछि एकपल्ट पुग्नै पर्ने ठाउँ रहेछ कला घर । कला घर घुमेपछि हामी गढीतर्फ फक्यौं । गढी प्रवेशका लागि टिकट काट्नु पर्दो रहेछ । गढीभित्र टुँडिखेल, सानो गढी, ठुलो गढी र युद्ध सङ्ग्रहालय घुमेर फोटो खिच्दै हामीले गढीको सुरुको प्रवेशद्वार नजिकै रहेको होटलमा खाना खायौँ र घरतिर फक्यौं ।
९. ‘काली गण्डकीको किनारै किनार‘ पाठ पढ्दा तपाईंको मनमा कस्ता भावना वा कल्पना उत्पन्न भए, कक्षामा छलफल गर्नुहोस् ।
उत्तर : ‘काली गण्डकीको किनारै किनार‘ पाठ पढ्दा मेरो मनमा विभिन्न भावना उत्पन्न भए । मैले मुक्तिनाथ आफैँले घुमेको कल्पना गर्न पो पुगेछु । कागबेनी सुनेको मात्र थिएँ । त्यहाँको वर्णन सुनेपछि मलाई त्यहाँ कहिले पुगुँ भन्ने छटपटी सुरु भएको छ । कागबेनी हुँदै मुक्तिनाथसम्मको सुन्दरतालाई आफ्नै आँखाले हेर्ने र आनन्द लिने इच्छा जागृत भएको छ ।
१०. ‘काली गण्डकीको किनारै किनार‘ पाठबाट तपाईंले कुन कुन स्थानको जानकारी पाउनुभयो, लेख्नुहोस् ।
उत्तर : ‘काली गण्डकीको किनारै किनार‘ पाठबाट मैले निम्न स्थानको जानकारी पाएँ :
(क) काली गण्डकी
(ख) म्याग्दीको बेनी
(ग) तातोपानी
(घ) लेते
(ङ) जोमसोम, कागबेनी
(च) मुक्तिनाथ
(छ) पोखराका विभिन्न स्थानहरू