शब्दभण्डार
१. दिइएका विपरीतार्थी शब्दबिच जोडा मिलाउनुहोस् :
उत्थान : पतन
सुलभ : दुर्लभ
स्वतन्त्र : परतन्त्र
सापेक्ष : निरपेक्ष
पूर्वीय : पाश्चात्य
२. साथीसँग छलफल गरी दिइएका शब्दको अर्थ लेख्नुहोस् :
चुनौती : कसैलाई कुनै विषयमा दिइने उत्तेजक आहृवान, हाँक, ललकार
न्वारन : बालकको नाम राख्न गरिने संस्कार
शाकाहारी : माछामासु आदि नखाने, सात्त्विक भोजन गर्ने
प्रवचन : धार्मिक वा नैतिक विषयमा गरिने भाषण
धारणा : कुनै कुरा मनमा धारण गरिने शक्ति, धारण गरिने अवस्था
व्यावहारिक : व्यवहार जानेको, व्यवहारअनुकूल हुन जान्ने
लोकहित : लोकको भलाइ
प्रेरणा : कसैले कसैलाई कुनै कार्य वा उद्देश्यप्रति प्रवृत्त गराउने क्रिया, हौसला वा उत्साह
आजीवन : जिन्दगीभर, बाँचुन्जेल
अमर: कहिल्यै नमर्ने ।
३. ‘स्वामी प्रपन्नाचार्य‘ जीवनीको पहिलो अनुच्छेदबाट दिइएका शब्दको विपरीत अर्थ खोजेर लेख्नुहोस् :
मरण : जीवन, अनावश्यक : आवश्यक, बाहिरी : भित्री, सरल : कठिन, प्रतिकूल : अनुकूल, फेदी : शिखर, असफलता : सफलता ।
४. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
भजनकीर्तन : मेरो भजनकीर्तनमा धेरै रुची छ ।
दर्शन : म सधैं भगवान्को दर्शन गर्छु ।
किराँतवंश : प्रपन्नाचार्यको जन्म किराँतवंशमा भयो ।
अध्यात्म : अध्यात्मले ज्ञान दिन्छ ।
अनुशासन : विद्यार्थी जीवनमा अनुशासनको महत्त्व हुन्छ।
आश्रम : पुजारीहरू आश्रममा बस्छन् ।
इतिहास : हामीले आफ्नो इतिहास बिर्सनुहुँदैन ।
वाङ्मय : नेपाली वाङ्मयमा देवकोटाको योगदान महत्त्वपूर्ण छ ।
बोध र अभिव्यक्ति
१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
दृष्टान्त, शास्त्रार्थ, श्रद्धा, आश्रम, तीर्थाटन, किराँत, पूर्वीय, व्याख्यान, शरणार्थी
२. शिक्षकले तोकेको समयमा स्वामी प्रपन्नाचार्य‘ जीवनी सस्वर पठन गर्नुहोस् ।
३. ‘स्वामी प्रपन्नाचार्य‘ जीवनीका आधारमा ठिक बेठिक छुट्याउनुहोस् :
(क) स्वामी प्रपन्नाचार्य मानव हितमा जोड दिन्थे । ठिक
(ख) स्वामी प्रपन्नाचार्य महान् सन्त, संस्कृत वाङ्मयका विशिष्ट अनुसन्धाता तथा व्याख्याताका रूपमा अमर बने । ठिक
(ग) स्वामी प्रपन्नाचार्यले पढाइ र शास्त्रार्थ गर्दा विभिन्न देशको भ्रमण गर्ने अवसर पाएनन् । बेठिक
(घ) उनी संस्कृति वाङ्मयका ग्रन्थलाई सबैले बुझ्ने गरी बताउँथे । ठिक
४. ‘स्वामी प्रपन्नाचार्य‘ जीवनी पढी दिइएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :
(क) स्वामी प्रपन्नाचार्यको न्वारानको नाम के थियो ?
उत्तर : स्वामी प्रपन्नाचार्यको न्वारानको नाम गीतानन्द थियो ।
(ख) प्रपन्नाचार्यका पुर्खा कुन धर्मका अनुयायी थिए ?
उत्तर : प्रपन्नाचार्यका पुर्खा किराँत धर्मका अनुयायी थिए ।
(ग) प्रपन्नाचार्यले कति वर्षको उमेरमा कखरा सिके ?
