शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
शब्द अर्थ
साँचो – सत्य, ताल्चा खोल्ने साधन
नगर – निषेध, सहर
हार – पराजय, माला
कलम – लेख्ने साधन, कलमी
अर्थ – धन, मतलब
गोल – बाटुलो, अँगा
मास – दालको एक प्रकार, महिना
जाल – झेल, पासो
२. दिइएका शब्दको अर्थ साथीसँग छलफल गरी लेख्नुहोस् :
संयोग : अकस्मात् हुने मिलन, अवसर, मौका
पैदल : गोडाले, खुट्टाले
अपरिहार्य : अत्यावश्यक, अनिवार्य
वर्णन : क्रमबद्ध रूपमा वा विस्तारपूर्वक कथन, बेलीविस्तार
जनविश्वास : जनताको विश्वास वा भरपत्यार
समाधि : मानसिक एकाग्रता, साधना, चिहान
व्यापक : सर्वत्र फिँजिएको
खाद्यान्न : धान, मकै, गहुँ आदि खाइने अन्न
खरिद : किन्ने काम, किनमेल
३. दिइएका शब्दको एकभन्दा बढी अर्थ खोजी लेख्नुहोस् :
असार : सार नभएको, आषाढ
हात : हस्त, अधिकार
कल : कलह, यन्त्र
खरी : खरो स्वभाव भएकी स्त्री, एक जातको रुख, सिलोट, धुलौटो आदिमा लेख्ने सेतो नरम पत्थर
ताल : पटक, ठुलो पोखरी, नाचगानको ढङ्ग
दर : तिजका अघिल्ला रात स्त्रीहरूले खाने भोजन, भाउ
उत्तर : जबाफ, चार दिशामध्ये एक दिशा
४. शब्दकोशबाट पाँचओटा अनेकार्थी शब्द खोजी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् ।
रहर : मलाई रहरको दाल खाने रहर थियो । सीताले रहरको दाल किनिन् । मलाई पोखरा जाने रहर छ ।
खोटो : खोटो भाग्य सल्लाको खोटो निकालेर चम्किँदैन ।
कर : कर तिर्न सरकारलगायत सबैले कर गर्नुपर्छ ।
कछाड : रामको बुबा कछाड लगाएर कछाडतिर जानुभयो ।
टीका : रातो टीका लगाएर टीकाटिप्पणी गरेको उसलाई राम्रो सुहायो ।
५. दिइएका शब्द प्रयोग गरी ‘परिश्रम‘ शीर्षकमा एक अनुच्छेद लेख्नुहोस् :
उत्तर :
परिश्रम
परिश्रम नगरी कोही पनि सफल बन्दैन । हरेक व्यवसायको सफलताको पछि परिश्रमको हात रहेको हुन्छ । हामी नेपाली परिश्रम नगरेर बेरोजगार भएका हौं । स्थानीय स्तरमा रहेर सङ्घर्ष गर्दै परिश्रम गर्ने प्रस्ताव ल्याउन हरेक युवालाई सरकारले नै प्रोत्साहन गर्नुपर्छ । परिचित पर्यावरणमा रहेर काम गर्दा अपनत्वको अनुभूति पनि हुन्छ । अझ पछिल्ला समयमा विद्यालय परिसरमा ठुलो दक्ष जनशक्तिको खाँचो बढ्दै गइरहेको छ । हामी भने परिश्रमलाई दुःख भन्दै अझ धेरै दुःख गर्न विदेसिएका छौं ।
बोध र अभिव्यक्ति
१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
व्यवसायी, बेलाबखत, शुभारम्भ, दाँतरी, भौगोलिक, छाँगाछहरा, भूस्वर्ग, हिमशृङ्खला, रीतिरिवाज, लेकबैँसी, अविस्मरणीय
३. ‘पदमार्ग‘ संवाद पढी दिइएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :
(क) पदयात्रामा कुन कुन पक्षको जानकारी पाउन सकिन्छ ?
उत्तर : पदयात्रामा प्राकृतिक, धार्मिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक पक्षको जानकारी पाउन सकिन्छ ।
(ख) पदयात्रामा सिम्रौनगढको परिवेश कस्तो छ ?
उत्तर : पदयात्रामा सिम्रौनगढ ऐतिहासिक तथा धार्मिक महत्त्वको स्थल भए पनि संरक्षण हुन नसकेको परिवेश छ ।
(ग) बडिमालिका कहाँ पर्छ ?
उत्तर : बडिमालिका बाजुरा जिल्लामा पर्छ ।
(घ) साथीबिच कसरी घनिष्ठता बढ्छ ?
