शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
शब्द अर्थ
साहस : कठिन अवस्थामा पनि काम गर्ने आँट
परदेश : विदेश
प्वाँख : चराको भुत्ला
खम्बा : खाँबो, थाम
अक्कर : यताउति जान नसकिने अप्ठ्यारो स्थिति
युग : जमाना
इतिहास : विगतका घटनाको वर्णन
२. दिइएको अनुच्छेद पढी लघुतावाची शब्द टिपोट गर्नुहोस् :
चिम्टी, चिरा, लौरी, पटुकी, टिकी, फूली, अम्खोरी, चिरो
३. दिइएका लघुतावाची शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
पोटी : मलाई लसुनको पोटी केलाउन अल्छी लाग्छ ।
पोथ्रो : हामीले जथाभावी रुखको पोथ्रो काट्नु हुँदैन ।
त्यान्द्रो : परालको त्यान्द्रोसमेत घरमा नभएपनि भकारीभरी धान छ ।
चोइटो : दाउराको चोइटोले हिजो लागेको थियो अहिलेसम्म दुखिराछ ।
पित्को : सराद्धेमा बोलाएर अचारको पित्को मात्र खुवायो रामले ।
कर्द : कर्दको प्रयोग गरि बुवाले स्याउ काट्नुभो ।
ठेकी : मलाई ठेकीको दही एकदमै मन पर्छ ।
४. दिइएका शब्द प्रयोग गरी अनुच्छेद लेख्नुहोस् :
स्वाभिमान, पसिना, परदेश, सपना, आरोही, ओसिलो, ऊर्जाशील, उर्वर
हामी नेपाली स्वाभिमानका साथ काम गछौं । देश विदेश जहाँ भए पनि पसिना बगाउँछौँ । परदेशमा सपना बोकेर जानुभन्दा हिमाल आरोही बनेर स्वदेशमै पसिना चुहाउँछौँ । गर्मी ठाउँमा बस्ने भन्दा आसिलो ठाउँमा बस्ने नेपाली ऊर्जाशील देखिन्छन् । तराईको उर्वर भूमि हाम्रो देशको अन्न भण्डार हो ।
बोध र अभिव्यक्ति
१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
हिमाल, गोर्खाली, अदम्य, पहाड, सगरमाथा, इतिहास, पाइला, कोदाली
३. ‘फर्क आफ्नै देश‘ कविता पढी दिइएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :
(क) हाम्रा पैताला के बोकेर हिँडेका छन् ?
उत्तर : हाम्रा पैताला अदम्य साहस बोकेर हिँडेका छन् ।
(ख) हामीले बाँकी युगलाई कस्तो बनाउनुपर्छ ?
उत्तर : हामीले बाँकी युगलाई आफ्नै पसिनाले सिँचाइ गरेर उर्वर बनाउनुपर्छ ।
(ग) देशको सपनालाई कसरी रङ्ग्याउन बाँकी छ ?
उत्तर : देशको सपनालाई डाँफे चरीका रङ्गीन प्वाँख जस्तै गरी रङ्ग्याउन बाँकी छ ।
(घ) हामी कसका लागि देश भएर बाँच्नुपर्छ ?
उत्तर : हामी हाम्रो पिँढीका लागि देश भएर बाँच्नुपर्छ ।
(ङ) देश बनाउने अभियानको सन्दर्भ कुन अनुच्छेदमा आएको छ ?
उत्तर : देश बनाउने अभियानको सन्दर्भ दोस्रो अनुच्छेदमा आएको छ ।
४. ‘फर्क आफ्नै देश‘ कविताको ‘गाउँमा चर्किएका बाँच्नु छ मलाई‘ कवितांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) खेतमा चिरा परेका गरालाई कसरी ओसिलो बनाउनुपर्छ ?
