You dont have javascript enabled! Please enable it!
Curriculum
Course: Class 8 Nepali Note
Login
Text lesson

पाठ 11 एकजोर जुत्ता

शब्दभण्डार

 

१. दिइएका शब्द र अर्थबारे छलफल गर्नुहोस् :

 

शब्द                 अर्थ

 

असार – सार नभएको, आषाढ महिना

खोटो – नचल्ने पैसा, सल्लाको चोप

वर – दुलाहा, नजिक

पक्ष – विवादको एक पाटो, पन्ध्र दिन

फल – परिणाम, फलफूल

पासो – जाल, झेल

नगर – सहर, निषेध

जग – पानी खाने भाँडो, घरको आधार

नाल – बन्दुकको नली फोहोर बग्ने बाटो

हुस्सु – कुहिरो, मूर्ख

 

 

२. दिइएका शब्द पढ्नुहोस् र शिक्षकसँग छलफल गरी तिनको अर्थ लेख्नुहोस् :

 

शब्द                  अर्थ

 

सभ्य – शिष्ट, भद्र

मलिन – अँध्यारो, मलिनो

दोमन – दोधार, यसो गरूँ कि उसो गरूँको स्थिति

खिन्न – उदास, दिक्दार

जिज्ञासु – जान्न चाहने, जिज्ञासा राख्ने

आश्चर्यपूर्ण – आश्चर्यजनक, छक्क पार्ने

गम्भीर – गहिरो, जटिल, शान्त

खुलस्त – स्पष्ट, नलुकाईकन व्यक्त गरिएको

अचानक – एक्कासी, अकस्मात्, अपर्झट

तरङ्ग – उत्साह, चञ्चलताको अवस्थामा मनमा उठ्ने तर्कविर्तक

निवास – आश्रम, घर

 

 

३. दिइएको अनुच्छेदबाट अनेकार्थी शब्द टिपोट गरी तिनको अर्थ लेख्नुहोस् :

 

साल : वर्ष, सखुवा, सालको रुख

ताप : तातोपन, मानसिक दुःख वा पिर

पुतली : खेलौना, किराको एक जाति

दाना : पशपन्छीको आहार, फलफूलको गेडो

ताल : ठुलो पोखरी, चाल वा पारा

 

 

४. दिइएका अनेकार्थी शब्दलाई फरक फरक अर्थ आउने गरी वाक्यमा प्रयोग गर्नुहोस् :

 

उत्तर : उसलाई प्रश्नको उत्तर लेख्न आएन । उसको घर चोकबाट उत्तरतिर पर्छ ।

 

कल : मैले लुगा सिउने कल किन्ने विचार गरेँ । साना साना कुरामा कल गर्ने बानी राम्रो होइन ।

 

गोल : आजको फुटबल खेलमा मैले निर्णायक गोल गरेँ । विश्वकर्मा दाइ गोल बनाउन जङ्गलतिर लाग्नुभयो ।

 

तर : मलाई दुधको तर मन पर्दैन । हरि आयो तर श्याम आएन ।

 

मास : मलाई मासको दाल मिठो लाग्छ । असार मासमा धेरै पानी पर्छ ।

 

हार : उसले श्रीमतीलाई हार किनिदियो । आजको खेलमा हाम्रो क्लबको हार भयो ।

 

 

५. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :

 

किनमेल : म शनिवार बजार गई किनमेल गर्छु 

सप्तरङ्गी : इन्द्रेनी लागेको बेलामा देखिने सप्तरङ्गी दृश्यले  मोहित पार्छ । 

पुलकित : भाइको मुहार खेलौना पाएर खुसीले पुलकित भएको छ । 

अचानक : अचानक कति ठूलो पानी पर्‍यो ।

शङ्कालु : कसैमाथि धेरै शङ्कालु बन्नु हुँदैन ।

खुलस्त : हामीले आफ्ना मनका कुरा खुलस्तसँग राख्नुपर्छ । 

संवाद : ओमकार टेलिभिजनको पञ्चामृतकार्यक्रममा बोलिने संवाद साह्रै मन पर्छ ।

निन्याउरो : मन दुखी हुँदा अनुहार निन्याउरो हुन्छ ।

 

 

 

बोध तथा अभिव्यक्ति

१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :

 

 तीक्ष्ण, आशङ्का, काँपिरहेको, नानाभाँती, शङ्कालु, टिलपिलाउनु, मतमतान्तर, परिस्थिति

 

 

२. एक जोर जुत्ताकथा पालैपालो सस्वरवाचन गर्नुहोस्।

 

= शिक्षक अनुसार गर्नुहोस ।

 

 

३. एक जोर जुत्ताकथा पढी दिइएका प्रश्नको मौखिक उत्तर दिनुहोस् : 

 

(क) कथा कुन घटनाबाट प्रारम्भ भएको छ ?