उत्तर : साथीबिच कम्तीमा वर्षका एकपल्ट साथीको घर जाँदा घनिष्ठता बढ्छ ।
(ङ) ‘सगरमाथा आधार शिविरसम्मको पदयात्रा गरेर हाम्रो अभियान शुभारम्भ गरौँ‘ भनाइ कसले भनेको अनुच्छेदमा छ ?
उत्तर : ‘सगरमाथा आधार शिविरसम्मको पदयात्रा गरेर हाम्रो अभियान शुभारम्भ गरौँ भनाइ आङरिताले भनेको अनुच्छेदमा छ ।
४. ‘पदमार्ग‘ संवाद पढी दिइएका भनाइ कुन कुन पात्रका हुन् ? भन्नुहोस् ।
(क) घरपरिवारलाई पनि समय दिनैपर्यो ।
(ख) संयोगले हाम्रो दाँतरी मुलुकको पूर्व, पश्चिम, उत्तर र दक्षिणका परेछौँ । सुप्रभाको भनाइ
(ग) मैले पोहोर साल अन्नपूर्ण आधार शिविरसम्मको भ्रमण गरेको थिएँ । ईश्वरको भनाइ
(घ) होमस्टे सञ्चालनका लागि स्थानीय व्यक्तिलाई तालिम दिनुपर्छ । आङरिताको भनाइ
(ङ) अब सोच्नेभन्दा पनि समय मिलाउने हो । सुप्रभाको भनाइ
५. ‘पदमार्ग‘ संवादको ‘मैले केही समयअगाडि ….. मन नै कटक्क भयो ।‘ संवादांश जस्ताको त्यस्तै लेख्नुहोस् ।
उत्तर : मैले केही महिनाअगाडि सिम्रौनगढको सफर गरेकी थिएँ । सिम्रौनगढ बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा पर्छ । वीरगन्जबाट सिम्रौनगढको पैदल यात्रा गर्ने हो भने एक दिन हिँड्नुपर्छ । प्राचीन तिरहुत क्षेत्रमा अवस्थित यो राज्य नान्यदेवले स्थापना गरेका रहेछन् । सिम्रौनगढको गढ परिसरमा कङ्काली माई, शिवलिङ्ग, रानीबास, विष्णु मन्दिर, मन्साराम बाबाको समाधि आदि दर्शनीय कुरा छन् । त्यहाँको रानीबास मन्दिर त जङ्गबहादुरका छोरा जितजङले आफ्ना पिताको स्मृतिमा निर्माण गरेका रहेछन् । सिम्रौनगढका पुरातात्त्विक वस्तुको संरक्षण नभएको देख्दा मन नै कटक्क भयो ।
६. ‘पदमार्ग‘ संवाद पढी दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :
(क) कस्ता स्थानमा पदयात्रा गर्न सकिन्छ ?
उत्तर : पदयात्रा हिमाल, पहाड, तराई सबैतिर गर्न सकिन्छ । पदयात्रामा विशेष गरी प्राकृतिक, धार्मिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक महत्त्वका स्थानमा पदयात्रा गर्न सकिन्छ । पदयात्रामा लेकबेंसी, गाउँघर, भन्ज्याङचौतारी, छाँगाछहरा, वनपाखा, हिमाल आदिका मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।
(ख) अन्नपूर्ण पदमार्गका विशेषता के के हुन् ?
उत्तर : अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्दा दुईतीन हप्ताको समय लाग्छ । यो पदयात्रा लमजुङको बेंसीसहरबाट प्रारम्भ हुन्छ । त्यसपछि खुद्री, बाहुनडाँडा, धारापानी, चामे, मनाङ, थोराङ ला पास हुँदै मुक्तिनाथ पुगेर फर्किन्छ । फर्किने क्रममा मार्फा, लेते, तातोपानी जस्ता मनमोहक दृश्य हेर्न पाइन्छ । यसका साथै अन्नपूर्ण, धौलागिरि, माछपुच्छ्रे हिमालको सुन्दरताले भूस्वर्गको अनुभूति दिन्छ । यो विश्वकै चर्चित पदमार्गमा पर्छ ।
(ग) विदेशी किन नेपालको पर्वतीय पदयात्राप्रति आकर्षित छन् ?
उत्तर : नेपाल पर्वतीय पदमार्गका लागि विश्वमा परिचित छ । पर्वतीय क्षेत्रको प्राकृतिक सुन्दरताले सबैलाई लोभ्याउँछ । यहाँको प्राकृतिक सुन्दरताले भूस्वर्गको अनुभूति दिलाउँछ । त्यस्तै यहाँको परम्परागत र मौलिक रीतिरिवाज, कला, सभ्यता, चालचलन आदिले पनि पर्यटकलाई आकर्षित गराउँछ । तसर्थ विदेशी पर्यटक नेपालको पर्वतीय पदयात्राप्रति आकर्षित छन् ।
(घ) पर्यटन व्यवसायका माध्यमबाट कसरी रोजगारी बढाउन सकिन्छ ?
