You dont have javascript enabled! Please enable it!
Curriculum
Course: Class 8 Nepali Note
Login
Text lesson

पाठ 9 नेपालको वैदेशिक व्यापार

शब्दभण्डार

 

१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :

 

शब्द                       अर्थ

 

भूक्षय – बाढी, पहिरो आदिका कारण जमिन भासिने काम

पूर्वाधार – मुख्य आधार

विकिरण – शक्तिशाली किरण

निशस्त्रीकरण – हातहतियार नष्ट गर्ने काम

जीवाणु – अति सूक्ष्म किटाणु

खण्डन – अर्काको विचार वा सिद्धान्त काट्ने काम

सम्पदा – सम्पत्ति

बहुमुखी – विभिन्न विषयक्षेत्रको ज्ञान हासिल गरेको

प्राङ्गारिक – पातपतिङ्गर आदि कुहिएको रूप

 

 

२. कोष्ठकबाट खाली ठाउँमा उपयुक्त शब्द भर्नुहोस् :

 

(क) विश्वमा इन्धनको सङ्कट बढ्दै छ ।

(ख) हामीले पर्यावरण जोगाउन वृक्षरोपण गर्नुपर्छ ।

(ग) नेपालको संविधानले मौलिक हक तोकेको छ । 

(घ) निर्वाचन आयोग निर्वाचन गराउँदै छ । 

(ङ) प्राकृतिक संसाधनको समुचित प्रयोग गर्नुपर्छ ।

 

 

३. दिइएका पदावली बुझाउने शब्द नेपालको वैदेशिक व्यापारप्रबन्धबाट पहिचान गरी लेख्नुहोस् : 

 

(क) वस्तु वा सामान साटासाट गर्ने काम : वस्तु विनिमय

(ख) सरकारको आर्थिक प्रणाली : अर्थतन्त्र

(ग) आधुनिक बनाउने काम वा प्रक्रिया : आधुनिकीकरण

(घ) उत्पन्न गरेर वा उब्जाएर तयार पारिएको वस्तु : उत्पादन 

(ङ) चारैतिरबाट जमिनले घेरिएको देश : भूपरिवेष्टित

 

 

४. नेपालको वैदेशिक व्यापारप्रबन्धबाट सातओटा पारिभाषिक प्राविधिक शब्द खोजी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् ।

 

अवमूल्यन : संसारका मुद्राहरूको अवमूल्यन हुनुको पछाडि अर्थ व्यवस्थामा भइरहेका घटनाहरू जिम्मेवार छन् ।

आयात : विदेशबाट विभिन्न स्माट फोन नेपालमा आयात हुन्छन् ।

निर्यात : नेपालका मौलिक सामान विभिन्न देशमा निर्यात गर्ने हो भने देशको अर्थतन्त्र बलियो हुन्छ ।

पारवाहन : हाम्रो देश नेपालले पारवाहनको समस्या भोग्नुपर्दैन ।

टकसार : टकसार कार्यालयबाट बुवाले धातुका मुद्रा लिएर आउनुभयो ।

वाणिज्य : वाणिज्य सन्धि गरेकै कारण नेपाल अरु देशसँग नजिक छ ।

विनिमय : वस्तु विनिमयले सुरुमा धेरैलाई सहज तुल्याएको थियो ।

 

 

बोध र अभिव्यक्ति

 

 

३. ‘नेपालको वैदेशिक व्यापारप्रबन्ध पढी दिइएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :

 

(क) व्यापारको सामान्य उद्देश्य के हो ?

उत्तर : व्यापारको सामन्य उद्देश्य नाफा कमाउनु हो ।

 

(ख) लिच्छवीकालमा व्यापारलाई कसरी सहज बनाइएको थियो ?

उत्तर : लिच्छवीकालमा व्यापारलाई सुन, चाँदी तथा तामाका मुद्रा प्रचलनमा ल्याएर सहज बनाइएको थियो । 

 

(ग) कसले तिब्बतसँग व्यापार सञ्चालन गरेका थिए ?

उत्तर : प्रताप मल्लले तिब्बतसँग व्यापार सञ्चालन गरेका थिए ।

 

(घ) नेपालले किन घाटा व्यापार सहनुपरेको छ ?

उत्तर : नेपालले जनशक्ति पलायन, घरेलु प्रकृतिका उत्पादनमा मात्र सीमित, औद्योगिकीकरणप्रतिको निष्क्रियता, नेपाली मुद्राको अवमूल्यन जस्ता कारणले घाटा व्यापार सहनुपरेको छ । 

 

(ङ) पाठको पहिलो अनुच्छेदमा कुन विषयवस्तु समेटिएको छ ?