उत्तर : विदेसिने प्रवृत्तिले गर्दा गाउँका घरहरू रित्ता भएका छन्, भित्ताहरू चर्किएका छन् । त्यसलाई टालेर हामीले सुन्दर बनाउनुपर्छ । गाउँघरमा परिश्रम गर्ने मानिसको अभाव छ । खेतहरू बाँझो बस्न थालेका छन्, चिरा परेका छन् । यसलाई हामीले आफ्नै पसिनाले अर्थात् परिश्रमले ओसिलो बनाउनुपर्छ ।
(ख) ‘देशको खम्बा भएर बाँच्नु छ मलाई‘ भन्नुको तात्पर्य के हो ?
उत्तर : नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण मुलुक हो । यो देशलाई समृद्धिमा माध्यमबाट हिमालझैँ हँसिलो र डाँफेका रङ्गीन प्वाँख जस्तै रङ्ग्याउने हरेक नेपालीको सपना रहेको हुन्छ । हरेक नेपाली यस देशका खम्बा हुन् । देशलाई सुन्दर, शान्त र समृद्ध बनाउँदै देशको खम्बा अर्थात् नेपालरूपी घरलाई बलियो बनाउने माध्यम बन्न चाहन्छन् ।
५. ‘फर्क आफ्नै देश‘ कविता पढ़ी दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :
(क) हामी कस्तो अभियानमा हिँड्नुपर्छ ?
उत्तर : हाम्रा पैताला अदम्य साहस बोकेर हिँडेका छन् । हाम्रो छाती तराईको फाँट जस्तो फराकिलो रहेको छ । आफ्नै माटाको रङ निधारमा टाँसेर, आफ्नै माटोलाई माया गरेर हामीले पाइला चाल्नुपर्छ । हामी देश बनाउने अभियानमा हिँड्नुपर्छ ।
(ख) कुन अवस्थामा कविका आँखामा हिमाल हाँस्छ ?
उत्तर : नेपाल प्राकृतिक रूपमा सुन्दर देश हो । गाउँमा चर्किएका घरका भित्ता टालेर सुन्दर बनाउने र खेतमा चिरा परेका गराहरू आफ्नै परिश्रमले ओसिलो बनाउनु आजको आवश्यकता बनेको छ । देश स्वतन्त्र भएर बाँचेको अवस्थामा कविका आँखामा हिमाल हाँस्छ।
(ग) हामीले किन यो युगको गीत लेख्नुपर्छ ?
उत्तर : रातो क्रान्ति अर्थात् परिवर्तनको प्रतीक हो । हरेक नेपालीको मनमा परिवर्तनको चाहना रहेको छ । अक् भिरमा मुस्कुराउने गुँरास जस्तै नेपालीहरू अप्ठ्यारो परिस्थितिमा काम गर्न सक्छन् । सगरमाथा आरोहण गर्ने कीर्तिमानी पाइला पनि नेपालीको हो । तसर्थ परिवर्तन र देश निर्माणका लागि हामीले यो युगको गीत लेख्नुपर्छ ।
(घ) अबको युगलाई कसरी उर्वर बनाउनुपर्छ ?
