शब्दभण्डार
२. दिइएका पर्यायवाची शब्दबिच जोडा मिलाउनुहोस् :
उचित – उपयुक्त
सुनसान – एकान्त
क्रोध – रिस
उद्यान – बगैँचा
चलाख – बाठो
आभूषण – गहना
हावा – पवन
३. दिइएका अर्थ आउने शब्द ‘साकार सपना‘ कथाबाट खोजेर लेख्नुहोस् :
(क) राय, सुझाव : सल्लाह
(ख) होसहवास हराउनु : सातोपुत्लो उड्नु
(ग) हैकम जमाउने काम : प्रभुत्व
(घ) सत्यानाश पार्नु : सखाप
(ङ) बाटामा बरपिपलको वरिपरि बस्न हुने गरी बनाइएको ठाउँ : चौतारी
४. ‘साकार सपना‘ कथाको अन्तिम अनुच्छेदबाट दिइएका शब्दको पर्यायवाची शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :
सैनिक : सेना : नेपाली सेना विश्वमै बहादुर मानिन्छ ।
हस्त : हात : कसैसँग पनि हात फैलाएर माग्नु राम्रो बानी होइन ।
तारिफ : प्रशंसा : राम्रो कामको सबैले प्रशंसा गर्छन् ।
स्वप्न : सपना : हामीले सपना पूरा गर्न सक्ने मात्र देख्नुपर्छ ।
जित : विजय : प्राय: युद्धमा नेपालीले विजय हासिल गरेको देखिन्छ ।
चिह्न : प्रतीक : खुकुरी नेपालीहरूको वीरताको प्रतीक हो।
लाल : रातो : नेपालीको रातो, चन्द्र र सूर्य जङ्गी निशान हो ।
बोध तथा अभिव्यक्ति
३. ‘साकार सपना‘ कथा पढी दिइएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :
(क) कथाअनुसार नेपाल खाल्डामा को बस्थ्यो ?
उत्तर : कथाअनुसार नेपाल खाल्डामा केपुचिन पादरी बस्थ्यो ।
(ख) नेपाल खाल्डो देखाउने जिम्मा कसले लियो ?
उत्तर : नेपाल खाल्डो देखाउने जिम्मा रामदास वैरागीले लियो ।
(ग) गोरखाली सेनाले अर्नालाई के गरेर जङ्गलमा छाडिदिए ?
उत्तर : गोरखाली सेनाले अर्नालाई सिङमा राँको बालेर जङ्गलमा छाडिदिए ।
(घ) किनलक ज्यान जोगाउन कतातिर लागे ?
उत्तर : किनलक ज्यान जोगाउन जनकपुरतिर लागे ।
(ङ) कथामा कतिओटा अनुच्छेद छन्, दोस्रो अनुच्छेदमा भएका वाक्य सङ्ख्यासमेत भन्नुहोस् ।
उत्तर : कथामा एक्काइसओटा अनुच्छेद छन्, दोस्रो अनुच्छेदमा भएका वाक्य सङ्ख्या चार हो ।
५. दिइएका भनाइ ‘साकार सपना‘ कथाका आधारमा कसले कसलाई भनेको हो, भन्नुहोस् ।
(क) यसमा के के छ ? मलाई सबै बुझाऊ ।
– गोल्डिङले आफ्ना सेक्रेटरीलाई
(ख) महाराज गौराङ्गको पत्र आएको छ ।
– द्वारेले पृथ्वीनारायण शाहलाई
(ग) पहाडका मानिसले मात्र होइन, जनावर, किरा र बिरुवाले पनि लडाइँ गर्दा रहेछन् ।
– किनलकले रम्बोल्डलाई
(घ) मेरो सपना तिमीहरूले पूरा गर्यो ।
– पृथ्वीनारायण शाहले वंशु गुरुङलाई
६. ‘साकार सपना‘ कथाका आधारमा दिइएका घटनाक्रमको क्रम मिलाएर लेख्नुहोस् ?