उत्तर : प्रपन्नाचार्यले ३० वर्षको उमेरमा कखरा सिके ।
(घ) प्रपन्नाचार्यलाई कसले मुन्धुमको महत्त्व सिकाए ?
उत्तर : प्रपन्नाचार्यलाई फाल्गुनन्दले मुन्धुमको महत्त्व सिकाए ।
(ङ) प्रपन्नाचार्यको बाल्यकालको प्रसङ्ग कुन अनुच्छेदमा आएको छ ?
उत्तर : प्रपन्नाचार्यको बाल्यकालको प्रसङ्ग तेस्रो अनुच्छेदमा आएको छ ।
५. ‘प्रपन्नाचार्यको परिवार …….. भोक मात्र जागिरह्यो ।‘ जीवनीको अंश मनमनै पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) स्वामी प्रपन्नाचार्यको परिवारमा कस्तो भोजनको व्यवस्था हुन्थ्यो ?
उत्तर : स्वामी प्रपन्नाचार्यको परिवारमा सधैँ शुद्ध शाकाहारी भोजनको व्यवस्था हुन्थ्यो ।
(ख) प्रपन्नाचार्य कहिलेदेखि आध्यात्मिक चिन्तनतर्फ उन्मुख भए ?
उत्तर : प्रपन्नाचार्य बाल्यकालदेखि आध्यात्मिक चिन्तनतर्फ उन्मुख भए ।
(ग) प्रपन्नाचार्यको परिवारले कसरी जीवन गुजारा गर्नुपर्थ्यो ?
उत्तर : प्रपन्नाचार्यको परिवारले खेतपाती गरी आफ्नो जीवन गुजारा गर्नुपर्थ्यो ।
(घ) प्रपन्नाचार्यले किन बाल्यकालमा पढ्न पाएनन् ?
उत्तर : परिवारका सबै जना खेतीपाती र गाईवस्तुको हेरचाहमा लाग्नुपर्ने बाध्यता भएकाले प्रपन्नाचार्यले बाल्यकालमा पढ्न पाएनन् ।
६. दिइएका घटना कुन कुन सालका हुन्, ‘स्वामी प्रपन्नाचार्य‘ जीवनीका आधारमा पहिचान गरी लेख्नुहोस् :
(क) संस्कृत विषय लिई पूर्वमध्यमा तह उत्तीर्ण : वि.सं. २०२१
(ख) तीर्थाटनका लागि भारतको बनारस यात्रा : वि.सं. २०१०
(ग) पशुपति मृगस्थलीस्थित आश्रममा देहावसान : २०७२ भदौ ४
(घ) विद्यावारिधि उपाधिको प्राप्ति: वि.सं. २०३६
(ङ) स्वामी प्रपन्नाचार्यको जन्म : वि.सं. १९८० असोज ३
(च) चन्द्रेश्वर सत्तलमा बस्ने व्यवस्था : वि.सं. २०४५
(छ) ‘सङ्क्षेपमा मेरो जीवन यात्रा‘ कृति प्रकाशन : वि.सं. २०५९
(ज) किराँतवंशका महागुरु फाल्गुनन्दको प्रत्यक्ष प्रभाव : वि.सं. १९९४
७. ‘स्वामी प्रपन्नाचार्य‘ जीवनी पढी दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :
(क) स्वामी प्रपन्नाचार्यको बाल्यकाल कसरी बित्यो ?
उत्तर : प्रपन्नाचार्यको परिवार वैदिक धर्मसंस्कृतिको पालनामा विशेष जोड दिने र शुद्ध शाकाहारी भोजन गर्ने भएकाले उनमा पनि बाल्यकालदेखि नै आध्यात्मिक चिन्तन विकास हुँदै गएको थियो । खेतीपाती र गाईवस्तुको हेरचाहमा परिवारका सबै लाग्नुपर्ने अवस्था थियो अनि मात्र गुजारा चल्थ्यो । यही कारणले गर्दा बाल्यकालमा उनले पढ्न लेख्न पाएनन् ।
(ख) स्वामी प्रपन्नाचार्यका कृति कुन कुन हुन् ?