= कथा गुलाफीले भाँडा माझेको प्रसङ्गबाट प्रारम्भ भएको छ ।

 

(ख) हर्कबहादुरको परिवारमा कति जना सदस्य छन् ?

= हर्कबहादुरको परिवारमा छ जना सदस्य छन् ।

 

(ग) गुलाफीले बजारबाट के ल्याइदिन अनुरोध गरिन्

= गुलाफीले बजारबाट एक जोर जुत्ता ल्याइदिन अनुरोध गरिन् ।

 

(घ) जुत्ताको रङ कस्तो थियो ?

= जुत्ताको रङ कालो थियो ।

 

(ङ) कथामा कति जना पात्र छन् ?

= कथामा सात जना पात्र छन् ।

 

 

४. एक जोर जुत्ताकथाको एक दिन गुलाफी… एक दिन भाँडो फुट्छ ।कथांश मौन पठन गरी दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

 

(क) कथांशमा कस्तो परिवेश देखाइएको छ ?

 

कथांशमा पारिवारिक मतमतान्तरको परिवेश देखाइएको छ । साँझको समयमा हर्कबहादुरका परिवारका सबै सदस्य जम्मा भएर जुत्ताको विषयलाई लिएर नकारात्मक आशङ्का व्यक्त गरिएको छ । जुत्ता किनेर ल्याइदिएको व्यक्ति जसमाथि आशङ्का गरिएको छ ऊ स्वयम् यसलाई चियाएर हेरिरहेको परिवेशसमेत कथांशमा देखाइएको छ ।

 

(ख) गुलाफीको परिवारमा किन हलचल आयो ?

 

गुलाफीले पात्रलाई एक जोर जुत्ता ल्याइदिन आग्रह गरेबमोजिम उनले जुत्ता ल्याइदिएका थिए । त्यही जुत्ताको विषयलाई लिएर गुलाफीका बुबाआमाले विभिन्न आशङ्का व्यक्त गरेका छन् । त्यही आशङ्काका कारण गुलाफीको परिवारमा हलचल आयो ।

 

 

५. एक जोर जुत्ताकथा पढी दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :

 

(क) हर्कबहादुरको पारिवारिक अवस्था कस्तो छ ?

 

कथामा उल्लेख गरिएअनुसार हर्कबहादुरको परिवारको अवस्था सामान्य खालको रहेको छ । उनको दुइटा घर भए पनि दुइटै घर कच्ची रहेका छन् । एउटा घर भाडामा लगाएका छन् । गुलाफीले पात्रलाई जुत्ता किनिदिन गरेको आग्रहले पनि हर्कबहादुरको पारिवारिक अवस्था झल्काउँछ । छ जना सदस्य रहेका छन् उनको परिवारमा । मिहिनेत गर्ने, इमानदार र शिक्षालाई प्राथमिकता दिने सामान्य आर्थिक अवस्था भएको परिवार हर्कबहादुरको रहेको छ।

 

(ख) गुलाफीलाई मात्र किन जुत्ता किनिएको रहेछ ?

 

गुलाफीलाई पात्रको घरधन्दाका लागि हर्कबहादुरले खटाएका हुन्छन् । गुलाफीले दसैँमा लगाउने जुत्ता नभएकाले पात्रलाई एकजोर जुत्ता ल्याइदिन आग्रह गरेकी हुन्छिन् । पात्रले गुफालीँका भाइबहिनीलाईसमेत जुत्ता ल्याइदिने विचार गरेका हुन्छन् तर सामान किन्दा उनको पैसा सँकिएकाले गुलाफीलाई मात्र जुत्ता किनिएको रहेछ ।

 

(ग) हर्कबहादुरको घरमा कसरी तनावको वातावरण सिर्जना भयो ?

 

– ‘पात्रले गुलाफीलाई ल्याइदिएको एकजोर जुत्ताका कारण हर्कबहादुरमा गाउँलेले विभिन्न कुरा काट्छन् भन्ने आशङ्का उब्ज्यो । उनले पात्रको नियत पनि राम्रो देखेनन् । पात्रले आफ्नी छोरीप्रति कुदृष्टि राखेर जुत्ता ल्याइदिएको भन्ने उनले सोचेका थिए । तसर्थ एकजोर जुत्ताका कारण हर्कबहादुरको घरमा तनावको वातावरण सिर्जना भयो ।

 

(घ) एकजोर जुत्ताकथाबाट पाइने सन्देश के हो ?