(क) जयप्रकाश मल्लको दिमागमा खतराको घण्टी बजेको
(ख) पादरीले अङ्ग्रेजसँग सहयोग माग्ने सल्लाह दिएको
(ग) सेक्रेटरीले पत्र पढाएर सुनाएका
(घ) गोल्डिङले दाहिने हातले टेबुलमा ठोकेको
(ङ) तिब्बत हुँदै चीनसम्म व्यापार बढाउने सोचेका
(च) पृथ्वीनारायण शाहले पत्र खोलेर हेरेका
(छ) कुहिरो लागेकाले बाटो हिँड्न सहज नभएको
(ज) गोरखाली सेनाले रातभरि अङग्रेजलाई लखेटिरहेका
(झ) गोरखाली सेना हतियारसहित पृथ्वीनारायणकहाँ पुगेका ।
७. ‘साकार सपना‘ कथा पढी दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :
(क) कथामा केपुचिन पादरीले जयप्रकाश मल्ललाई कस्तो सल्लाह दिए ?
उत्तर : पृथ्वीनारायण शाहले राज्य विस्तारका क्रममा कीर्तिपुर विजय गरेपछि कान्तिपुरका राजा जयप्रकाश मल्लको दिमागमा खतराको घन्टी बज्न पुग्यो । यसबारेमा उनले भक्तपुर र ललितपुरसँग सल्लाह गर्दा सबैले धर्म भाके । त्यस वेला नेपाल खाल्डामा केपुचिन पादरी बस्थे । उनले गोरखालीको योजना विफल पार्नेबारेमा उनीसँग सल्लाह मागे । सल्लाहमा केपुचिन पादरीले गोरखालीविरुद्ध लड्न अङ्ग्रेजसँग सहयोग माग्ने सल्लाह दिए।
(ख) पृथ्वीनारायण शाहले हेरेको पत्रमा के लेखिएको थियो ?
उत्तर : पृथ्वीनारायण शाह आफ्ना विश्वासपात्रसँग कीर्तिपुरमा आफूले देखेको सपनाका बारेमा कुरा गरिरहेका थिए । त्यसै वेलामा द्वारेले अङ्ग्रेजको पत्र आएको छ भनी पत्र दिएर फर्थ्यो । पृथ्वीनारायण शाहले पत्र खोले र हेरे । त्यसमा मल्ल राजालाई लगाएको नाकाबन्दी हटाऊ भनी लेखिएको थियो । त्यस्तै नाकाबन्दी नहटाएमा गोरखालाई शत्रु घोषणा गर्छौ भन्ने कुरासमेत लेखिएको थियो ।
(ग) मकवानपुरका राजाले आफ्नो राज्यलाई शत्रुबाट कसरी सुरक्षित गरेका थिए ?
उत्तर : मकवानपुर सिन्धुलीगढीबाट नजिकै पर्थ्यो । यस राज्यका राजाले आफ्नो राज्यलाई शत्रुबाट सुरक्षित राख्नका लागि सिमानामा सिस्नाको घारी लगाउने गरेका थिए । त्यस्तै शत्रुले आक्रमण गरेमा अरिङ्गाल र बच्छिउँका गोला बिच्काएर शत्रुतिर धपाइदिने चलन थियो ।
(घ) यस कथाबाट कस्तो शिक्षा पाइन्छ ?
उत्तर : यस कथा ऐतिहासिक विषयवस्तुमा आधारित कथा हो । कथामा नेपाल एकीकरणको समयमा गोरखाली फौजले अङ्ग्रेज फौजसँग लडेर विजय पाएको ऐतिहासिक घटनालाई समेटिएको छ । यस कथाले मूलतः सबैमा राष्ट्रप्रेमको भावना जागृत गर्ने भाव अभिव्यक्त गरेको छ । राष्ट्र र राष्ट्रियतासम्बन्धी सपना देखेमा सबैको साथबाट त्यस्तो सपना साकार पार्न सकिन्छ भन्ने शिक्षा यस कथाबाट पाइन्छ ।
८. ‘साकार सपना‘ कथाको पात्र गोल्डिङको चरित्र चित्रण गर्नुहोस् ।