उत्तर : पाठको पहिलो अनुच्छेदमा शीर्षकको परिचयसँग सम्बन्धित विषयवस्तु समेटिएको छ ।

 

 

४. नेपालको वैदेशिक व्यापारप्रबन्धको पहिलो अनुच्छेद शिक्षकबाट सुनेर लेख्नुहोस् ।

 

कुनै पनि वस्तु वा मालसामान खरिद अथवा उत्पादन गरेर बिक्रीवितरण गर्ने कार्यलाई व्यापार भनिन्छ । व्यापारको सामान्य उद्देश्य नाफा कमाउनु हो तथापि यसलाई नाफामूलक र सेवामूलक व्यवसाय मान्ने गरिन्छ । वस्तु तथा मालसामानको प्रकृतिअनुसार व्यापारलाई सामान्यतः स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी तीन भागमा वर्गीकरण गर्ने गरिन्छ । स्थानीय व्यापार भन्नाले स्थानीय स्तरमा उत्पादित वस्तु वा मालसामान त्यहीँ बेचबिखन गर्ने भन्ने बुझिन्छ । राष्ट्रिय व्यापारअन्तर्गत देशका कुनै भूभागमा वस्तु वा मालसामान उत्पादन गरी देशभित्रकै अर्को स्थानमा किनबेच गरिन्छ । यदि अर्को मुलुकमा वस्तु वा मालसामान किनबेच हुन्छ भने त्यसलाई अन्तर्राष्ट्रिय व्यापार भनिन्छ ।

 

 

५. नेपालको वैदेशिक व्यापारप्रबन्ध पढी दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :

 

(क) व्यापार भन्नाले के बुझिन्छ ?

 

उत्तर : व्यापार भन्नाले कुनै पनि वस्तु वा मालसामान खरिद अथवा उत्पादन गरेर बिक्रीवितरण गर्ने कार्यलाई बुझिन्छ । यसलाई नाफामूलक तथा सेवामूलक व्यवसाय मान्ने गरिन्छ ।

 

(ख) सेन वंशका पालामा कस्ता व्यावसायिक वर्ग विभाजन गरिएका थिए ?

 

उत्तर : सेन वंशीका पालामा कृषि तथा घरेलु उद्योगको राम्रो विकास भएको थियो । त्यस वेलामा चर्मकार, लौहकार, सुवर्णकार, ताम्रकार जस्ता व्यावसायिक वर्ग विभाजन गरिएको थियो ।

 

(ग) नेपालबाट प्रमुख रूपमा विदेश निर्यात हुने वस्तु कुन कुन हुन्

 

उत्तर : नेपालमा विदेशी पर्यटकको आगमनसँगै नेपाली हस्तकला, वास्तुकला, तयारी पोसाक, गलैँचा जस्ता वस्तु तेस्रो मुलुकमा निर्यात हुने गरेका छन् । त्यस्तै यार्चागुम्बा, चिया, कफी, अलैंची, जुट जडीबुटी र नगदेबालीले पनि विश्वबजारमा निर्यात भई बजार पाएका छन् । गोलभेडा, खुर्सानी तितेकरेला, काउली, बन्दा, आलु जस्ता तरकारीहरू खाडी मुलुकमा निर्यात हुने गरेका छन् । यसरी नेपालबाट प्रमुख रूपमा कृषिजन्य वस्तु, तयारी पोसाक, जडीबुटी र पशुजन्य कच्चा पदार्थ विदेश निर्यात हुने वस्तु हुन् ।

 

(घ) नेपालले कसरी विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छ ?

 

उत्तर : नेपालले विश्व बजारमा प्रतिस्पर्धा गर्न जनशक्ति पलायनलाई रोक्नुपर्छ र स्वदेशमै रोजगारीका अवसरहरू प्रदान गर्न सक्नुपर्दछ । त्यसै गरी कपडा, जुत्ताचप्पल, कागज, खाने तेल जस्ता उपभोग्य वस्तुमा आत्मनिर्भर बन्नुपर्छ । कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनेर कृषिजन्य आयातलाई कम गर्नुपर्छ । विदेशमा उच्च माग भएका गलैँचा, मूर्ति जस्ता वस्तुलाई घरेलु उत्पादनबाट औद्योगिक उत्पादनमा रूपान्तरण गर्नुपर्छ । त्यस्तै पशुजन्य उत्पादनमा पनि आत्मनिर्भर बन्नुपर्छ । विदेशमा अत्यधिक माग भएका चिया, अलैंची, कफी, मह आदिको उत्पादन बढाउने र कृषिजन्य उत्पादनलाई निर्यात गरी नेपालले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छ।

 

 

६. नेपालको वैदेशिक व्यापारप्रबन्धको चौथो अनुच्छेदबाट चारओटा प्रश्न बनाउनुहोस् र तिनका उत्तर पनि लेख्नुहोस् ।

 

उत्तर : चौथो अनुच्छेदबाट चारओटा प्रश्न र तिनका उत्तर :

 

(क) नेपालको कुन काललाई अर्थतन्त्रको स्वर्णकाल मानिन्छ

उत्तर : नेपालको मल्लकाललाई अर्थतन्त्रको स्वर्णकाल मानिन्छ ।

 

(ख) कुन स्थानमा नेपाली वाणिज्य दूतावास स्थापना गरिएको थियो ?