 

– ‘एकजोर जुत्ताकथा महेशविक्रम शाहद्वारा रचिएको मनोवैज्ञानिक कथा हो । कथामा मूलतः पात्रले गुलाफीलाई ल्याइदिएको एकजोर जुत्ताका कारण हर्कबहादुरको परिवारमा सिर्जना भएको तनावको वातावरणलाई उल्लेख गरिएको छ । बालबालिका, युवा, प्रौढ, वृद्धवृद्धा आदिको मनोविज्ञान एकै किसिमको हुँदैन । प्रत्येक व्यक्तिको फरक फरक मनोविज्ञान रहेको हुन्छ । व्यक्तिको मनोविज्ञानलाई सामाजिक परिवेशले प्रत्यक्ष प्रभाव पारेको हुन्छ । सामाजिक र पारिवारिक परिवेशले व्यक्तिमा कस्तो प्रभाव पार्दछ भन्ने कुरा यस कथामा अभिव्यक्त गरिएकाले यस कथाको सन्देश पनि यही हो ।

 

 

६. भाव विस्तार गर्नुहोस् :

 

 एउटा शान्त घरको तलाउमा तनावरूपी तरङ्ग सिर्जना भएको थियो ।

 

माथिको कथांश एकजोर जुत्ताकथाबाट साभार गरिएको हो । यस कथामा कथाकार महेशविक्रम शाह हुन् । यो कथांश पात्रको भनाइ हो । कथांशले वक्तामा रहेको आत्मग्लानिको भाव अभिव्यक्त गरेको छ।

 

पात्रले हर्कबहादुरको घरमा आफूले ल्याइदिएको जुत्ताको कारण मतमतान्तर भइरहेको कुरा थाहा पाउँछन् । हर्कबहादुर र उनकी श्रीमतीले पात्रले आफ्नी छोरी गुलाफीमाथि कुदृष्टि राखेर जुत्ता ल्याइदिएको शङ्का व्यक्त गर्दछन् । परिवारका सबै सदस्य साँझपख जम्मा भएर गुलाफीलाई केरकार गरिरहेका हुन्छन् । गुलाफी भने आँखामा आँसु टिलपिल पारिरहेकी हुन्छिन् । यस्तो दृश्य देखेपछि पात्रलाई आत्मग्लानि हुन्छ । शान्त परिवारमा आफूले तनाव थपिदिएको उनलाई महसुस हुन्छ । यस्तो परिस्थिति आउने थाहा पाएको भएँ गुलाफी रिसाए पनि वा उसले दुःख माने पनि जुत्ता ल्याउने थिइनँ भन्ने महसुस पात्रलाई हुन्छ ।

 

यसप्रकार मानिसको मनोविज्ञानलाई सामाजिक तथा पारिवारिक अवस्थाले समेत प्रभाव पार्ने भएकाले पात्रले जस्तो आत्मग्लानि गर्नु नपरोस् भन्नका लागि परिस्थितिको आँकलन गरेर मात्र कदम चाल्नु उपयुक्त हुन्छ। नत्र भने शान्त परिवारमा तनावको वातावरण सिर्जना हुन सक्छ भन्ने भाव माथिको कथांशले स्पष्ट पारेको छ ।

 

 

७. एकजोर जुत्ताकथाको सुरु, बिच र अन्तिममा के के घटना घटेका छन् ? मुख्य मुख्य घटनाको सूची बनाउनुहोस् ।

 

– ‘एकजोर जुत्ताकथाको सुरु, बिच र अन्तिममा घटेका मुख्य मुख्य घटनाको सूची :- 

(क) हर्कबहादुरको परिवारमा उनकी पत्नी, जेठी छोरी गुलाफीसहित छ जना हुनु 

(ख) उनीहरू पुरानो घरमा बस्नु र नयाँ घरमा पात्र भाडामा बस्नु 

(ग) पात्रको घरभन्दाका लागि हर्कबहादुरले गुलाफीलाई खटाउनु 

(घ) गुलाफी इमानदार, शिष्ट र सभ्य हुनु

(ङ) गुलाफीले पात्रलाई बजारबाट एकजोर कालो जुत्ता ल्याइदिन आग्रह गर्नु 

(च) पात्रले जुत्ताको नाप सोध्दा गुलाफीले धागोको नापो दिनु

(छ) सदरमुकामको बजारमा पात्रले आफूलाई चाहिने सामान किन्नु

(ज) परिवारका अन्य सदस्यलाई पनि पात्रले जुत्ता किनिदिने सोच्नु तर पैसाका कारण गुलाफीलाई मात्र किनिदिनु