उत्तर : ‘साकार सपना‘ कथाको पात्र कथाको उद्देश्यअनुसार पृथ्वीनारायण शाहको सपना साकार पार्न नदिने खलपात्र अर्थात् नकारात्मक चरित्रको पात्रका रूपमा रहेको छ । कथाको महत्त्वपूर्ण भूमिकामा रहेको गोल्डिङ कथामा द्वन्द्व सिर्जना गर्ने पात्र पनि हो । ऊ केवल अङ्ग्रेजहरूको योजनाअनुसार कार्य गर्ने र अङ्ग्रेजको मात्र फाइदा हेर्ने स्वार्थी पात्र पनि हो । ऊ मल्ललाई सहयोग गरेर नेपाललाई कब्जा गरी तिब्बतसम्म व्यापार बढाउन चाहन्छ । त्यसैले उसले पृथ्वीनारायण शाहलाई धम्कीपूर्ण पत्र लेखेको छ ।
९. व्याख्या गर्नुहोस् :
पहाडमा मानिसले मात्र होइन, जनावर, किरा र बिरुवाले पनि लडाइँ गर्दा रहेछन् ।
प्रस्तुत कथांश ‘साकार सपना‘ शीर्षकको ऐतिहासिक कथाबाट साभार गरिएको हो । यस कथाका कथाकार गणेशप्रसाद भट्टराई हुन् । गोरखाली फौजबाट ज्यान जोगाई भागेपछि थप सहयोग माग्ने सन्दर्भमा माथिको भनाइ किनलकले रम्बोल्डलाई पत्र लेख्दै भनेका हुन् ।
किनलकको नेतृत्वलाई मल्ल राजालाई सहयोग गर्न आएको अङ्ग्रेज फौजमाथि गोरखाली फौजले अचानक आक्रमण गर्दछन् । गोरखाली फौजसँग परम्परागत हातहतियार मात्र भएकाले अङ्ग्रेज फौजसँग युद्ध जित्नु चानचुने कुरा थिएन । त्यसबेला अङ्ग्रेजसँग युद्ध लड्ने कुरा धेरै राजाहरूले सोच्नसम्म पनि सक्दैनथे । यस्तोमा गोरखाली फौजको युद्ध रणनीतिका कारण सहजै अङ्ग्रेजलाई हराउन सफल भएका थिए । गोरखाली फौजले एक्कासी अङ्ग्रेज फौजमाथि आक्रमण मात्र गरेनन्, मातेको अर्नाको सिङमा राँको बालेर जङ्गलमा छाडिदिने काम गरे । अरिङ्गाल र बच्छिउँका गोला बिच्काइदिए । सिस्नुले पोलेर हैरान पायो । यसरी नेपाली फौजसँग हारेर किनलक ज्यान जोगाई भागेपछि रम्बोल्डलाई पत्र लेख्दै माथिको कुरा अभिव्यक्त गरेको हो ।
यसप्रकार माथिको कथांशमा कथाकारले गोरखाली फौजले सेनाका साथै जनावर, किरा र बिरुवाको प्रयोग गरी युद्ध गरेका र सोबाट अङ्ग्रेज फौज पनि चकित र त्रसित हुँदै ज्यान जोगाएर भागेको कुरा स्पष्ट पारेका छन् ।
१०. ‘साकार सपना‘ कथाको सार लेख्नुहोस् ।
उत्तर : ‘साकार सपना‘ कथाको सार
पृथ्वीनारायण शाहले कीर्तिपुर विजय गरेपछि जयप्रकाश मल्लको दिमागमा खतराको घण्टी बजेको हुन्छ । उनले भक्तपुर र ललितपुरसँग यसबारेमा कुरा गरी सहयोग माग्छन् । त्यस वेला नेपाल खाल्डामा बस्ने एक पादरीले अङ्ग्रेजसँग सहयोग माग्ने सल्लाह दिन्छन् । सोही सल्लाहबमोजिम उनले सैनिक सहयोग माग्दै पत्र लेख्छन् । सेक्रेटरीले पत्र पढाएर गोल्डिङलाई सुनाएपछि गोल्डिङले दाहिने हातले टेबुलमा ठोक्न पुगे । उनले मल्ल राजालाई सहयोग गरेका आफ्नो खर्च पनि नलाग्ने र तिब्बत हुँदै चीनसम्म व्यापार बढाउने बारेमा सोच्दछन् । उता पृथ्वीनारायण शाहले जसमार्फत यी सबै कुरा बुझिरहेका हुन्छन् । एक दिन आफ्ना सपनाको बारेमा कुरा गरिरहेका