उत्तर : स्थानीय व्यक्तिलाई तालिम दिएर होमस्टे सञ्चालन गर्नुपर्छ । यसका साथै कसैले होमस्टेमा खपत हुने खाद्यान्न उत्पादन गर्ने, कसैले पथप्रदर्शकको काम गर्ने, कसैले पदयात्रीको लागि झोला, जुत्ता, टोपी, चस्मा, लट्ठी आदिको पसल सञ्चालन गर्न सकिन्छ । यसै गरी ठाउँअनुसार उपहार सामग्री, स्थानीय उत्पादनमा आधारित घरेलु उद्योग सञ्चालन गरेर पर्यटन व्यवसायका माध्यमबाट रोजगारी बढाउन सकिन्छ ।
७. व्याख्या गर्नुहोस् :
नेपालका कैयौँ पदमार्ग प्राकृतिक, धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण छन् ।
माथिको संवादांश ‘पदमार्ग‘ शीर्षकको संवादबाट साभार गरिएको हो । यस संवादका लेखक कक्षा ८ नेपाली पाठ्यपुस्तक लेखक समूहमध्येका हुन् । प्रस्तुत भनाइ संवादकी पात्र आङरिताको हो ।
नेपाल पदयात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्यमा पर्दछ । यहाँका पदमार्गहरू विश्वकै चर्चित र उत्कृष्ट पदमार्गअन्तर्गत पर्दछन् । अन्नपूर्ण, लाङटाङ, माथिल्लो डोल्पा, मनास्लु, सगरमाथा जस्ता पर्वतीय उच्च हिमाली क्षेत्रका पदयात्राका लागि चर्चित छन् । बडिमालिका, चिसापानी, धुन्चे, शिवपुरी, बेथान, घान्द्रुक, जिरी, सिन्धुलीगढी, मुन्धुम जस्ता पहाडी तथा उच्च पहाडी क्षेत्रका पदयात्रा पनि चर्चित रहेका छन् । अन्नपूर्ण पदमार्ग विश्वका चर्चित पदमार्गमध्ये पाँचाँ स्थानमा पर्दछ । त्यस्तै बडिमालिका धार्मिक तथा प्राकृतिक पदमार्गका रूपमा चर्चित स्थल हो । त्यसै गरी सिम्रौनगढ ऐतिहासिक तथा पुरातात्त्विक पदमार्गका रूपमा रहेको छ ।
यसप्रकार नेपाल पदमार्गका दृष्टिले विश्वकै उत्कृष्ट गन्तव्य स्थल हो । यहाँ प्राकृतिक सुन्दरताले भरिपूर्ण थुप्रै पर्वतीय पदमार्ग रहेका छन् । त्यस्तै धार्मिक र ऐतिहासिक दृष्टिले उत्कृष्ट पदमार्ग पनि रहेका छन् । यसको खोजी गरी विकास गर्न सके पर्यटन व्यवसाय फस्टाउन सकिन्छ भन्ने कुरा माथिको संवादांशले स्पष्ट पारेको छ ।
८. ‘पदमार्ग‘ संवादमा प्रयुक्त हिमाली परिवेशको वर्णन गर्नुहोस् ।
उत्तर : ‘पदमार्ग‘ संवादमा प्राकृतिक सुन्दरताले भरिपूर्ण हिमाली परिवेशको वर्णन गरिएको छ । अन्नपूर्ण आधार शिविरसम्मको पदयात्राको वर्णन गर्ने क्रममा धारापानी, चामे, मनाङ, थोराङ ला पास, मुक्तिनाथ, मार्फा, लेते, तातोपानी जस्ता मनमोहक प्राकृतिक दृश्यको परिवेश वर्णन गरिएको छ । त्यस्तै अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रे हिमालको सुन्दरताले भूस्वर्गको अनुभूति दिलाउने चर्चा गरिएको छ । त्यस्तै पाठमा बडिमालिकाको दृश्यको पनि वर्णन गरिएको छ। अपिसैपाल हिमशृङ्खलाको सुन्दर दृश्यको परिवेश पनि वर्णन गरिएको छ ।
९. ‘पदमार्ग विदेशी मुद्रा आर्जनको भरपर्दो माध्यम हो ।‘ यो भनाइलाई पुष्टि गर्नुहोस् ।