(झ) गुलाफीलाई जुत्ता खुब मन पर्नु

(ञ) भोलिपल्ट भने गुलाफी र उनका भाइबहिनीको व्यवहारले मात्र आश्चर्यमा पर्नु

(ट) हर्कबहादुर र पात्रका बिचमा जुत्ताको विषयलाई लिएर अपुरो सम्वाद हुनु 

(ठ) एक दिन साँझ हर्कबहादुरको परिवारमा जुत्ताको विषयलाई लिएर मतमतान्तर रहेको पात्रले थाहा पाउनु 

(ड) आफूले ल्याइदिएको जुत्ताको कारण शान्त परिवारमा तनाव सिर्जना भएकामा पात्र दुःखी हुनु

(ढ) भोलिपल्ट गुलाफीले पात्रलाई जुत्ता फिर्ता गर्नु 

 

 

८. एकजोर जुत्ताकथाको कथासार लेख्नुहोस् ।

 

 एकजोर जुत्ताकथाको कथासार :-

 

हर्कबहादुरको परिवारमा उनकी पत्नी, जेठी छोरी गुलाफीसहित छ जना हुन्छन् । उनका दुईओटा घरमध्ये उनीहरू पुरानो घरमा बस्छन् भने नयाँ घरमा पात्र भाडामा बसेका हुन्छन् । पात्रको घरभन्दाका लागि हर्कबहादुरले गुलाफीलाई खटाएका हुन्छन् । गुलाफी कामप्रति इमानदार, व्यवहारमा शिष्ट र सभ्य हुन्छिन् । बजार जान लागेको कुरा थाहा पाएपछि गुलाफीले पात्रलाई बजारबाट एकजोर कालो जुत्ता ल्याइदिन आग्रह गर्छिन् । पात्रले जुत्ताको सोध्दा गुलाफ धागोको नापो दिन्छिन् । सदरमुकामको बजारमा पात्रले आफूलाई चाहिने सामान किन्छन् । हर्कबहादुरको परिवारका अन्य सदस्यलाई पनि पात्रले जुत्ता किनिदिने सोच्छन् तर पैसा अभावका कारण गुलाफीलाई मात्र किनिदिन्छन् । अरूलाई भने चकलेट मात्र किनिदिन्छन् । गुलाफीलाई जुत्ता खुब मन पर्छ । भोलिपल्ट गुलाफी र उनका भाइबहिनीको व्यवहारले मात्र आश्चर्यमा पर्छन् तर कारण भने थाहा पाउँदैनन् । हर्कबहादुर र पात्रका बिचमा जुत्ताको विषयलाई लिएर अपुरो सम्वाद हुन्छ । एक दिन साँझ हर्कबहादुरको परिवारमा जुत्ताको विषयलाई लिएर मतमतान्तर रहेको पात्रले थाहा पाउँछन् ।

 

आफूले ल्याइदिएको जुत्ताको कारण शान्त परिवारमा तनाव सिर्जना भएकामा पात्र दुःखी हुन्छन् । भोलिपल्ट गुलाफीले पात्रलाई जुत्ता फिर्ता गर्छिन् ।

 

 

९. एकजोर जुत्ताकथाकी गुलाफीको चरित्र चित्रण गर्नुहोस् ।

 

– ‘एकजोर जुत्ताकथाकी गुलाफी हर्कबहादुरकी जेठी छोरी हुन् । हर्कबहादुरले आफ्नो नयाँ घरमा भाडामा बस्ने पात्रको घरधन्दाको जिम्मा गुलाफीलाई दिएका हुन्छन् । गुलाफीको घरमा आमाबुबाका अतिरिक्त दुई बहिनी र एक भाइ हुन्छन् । कथामा गुलाफी प्रमुख बालपात्रको भूमिकामा रहेकी छन् ।

 