उत्तर : परदेश गएकाहरू आफ्नै घर आँगनमा फर्किनुपर्छ । देशमा परिश्रमको खाँचो, मिहिनेतको खाँचो छ । त्यसैले आफ्नै देशमा आफ्नै पसिनाले सिँचाइ गरेर अबको युगलाई उर्वर बनाउनुपर्छ ।
६. व्याख्या गर्नुहोस् :
हामी हाम्रो पिँढीका लागि देश भएर बाँचौँ ।
प्रस्तुत हरफ ‘फर्क आफ्नै देश‘ शीर्षकको कविताबाट साभार गरिएको हो । यस कविताका रचनाकार कवि विक्रमपवन परियार हुन् । राष्ट्रप्रतिको प्रेम अभिव्यक्ति गर्ने क्रममा प्रस्तुत हरफहरू आएका छन् ।
युवाहरूमा युग परिवर्तन गर्न सक्ने जोस हुन्छ । युवाका जोसिला पाइलाले युग बदल्न सक्छ । युवाका मुट्ठीहरू ऊर्जाशील हुन्छन् । छातीहरू बलिया हुन्छन् जसलाई गोलीले पनि छेड्न सक्दैन । युवाहरूले परिवर्तनको युगान्तकारी नक्सा कोर्न सक्छन् । यस्ता कार्यमा युवा लागेमा मात्र देश बाँच्न सक्छ । देश समृद्ध हुन सक्छ । हाम्रो देशका युवा शक्ति विदेश पलायन भइरहेका छन् । देश निर्माणका लागि विदेसिएका सबै युवा स्वदेश फर्कनुपर्छ । सबै व विदेसिएमा देशको अस्तित्व नै सङ्कटमा पर्न सक्छ । तसर्थ स्वदेश फर्किएर हाम्रो पिँढीका लागि देश भएर बाँच्नुपर्छ, सबैलाई स्वदेशमा केही गर्ने सन्देश दिएर बाँच्नुपर्छ भन्ने कुरा माथिका हरफमा कविले स्पष्ट पारेका छन् ।
सरल भाषा र गद्य शैलीमा माध्यमबाट माथिका हरफमा कविले सबै युवालाई स्वदेश फर्किएर सबैले हाम्रो पिँढीका लागि देश भएर बाँच्न आग्रह गरेका छन् । यसका साथै सबै युवालाई परिवर्तनको युगान्तकारी नक्सा कोरी राष्ट्र निर्माणको कार्यमा लाग्नुपर्ने सन्देशसमेत दिएका छन्।
७. ‘फर्क आफ्नै देश‘ कवितामा नेपाली युवालाई किन स्वदेश फर्किन आह्वान गरिएको छ ? चर्चा गर्नुहोस् ।
उत्तर : ‘फर्क आफ्नै देश‘ कविता कवि विक्रमपवन परियारद्वारा रचिएको गद्य शैलीमा संरचित कविता हो । प्रस्तुत कवितामा कवितामा कविले राष्ट्रप्रेमको भाव अभिव्यक्त गरेका छन् । यसका साथै विदेसिएका सबै युवालाई स्वदेश फर्कन आग्रह गरेका छन् ।
नेपाली युवाहरूको हिमाल जस्तो स्वाभिमान र बुद्धको जस्तो विचार रहेको हुन्छ । अदम्य साहस बोकेका नेपाली युवाहरू श्रमशील हुन्छन् । हामी सबै युवा देश बनाउने अभियानमा लाग्नु छ । यहीँको धर्तीलाई उर्वर बनाउनु छ । गाउँमा घर छन् मान्छे छैनन् । खेतबारी बाँझै छन् पसिना बगाउने मान्छे छैनन् । सुन्दर, शान्त र समृद्ध राष्ट्र बनाउने हाम्रो सपना पूरा गर्न बाँकी रहेको छ । हामी सबैले यस युगको गीत लेख्नुपर्ने छ, दृढ अठोटका साथ श्रम, पसिना र विकासको सङ्गीत लेख्नुपर्ने छ । कोदाली भएर बाटो खन्न, हजारौं सपनाहरू पुल भएर जोड्न र यो देशको इतिहास हामी आफैँले लेख्न कविले युवालाई स्वदेश फर्किन आह्वान गरेका छन् ।
युवाहरू विदेश पलायन हुन थाले भने देश निर्माण हुन सक्दैन । हाम्रो देशमा पनि युवाहरू विदेश पलायन हुन थालेकाले दक्ष जनशक्तिको अभाव हुन थालेको छ । गाउँघर शून्य हुन थालेका छन् । खेत बाँझै रहन थालेको छ । तसर्थ सबै मिलेर राष्ट्र निर्माणको युगान्तकारी नक्सा कोर्न कवितामा नेपाली युवालाई स्वदेश फर्किन आह्वान गरिएको छ ।