उत्तर : स्वामी प्रपन्नाचार्यका संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजीमा लेखिएका करिब चार दर्जन पुस्तक प्रकाशित छन् । उनका ‘सम्मार्ग दर्शन‘, ‘प्राचीन हिन्दु विज्ञान‘, ‘वेदमा के छ ?’ ‘किराँत मङ्गोलियाबाट आएका शरणार्थी होइनन्‘, ‘काले राईका क्वाँटी कविता‘, ‘प्राचीन किराँत इतिहास‘, ‘मानव अधिकार हनन के हो ?’ ‘महागुरु फाल्गुनन्द सरस्वती सत्याहाङ्माको जीवनी‘, ‘सङ्क्षेपमा मेरो जीवनयात्रा‘ कृति रहेका छन् ।
(ग) स्वामी प्रपन्नाचार्य किन आध्यात्मतर्फ लागे ?
उत्तर : प्रपन्नाचार्यको परिवार वैदिक धर्मसंस्कृतिको पालनामा विशेष जोड दिने र शुद्ध शाकाहारी भोजन गर्ने भएकाले उनमा पनि बाल्यकालदेखि नै आध्यात्मिक चिन्तन विकास हुँदै गएको थियो । केही समय उनी फाल्गुनन्दको आश्रममा बसे । फाल्गुनन्दको मृत्युपश्चात् उनमा वैराग्यको अनुभूति हुन थाल्यो । यसरी सानैदेखि आध्यात्मको भोक जागिरहेकाले स्वामी प्रपन्नाचार्य आध्यात्मतर्फ लागे ।
(घ) स्वामी प्रपन्नाचार्यको जीवनीबाट के प्रेरणा पाइन्छ ?
उत्तर : अध्ययनका लागि उमेरले छेक्दैन । हामीले सधैँ सादा जीवन उच्च विचार लिनुपर्छ । मानवहित नै सबैभन्दा ठुलो धर्म हो । हरेकमा आत्मीयता र समानताको भावना हुनुपर्छ । स्वामी प्रपन्नाचार्यको जीवनीबाट हामीले पाउने प्रेरणा यही हो ।
८. भाव विस्तार गर्नुहोस् :
स्वामी प्रपन्नाचार्य अध्ययनलाई उमेरले कहिल्यै छेक्दैन भन्ने विचारका दृष्टान्त हुन् ।
माथिको जीवनीको अंश ‘स्वामी प्रपन्नाचार्य‘ शीर्षकको जीवनीबाट साभार गरिएको हो । यस जीवनीलाई कक्षा ८ नेपाली पाठ्यपुस्तक लेखक समूहबाट लेखन तथा सम्पादन गरिएको हो । स्वामी प्रपन्नाचार्यको जीवनीबाट प्राप्त हुने सन्दर्भमा प्रस्तुत अंश आएको छ ।
प्रपन्नाचार्यको परिवार वैदिक धर्मसंस्कृतिको पालनामा विशेष जोड दिने र शुद्ध शाकाहारी भोजन गर्ने भएकाले उनमा पनि बाल्यकालदेखि नै आध्यात्मिक चिन्तन विकास हुँदै गएको थियो । खेतीपाती र गाईवस्तुको हेरचाहमा परिवारका सबै लाग्नुपर्ने अवस्था थियो अनि मात्र गुजारा चल्थ्यो । यही कारणले गर्दा बाल्यकालमा उनले पढ्न लेख्न पाएनन् । फाल्गुनन्दको आश्रममा १४ वर्षको उमेरमा बसेका प्रपन्नाचार्यमा फाल्गुनन्दको मृत्युपछि वैराग्य उत्पन्न भयो । तीर्थाटनका क्रममा भारत पुगेर निकै सङ्घर्ष गरी ३० वर्षको उमेरमा कखरा सिकेर विद्यावारिधि उपाधि हासिल गरी काले राईबाट डा. स्वामी प्रपन्नाचार्यका रूपमा स्थापित भए ।
यसप्रकार माथिको जीवनीको अंशबाट हामी स्वामी प्रपन्नाचार्य अध्ययनलाई उमेरले कहिल्यै छेक्दैन भन्ने विचारका दृष्टान्त हुन् भन्ने स्पष्ट बन्दै अध्ययन नै जीवन हो भन्ने कुराको सन्देश पाउन सक्छौं ।