हुन्छन् । अङ्ग्रेजले पठाएको धम्कीपूर्ण पत्र पृथ्वीनारायण शाहले खोलेर पढ्नासाथ च्यातेर अँगेनामा हालिदिन्छन् । उता सिन्धुली गढीको बाटो हुँदै अङ्ग्रेज फौज नेपाल आउँछ । कुहिरो लागेकाले बाटो हिँड्न उनीहरूलाई सहज हुँदैन । त्यसैबिचमा गोरखाली सेनाले आक्रमण गरी अर्ना, अरिङ्गाल, बच्छिउँ बिच्काएर अङ्ग्रेज फौजलाई भागाभाग बनाउँछन् । रातभरि अङ्ग्रेजलाई लखेटिरहन्छन् । गोरखाली सेना हतियारसहित पृथ्वीनारायणकहाँ पुग्छन् । आफ्ना सपना पूरा गरेकोमा पृथ्वीनारायण शाहले गोरखाली फौजको प्रशंसा गर्छन् ।
११. ‘साकार सपना‘ कथामा के पृथ्वीनारायण शाहको सपना पूरा भयो, समीक्षात्मक उत्तर लेख्नुहोस् ।
उत्तर : गणेशप्रसाद भट्टराईद्वारा रचित ‘साकार सपना‘ ऐतिहासिक विषयवस्तुमा आधारित कथा हो । यस कथामा कथाकारले नेपाल एकीकरणको एउटा ऐतिहासिक सन्दर्भमार्फत राष्ट्रिय चेतना जागृत गर्ने उद्देश्य राखेका छन् । यसका साथै गोरखाली फौजको वीरताको खुलेर प्रशंसासमेत गरेका छन् । पृथ्वीनारायण शाहले सपना देखेको र उक्त सपनालाई गोरखाली फौजले साकार पारेको सन्दर्भ कथामा मुख्य रूपमा अभिव्यक्त भएको छ ।
मल्ल राजा र अङ्ग्रेजका बिचमा भएका सबै गतिविधि जासुसीमार्फत पृथ्वीनारायण शाहले बुझिरहेका थिए । मल्ल राजाको सहयोगका लागि अङ्ग्रेज फौज आएमा कहाँ र कसरी आक्रमण गर्ने भन्नेबारेमा पनि उनले योजना बनाएर कार्य गरेका थिए । एक दिन आफूले राम्रो सपना देखेको बारेमा उनी कुरा गरिरहेका हुन्छन् र आफ्नो सपना पूरा हुने बारेमा आफ्ना विश्वासपात्रसँग बताइरहेका थिए । द्वारेले अङ्ग्रेजले पठाएको धम्कीपूर्ण पत्र दिएर गएपछि पृथ्वीनारायण शाहले खोलेर पढे अनि च्यातेर अँगेनामा हालिदिए । उता सिन्धुली गढीको बाटो हुँदै अङ्ग्रेज फौज नेपाल आउँछ। कुहिरो लागेकाले बाटो हिँड्न उनीहरूलाई सहज हुँदैन । त्यसैबिचमा गोरखाली सेनाले आक्रमण गरी अर्ना, अरिङ्गाल, बच्छिउँ बिच्काएर अङ्ग्रेज फौजलाई भागाभाग बनाउँछन् । रातभरि अङ्ग्रेजलाई लखेटिरहन्छन् । गोरखाली सेना हतियारसहित पृथ्वीनारायणकहाँ पुग्छन् । आफ्ना सपना पूरा गरेकोमा पृथ्वीनारायण शाहले गोरखाली फौजको प्रशंसा गर्छन् ।
यसप्रकार पृथ्वीनारायण शाहले देखेको सपना उनका विश्वासपात्रहरू वंशु गुरुङ, वंशराज पाण्डे, वीरभद्रको सहायतामा पृथ्वीनारायण शाहले पूरा गरे । उनले आफ्नो सपना पूरा गर्न सहयोग गर्ने वंशु गुरुङलगायतका गोरखाली फौजको प्रशंसासमेत गरे ।
१२. दिइएको चित्र वर्णन गर्नुहोस् :
दिइएको चित्रमा दुई फौज हातहतियार लिएर एक अर्काका विरुद्ध लड्न तयार भएको देखिन्छ । सबै सिपाही हिंसाका लागि तयार भएका छन् । बिचमा पिपलको बोटमुनि बुद्ध जस्ता देखिने व्यक्ति बसेका छन् ।