८. ‘फर्क आफ्नै देश‘ कविताको मूल सन्देश लेख्नुहोस् ।
उत्तर : ‘फर्क आफ्नै देश‘ कविता कवि विक्रमपवन परियारद्वारा रचिएको गद्य शैलीमा संरचित कविता हो । प्रस्तुत कवितामा कवितामा कविले राष्ट्रप्रेमको भाव अभिव्यक्त गरेका छन् । विदेसिएका सबै युवालाई स्वदेश फर्किन आह्वान गर्दै कविले यस कवितामा हामी हाम्रो पिँढीका लागि देश भएर र सकारात्मक सन्देश दिएर बाँच्नुपर्ने सन्देश दिएका छन् ।
हामी नेपाली स्वाभिमानी छौं, श्रमशील छौं । हाम्रो विचार बुद्धको जस्तो महान् छ । अदम्य साहस बोकेका पैताला र तराईका फाँट जस्ता फराकिलो छाती लिएर हामी देश बनाउने अभियानमा लाग्नुपर्छ । आफ्नै पसिनाले सिँचाइ गरेर बाँकी युगलाई उर्वर बनाउनुपर्छ । यसका लागि पासपोर्ट परदेशमै छोडेर आफ्नै घर आँगनमा फर्किनु पर्छ । गाउँमा घरहरू रित्ता छन् । खेतका गराहरू चिरा परेका छन् । परिश्रम गर्ने, पसिना बगाउने युवाको अभाव रहेको छ । सुन्दर, शान्त र समृद्ध राष्ट्र बनाउने हाम्रो सपना पूरा गर्न बाँकी रहेको छ । हामीले देशको खम्बा भएर बाँच्न सक्नुपर्छ । स्वदेशमा आएर कोदाली बनेर आफ्नै बाटो खन्नुपर्छ, पुल भएर हजारौं सपना जोड्नुपर्छ र देशको इतिहास हामी आफैँले लेख्नुपर्छ । तसर्थ विदेसिएका युवालाई स्वदेश फर्कन कविले आह्वान गरेका छन् । युग बदल्ने जोसिला पाइला, ऊर्जाशील मुट्ठी, गोलीले छेड्न नसक्ने छाती भएका युवालाई परिवर्तनको युगान्तकारी नक्सा कोर्न युवा स्वदेश फर्किनुपर्ने सन्देश कवितामा अभिव्यक्त भएको छ ।
यसप्रकार गद्यशैलीमा संरचित सरल भाषाको प्रयोग गरिएको ‘फर्क आफ्नै देश‘ कवितामा विदेसिएका युवालाई स्वदेश फर्किएर देश निर्माणमा लाग्न आह्वान गरिएको छ ।
९. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) घाटुनाच केमा आधारित हुन्छ ?
उत्तर : घाटुनाच लोकगाथामा आधारित हुन्छ ।
(ख) घाटुनाचका नायक र नायिका को को हुन् ?
उत्तर : घाटुनाचका नायक राजा परशुराम र नायिका रानी यम्फावती हुन् ।
(ग) राजाको स्वभाव कस्तो छ ?
उत्तर : राजाको स्वभाव अलि हठी छ ।
(घ) रानी यम्फावती किन डाँको छोडेर रुन्छिन् ?
उत्तर : रानी यम्फावती सती जानुअघि नाबालक छोरालाई अँगालेर डाँको छोडेर रुन्छिन् ।
१०. प्रश्न नं. ९ मा दिइएको अनुच्छेद पढी सारांश लेख्नुहोस् ।
उत्तर : सारांश लेखन :
घाटुनाच
लोकगाथामा आधारित घाटु गीतिनाटक भए पनि यसलाई नाचकै रूपमा लिइन्छ । यो एक प्रकारको मिथक हो । यसका नायक परशुराम र नायिका यम्फावतीलगायतका सबै पात्र काल्पनिक हुन् । सिकार खेल्ने क्रममा नवलपुरमा भेटेपछि दुवैको प्रेम विवाह हुन्छ । खुसीसाथ जीवन बिताउँदै गर्दा युद्धमा होमिनुपर्ने बाध्यता आउँछ । राजा हठी स्वभावका भएकाले युद्धमा होमिँदा मृत्यु हुन्छ । रानी यम्फावती सती जानुअघि नाबालक छोरालाई अँगालेर डाँको छोडेर रुन्छिन् ।