९. तपाइँ भविष्यमा आफ्नो जन्मभूमिको सेवा कसरी गर्न चाहनुहुन्छ, कक्षामा सुनाउनुहोस् ।
उत्तर : सर्वप्रथम त म अध्ययन नै सबैभन्दा ठुलो कुरा हो भन्ने मनन् गर्दै राम्ररी अध्ययन गरी व्यावहारिक ज्ञानसमेत प्राप्त गर्न चाहन्छु । आफ्नो अध्ययनपश्चात् म जे बने पनि सधैँ नेपालमै रहने छु । नेपाल र नेपाली कै उन्नतिका लागि काम गर्ने छु । इमानदार र अनुशासित भएर आफ्नो क्षमताअनुसार जन्मभूमिको सेवा गर्ने छु । पैसा कै लागि नेपाल छोडेर विदेश जाने छैन ।
१०. स्वामी प्रपन्नाचार्यको जीवनीको सार लेख्नुहोस् ।
उत्तर : स्वामी प्रपन्नाचार्यको जीवनीको सार –
जस्तोसुकै कठिन परिस्थितिलाई पनि अनुकूल बनाएर अनेकौँ हन्डर खाएर जीवनलाई सार्थक बनाउने उदाहरणीय प्रतिभाका रूपमा स्वामी प्रपन्नाचार्यलाई चिनिन्छ । उनको जन्म वि.सं. १९८० असोज ३ मा पाँचथर जिल्लाको फिदिम, बरडाँडामा भएको थियो । उनको आमाको नाम दिलमाया र बुबाको नाम धर्मदास राई थियो । यिनको न्वारनको नाम गीतानन्द र बोलाउने नाम काले राई थियो ।
प्रपन्नाचार्यको परिवार वैदिक धर्मसंस्कृतिको पालनामा विशेष जोड दिने र शुद्ध शाकाहारी भोजन गर्ने भएकाले उनमा पनि बाल्यकालदेखि नै आध्यात्मिक चिन्तन विकास हुँदै गएको थियो । खेतीपाती र गाईवस्तुको हेरचाहमा परिवारका सबै लाग्नुपर्ने अवस्था थियो अनि मात्र गुजारा चल्थ्यो । यही कारणले गर्दा बाल्यकालमा उनले पढ्न लेख्न पाएनन् । फाल्गुनन्दको आश्रममा १४ वर्षको उमेरमा बसेका प्रपन्नाचार्यमा फाल्गुनन्दको मृत्युपछि वैराग्य उत्पन्न भयो । केही समय बिजुवाको काम गरेका उनी काम खोज्न भारत गए । काम नपाएपछि नेपाल फर्किए । त्यसपछि पण्डित दामोदर खतिवडाको समूहसँग तीर्थाटनका क्रममा भारतको बनारस पुगे ।
निकै सङ्घर्ष गर्दै ३० वर्षको उमेरमा काले राईका नामबाट कखरा सिकेर विद्यावारिधिको उपाधि हासिल गरी डा. स्वामी प्रपन्नाचार्यका रूपमा स्थापित भए । मातृभूमि नेपाल आएर उनले मानवहितमा जोड दिँदै पूर्वीय परम्पराको विषयवस्तुलाई युगसापेक्ष ढङ्गबाट सर्वसाधारणसम्म पुऱ्याउन थाले र वेदका दार्शनिक विचारको व्याख्या गरिरहे । संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजीमा लेखिएका उनका झन्डै चार दर्जन जति पुस्तकसमेत प्रकाशन भएका छन् । वि.सं. २०७२ भदौ ४ गते देहावसान भए पनि महान् सन्त, संस्कृत वाङ्मयका विशिष्ट अनुसन्धाता तथा व्याख्याताका रूपमा स्वामी प्रपन्नाचार्य अमर बन्न पुगे ।
११. स्वामी प्रपन्नाचार्यले वैदिक वाङ्मयका क्षेत्रमा पुऱ्याएका योगदानको चर्चा गर्नुहोस् ।