उत्तर : तिब्बतको ल्हासामा नेपाली वाणिज्य दूतावास स्थापना गरिएको थियो ।

 

(ग) मल्लकालमा कुन कुन वस्तु आयात र निर्यात गरिन्थ्यो ?

उत्तर : मल्लकालमा खाद्यान्न, औषधीजन्य जडीबुटी, धातुका सामान, धूप, रङ, हाड, छाला आदि निर्यात गरिन्थ्यो भने मसला, नुन, रेसमी कपडा आदि निर्यात गरिन्थ्यो ।

 

(घ) व्यापारको विकास र विस्तारमा कुन कुन मल्ल राजाहरूको विशेष योगदान रहेको थियो

उत्तर : व्यापारको विकास र विस्तारमा महेन्द्र मल्ल प्रताप मल्ल र सिद्धिनरसिंह मल्लको विशेष योगदान रहेको थियो

 

 

७ व्याख्या गर्नुहोस् :

दिगो अर्थतन्त्रका लागि सन्तुलित वैदेशिक व्यापार अनिवार्य सर्त हो ।

 

प्रस्तुत प्रबन्धांश नेपालको वैदेशिक व्यापारशीर्षकको प्रबन्धबाट लिइएको हो । यसका लेखक कक्षा ८ नेपाली पाठ्यपुस्तक लेखक समूहमध्येका एक हुन् । नेपालमा दिगो अर्थतन्त्रको विकास गरेर विभिन्न देशबिचको व्यापारलाई व्यवस्थित र सन्तुलित बनाउनु पर्ने सन्दर्भ प्रबन्धांशमा अभिव्यक्त गरिएको छ ।

 

कुनै पनि राष्ट्रको अर्थतन्त्रलाई दिगो बनाउनका लागि वैदेशिक व्यापारलाई व्यवस्थित र सन्तुलित बनाउनु आवश्यक हुन्छ । आयात बढी र निर्यात कम भएमा व्यापार घाटा हुन्छ । यसले देशको अर्थतन्त्र असन्तुलित बन्दै जान्छ । नेपालको वैदेशिक व्यापार पनि घाटामा रहेको छ । नेपालको अर्थतन्त्रलाई सबल बनाउन महँगा र विलासी वस्तुको आयातलाई निरुत्साहित गर्नुपर्छ । बरु त्यस्ता वस्तु स्वदेशमा नै उत्पादन गर्न प्रोत्साहन गर्नुपर्छ । नेपालको वैदेशिक व्यापार र बाह्य पर्यटनलाई समानान्तर रूपमा प्रवर्धन गर्न सक्यो भने तीव्र गतिमा आर्थिक विकास हासिल गर्न सकिन्छ । त्यस्तै विदेश अध्ययनका नाममा भइरहेको स्वदेशी मुद्राको बहिगर्मनलाई रोक्नुपर्छ । कृषिमा आत्मनिर्भर बनी कृषिजन्य उत्पादनको आयात कम गर्नुपर्छ । विदेशमा उच्च माग भएका वस्तुको उत्पादन बढाउनुपर्छ ।

 

यसप्रकारका कार्य गर्न सकेको खण्डमा नेपालको वैदेशिक व्यापारलाई व्यवस्थित र सन्तुलित बनाउन सकिन्छ । सन्तुलित वैदेशिक व्यापार नेपालको दिगो अर्थतन्त्रको लागि अनिवार्य सर्त हो भन्ने कुरा माथिको प्रबन्धांशले स्पष्ट पारेको छ ।

 

 

८. नेपालले वैदेशिक व्यापार लाभदायक हुन्छ ।अनुच्छेद पढी सार लेख्नुहोस् ।

 

उत्तर : नेपालको वैदेशिक व्यापार लाभदायक हुन्छ ।अनुच्छेदको सार :-

 

नेपालले वैदेशिक व्यापार घाटा निराकरणका लागि आफ्ना जनशक्तिलाई रोजगारीको अवसर सिर्जना गर्दै कपडा, जुत्ताचप्पल, कागज, खाने तेल जस्ता उपभोग्य वस्तुमा आत्मनिर्भर हुनुपर्छ । कृषिजन्य आयातलाई कम गर्दै व्यावसायिक र आधुनिक कृषि गर्नु अपरिहार्य छ । कृषिजन्य, पशुजन्य र फलफूलको उत्पादनमा आत्मनिर्भर बन्नुपर्छ । विदेशमा अत्यधिक माग भएका वस्तुको उत्पादन बढाउँदै कृषिजन्य उत्पादनलाई निर्यात गर्न सक्नुपर्छ ।