उत्तर : नेपाल पदयात्राको दृष्टिले विश्वकै उत्कृष्ट गन्तव्यमा पर्दछ । नेपालको प्राकृतिक सुन्दरता, हिमाली क्षेत्रको मनमोहक दृश्यले गर्दा पर्यटकको आकर्षणको केन्द्र बनेको देखिन्छ । पदमार्गबाट पर्यटन क्षेत्रमा व्यावसायीकरण गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । यसका लागि पदमार्गका क्षेत्रमा होमस्टे सञ्चालन गर्नुपर्छ । यसका लागि स्थानीय व्यक्तिलाई नै तालिम दिएर आतिथ्य सत्कारको वातावरण तयार पार्नुपर्छ । त्यस्तै पदयात्रीका लागि आवश्यक पर्ने सामग्रीको पसल सञ्चालन गर्नुपर्छ । घरेलु उद्योगको विकास गरेर विभिन्न स्थानीय उत्पादनलाई पदमार्गमा पर्यटकलाई लोभ्याउन सकिन्छ । यसरी पदमार्ग विदेशी मुद्रा आर्जनको भरपर्दो माध्यम हो ।
१०. ‘पदमार्ग‘ संवादको मुख्य सार लेखी कक्षामा प्रस्तुत गर्नुहोस् ।
उत्तर :
‘पदमार्ग‘ संवादको मुख्य सार
प्राकृतिक वातावरणमा रमाउँदै, गाउँघरमा बास बस्दै, पैदल यात्रासहितका घुमफिर नै पदयात्रा हो । पदयात्राबाट प्राकृतिक, धार्मिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक आदि पक्षको जानकारी हासिल हुन्छ । पदयात्राका क्रममा लेकबेंसी, गाउँघर, भन्ज्याङचौतारी, छाँगाछहरा, वनपाखा, हिमाल आदिका मनमोहक दृश्य अवलोकन गर्न पाइन्छ । पदयात्राको अवधि कहाँदेखि कहाँसम्मको पदयात्रा गर्ने भन्ने कुरामा निर्भर रहन्छ ।
अन्नपूर्ण आधारशिविरसम्मको पदमार्ग विश्वका चर्चित पदमार्गमध्ये पाँचौँ स्थानमा पर्छ । त्यस्तै बडिमालिका धार्मिक पदयात्राका रूपमा चर्चित रहेको छ । यो प्राकृतिक हिसाबले पनि चर्चित छ । त्यस्तै सिम्रौनगढ ऐतिहासिक पदमार्गका रूपमा चर्चित बनाउन सकिन्छ । नेपालमा कयौँ पदमार्ग प्राकृतिक, धार्मिक, ऐतिहासिक दृष्टिले निकै महत्त्वपूर्ण छन् । देशविदेशमा तिनको प्रचारप्रसार हुनु अपरिहार्य छ । हामीले पदमार्गलाई व्यवस्थित गरी पर्यटन व्यवसायलाई प्रवर्धन गर्न सक्छौँ। पदमार्गबाट पर्यटन क्षेत्रलाई व्यावसायीकरण गर्न सकिन्छ । यसप्रकार पदमार्ग पैदल यात्राको मात्र मार्ग नभएर ज्ञान आर्जन, पेसाव्यवसाय विस्तार, विदेशी मुद्रा आर्जन, संस्कृतिको आदानप्रदान जस्ता बहुआयामिक पक्षको मार्ग हो ।
११. दिइएको अनुच्छेद मौन पठन गरी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
प्रश्नहरू :
(क) संवादमा पात्रको हाउभाउलाई कहाँ राख्नुपर्छ ?
उत्तर : संवादमा पात्रको हाउभाउलाई कोष्ठकभित्र राख्नुपर्छ ।
(ख) संवादलाई रोचक बनाउन के गर्नुपर्छ ?
उत्तर : संवादलाई रोचक बनाउन पात्रद्वारा सम्बन्धित विषयमा तर्कवितर्क गराउनुपर्छ ।
(ग) संवादमा कस्तो भाषाशैली प्रयोग गर्नुपर्छ ?
उत्तर : संवादमा पात्रको स्तरअनुसारको भाषाशैली प्रयोग गर्नुपर्छ ।
(घ) संवादमा के कुरालाई ध्यान दिनुपर्छ ?
उत्तर : संवादमा एउटै पात्रका माध्यमबाट लामो अभिव्यक्ति नदिने र छलफलबाट विषयस्तुको निष्कर्ष झल्किनुपर्ने कुरालाई ध्यान दिनुपर्छ ।