उत्तर : जस्तोसुकै कठिन परिस्थितिलाई पनि अनुकूल बनाएर अनेकौँ हन्डर खाएर जीवनलाई सार्थक बनाउने उदाहरणीय प्रतिभाका रूपमा स्वामी प्रपन्नाचार्यलाई चिनिन्छ । उनको जन्म वि.सं. १९८० असोज ३ मा पाँचथर जिल्लाको फिदिम, बरडाँडामा भएको थियो । निकै सङ्घर्ष गर्दै ३० वर्षको उमेरमा काले राईका नामबाट कखरा सिकेर विद्यावारिधिको उपाधि हासिल गरी डा. स्वामी प्रपन्नाचार्यका रूपमा स्थापित भए ।
स्वामी प्रपन्नाचार्यको वैदिक वाङ्मयका क्षेत्रमा निकै ठुलो योगदान पुऱ्याएका छन् । मातृभूमि नेपालमा नै रहेर यिनले वैदिक वाङ्मयको क्षेत्रमा आफ्नो अमूल्य योगदान दिए । पूर्वीय विषयवस्तुलाई युगसापेक्ष किसिमले सर्वसाधारणसम्म पुऱ्याउने काममा जीवन व्यतीत गरेका यिनका विचारहरू मानव कल्याणका लागि महान् मानिन्छन् । त्यस्तै यिनले विभिन्न कृतिहरूसमेत प्रकाशन गरी वैदिक वाङ्मयका क्षेत्रमा योगदान पुर्याएका छन् । स्वामी प्रपन्नाचार्यका संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजीमा लेखिएका करिब चार दर्जन पुस्तक प्रकाशित छन् । उनका ‘सम्मार्ग दर्शन‘, ‘प्राचीन हिन्दु विज्ञान‘, ‘वेदमा के छ ?’ ‘किराँत मङ्गोलियाबाट आएका शरणार्थी होइनन्‘, ‘प्राचीन किराँत इतिहास‘, ‘महागुरु फाल्गुनन्द सरस्वती सत्याहाङ्माको जीवनी‘, ‘सङ्क्षेपमा मेरो जीवनयात्रा‘ कृति रहेका छन् । यिनले आजीवन प्रवचन, व्याख्या, अनुसन्धानका माध्यमबाट वैदिक वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान दिए ।
यसरी मानवहितलाई ध्यानमा राखेर आजीवन पूर्वीय दर्शनको हिमायती बनेका स्वामी प्रपन्नाचार्य महान् सन्त, संस्कृत वाङ्मयका विशिष्ट अनुसन्धाताका रूपमा अमर बन्न पुगेका छन् । वैदिक वाङ्मयका क्षेत्रमा उनले पुऱ्याएको योगदान विशिष्ट र अतुलनीय रहेको छ ।
१२. दिइएको अनुच्छेद पढेर चारओटा बुँदा टिपोट गरी सारांश लेख्नुहोस् :
उत्तर : मुख्य मुख्य चारओटा बुँदा :-
(क) नेपाल प्राकृतिक दृष्टिकोणले सम्पन्न मुलुक
(ख) हावापानी, उचाइ र धरातलीय विविधताले प्राकृतिक विविधता सिर्जना गरेको
(ग) जैविक विविधताका विभिन्न पक्षमध्ये महत्त्वपूर्ण र दुर्लभ जडीबुटी पनि पर्नु
(घ) चाँप, पाँचऔँले, यार्चागुम्बा आदि बोटबिरुवा र जडीबुटी हाम्रा बहुमूल्य सम्पत्ति ।
सारांश लेखन :-
नेपालको जैविक विविधिता र जडीबुटी
नेपाल प्राकृतिक दृष्टिकोणले सम्पन्न मुलुक हो । यहाँ हावापानी, उचाइ र धरातलीय विविधताले प्राकृतिक विविधता सिर्जना गरेको छ । जैविक विविधताका विभिन्न पक्षमध्ये हाम्रो देशमा महत्त्वपूर्ण र दुर्लभ जडीबुटी पनि पर्छन् । चाँप, पाँचऔँले, यार्चागुम्बा आदि बोटबिरुवा र जडीबुटी हाम्रा बहुमूल्य सम्पत्ति हुन् ।
प्रश्नको अनुच्छेदमा भएको शब्द सङ्ख्या : ११९
सारांशमा हुनपर्ने शब्द सङ्ख्या : ४०
सारांशमा भएको जम्मा शब्द सङ्ख्या : ४०