 

 

९. विदेशमा उच्च माग हुने घरेलु उत्पादनलाई औद्योगिक उत्पादनमा कसरी रूपान्तरण गर्न सकिन्छ ? आफ्ना तर्क प्रस्तुत गर्नुहोस् ।

 

उत्तर : नेपाली हस्तकला, वास्तुकला, तयारी पोसाक गलैँचा जस्ता घरेलु उत्पादन विदेशमा निर्यात हुने गरेको छ । गलैंचा, मूर्ति लगायतका घरेलु उत्पादनको विदेशमा उच्च माग रहेको छ । यस्ता वस्तुहरूको हामीले उत्पादन बढाउन सकिरहेका छैनौं । यस्ता वस्तुको उत्पादन बढाउनका लागि औद्योगिक उत्पादनमा रूपान्तरण गर्नु आवश्यक छ। घरेलु प्रक्रियाबाट मात्र उत्पादन बढाउन सकिँदैन ।

 

विदेशमा उच्च माग हुने गरेका घरेलु उत्पादनलाई औद्योगिक उत्पादनमा रूपान्तरण गर्न सर्वप्रथम त लगानी बढाउनुपर्छ । आधुनिक मेसिनको प्रयोग गर्नुपर्छ । यस्ता पेसाप्रति मानिसको आकर्षण बढाउनुपर्छ । कामदारका लागि तालिमको व्यवस्था गर्नुपर्छ । आधुनिक मेसिन प्रयोग गर्न सक्ने सिप र क्षमताको विकास गर्नुपर्छ । विद्युतलाई सस्तो र भरपर्दो बनाउनु आवश्यक छ । यसरी हामीले घरेलु उत्पादनलाई औद्योगिक उत्पादनमा रूपान्तरण गर्न सक्छौँ ।

 

 

१०. उद्योगको महत्त्वशीर्षकमा आफ्नो विचार लेख्नुहोस् ।

 

उद्योगको महत्त्व

 

उद्योगका माध्यमबाट विभिन्न किसिमका उपभोग्य वस्तुको उत्पादन गर्न सकिन्छ । घरेलु उत्पादनबाट सीमित मात्रामा वस्तु उत्पादन गर्न सकिन्छ भने उद्योगका माध्यमबाट कम समयमा धेरै वस्तुको उत्पादन गर्न सकिन्छ । कपडा, जुत्ताचप्पल, कागज, खाने तेल जस्ता दैनिक उपभोग्य वस्तुको उत्पादन उद्योगकै माध्यमबाट गर्न सकिन्छ । औद्योगिकीकरणमा जोड दिएका राष्ट्रहरूको अर्थतन्त्र सबल रहेको छ । उनीहरू आत्मनिर्भर बनेका छन्, समृद्ध बनेका छन् । त्यहाँ रोजगारीका अवसरहरू पनि प्रशस्तै रहेका छन् । तसर्थ दैनिक आवश्यकता पूरा गर्ने उपभोग्य वस्तुको उत्पादन गर्न, रोजगारीका अवसरहरू वृद्धि गर्न, सबल र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न उद्योगको महत्त्व रहेको छ ।

 

 

१२. दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिपोट गरी सारांश लेख्नुहोस् :

 

चारओटा बुँदा टिपोट :

 

(क) पाल्पा, भोजपुर, चितवन, नुवाकोट, जुम्ला आदि स्थानका विभिन्न उत्पादनले देशका विभिन्न स्थानमा बजार पाउनु

 

(ख) जुम्ला, सोलुखुम्बु र मुस्ताङका स्याउ, गोरखाको सुन्तला, रामेछापको जुनारको खोजी बढ्नु 

 

(ग) मुलुकमा प्रायः सबै ठाउँमा यातायात पुग्नु

 

(घ) यातायात र सञ्चारले जनताका भावना र सम्बन्ध जोड्नु ।

 

साराश :

 

यातायात, सञ्चार र आन्तरिक व्यापार

 

विभिन्न स्थानका विभिन्न उत्पादनले देशका विभिन्न स्थानमा बजार पाएका छन् । जुम्ला, सोलुखुम्बु र मुस्ताङका स्याउ, गोरखाको सुन्तला, रामेछापको जुनारको खोजी बढेको छ । मुलुकका प्रायः सबै ठाउँमा यातायात पुगेकाले यसले ठाउँलाई मात्र नभई भावनालाई जोडेको छ ।

 

अनुच्छेदमा भएको शब्द : १००

 

सारांशमा भएको शब्द : ३५

This website uses cookies and asks your personal data to enhance your browsing experience. We are committed to protecting your privacy and ensuring your data is handled in compliance with the General Data Protection Regulation (GDPR).