कथाका घटनाक्रम पात्रले प्रस्तुत गरेका छन् । यस कथाको घटनाक्रम सुरुदेखि अन्त्यसम्म गुलाफीको केन्द्रीयतामा घुमेको छ । भूमिकाको हिसाबले कथाको प्रमुख पात्र उमेरका हिसाबले बालपात्रका रूपमा गुलाफी रहेकी छन् । उनी बालसुलभ गुणले भरिएकी पात्र हुन् । अन्य बालबालिकामा जस्तै उनमा पनि विभिन्न चाहना र रहरहरू रहेका छन् । घरका सबै काम गर्ने गुलाफी ऑफ्नो कामप्रति इमानदार छिन् भने व्यवहारमा शिष्ट र सभ्य पनि छिन् । दसैँमा लगाउनका लागि आफूले रोजेबमोजिमको जुत्ता पाएकोमा उनी असाध्यै खुसी छिन् । घरमा आमाबुबाले जुत्ताको विषयलाई लिएर झगडा सुरु भएपछि भने उनी साह्रै चिन्तित हुन्छिन् । आफूलाई मन परेको जुत्ता उनी फिर्ता गर्न विवस हुन्छिन् ।

 

 

१०. एकजोर जुत्ताकथामा कस्तो परिवेशको वर्णन गरिएको छ ? एक अनुच्छेदमा लेख्नुहोस् ।

 

– ‘एकजोर जुत्ताकथा मनोवैज्ञानिक विषयवस्तुमा आधारित कथा हो । कथामा कथाकार महेशविक्रम शाहले मूल रूपमा एकजोर जुत्ताका कारण सिर्जित मनोवैज्ञानिक परिवेशलाई वर्णन गर्ने जमर्को गरेका छन् । कथामा विषयवस्तुअनुकूलको सरल परिवेशको सिर्जना गरिएको छ । घरायसी सामान आवश्यक पर्दा किनमेल गर्न सदरमुकाम नै जानुपर्ने बाध्यता देखाइएबाट कथामा पहाडी भेगको ग्रामीण परिवेश रहेको कुरा अनुमान गर्न सकिन्छ । सामान्य आर्थिक अवस्था भएका हर्कबहादुरको कच्ची घरमा पात्र भाडामा बसेका छन् । उनको घरधन्दाका लागि हर्कबहादुरले गुलाफीलाई खटाएका छन् । सामाजिक परिवेशका कारण एकजोर जुत्तालाई बाहना बनाएर हर्कबहादुरको घरमा तनाव सिर्जना भएको परिवेशसमेत कथामा वर्णन गरिएको छ । यसका साथै दसैंमा नयाँ नयाँ लुगा किनमेल गर्ने र यसबाट बालबालिका बढी खुसी हुने सांस्कृतिक परिवेश पनि कथामा वर्णन गरिएको छ ।

 

 

११. गुलाफीले पात्रलाई जुत्ता फिर्ता दिनु उपयुक्त थियो कि थिएन ? ‘एकजोर जुत्ताकथाका आधारमा समीक्षा गर्नुहोस् ।

 

– ‘एकजोर जुत्ताकथा महेशविक्रम शाहद्वारा रचना गरिएको बालमनोविज्ञानमा आधारित कथा हो । कथामा कथाकार शाहले मूलतः सामाजिक र पारिवारिक परिवेशका कारण व्यक्तिमा पर्ने मनोवैज्ञानिक प्रभावलाई समेटेका छन् । गुलाफीले पात्रलाई जुत्ता फिर्ता दिनु सामाजिक र पारिवारिक परिवेशअनुसार उपयुक्त थियो ।

 

 

दसैँमा लगाउने जुत्ता नभएकाले गुलाफी पात्रलाई सदरमुकाम जाने भए एकजोर कालो जुत्ता ल्याइदिनु भन्ने आग्रह गर्छिन् । सदरमुकामको बजारमा आवश्यक सामान किनमेल गरिसकेपछि पात्र जुत्ता किन्न थाल्छन् । सुरुमा त घरका सबैलाई जुत्ता लैजाने सुर गरेका हुन्छन् तर पैसा नपुग्ने भएपछि अरुलाई चकलेट र गुलाफीलाई जुत्ता किनिदिन्छन् । गुलाफी आफूले खोजेअनुसारको जुत्ता पाएकोमा निकै खुसी हुन्छिन् । आमाबुबाले यो कुरा थाहा पाएपछि भने त्यही जुत्ताका कारण त्यो घरमा तनावको वातावरण सिर्जना हुन्छ । गुलाफीलाई मात्र जुत्ता किनिएको हुँदा समाजले के भन्ला ? त्यसको जबाफ के दिने भन्ने हर्कबहादुरको सोच रहेको देखिन्छ । त्यस्तै पात्रले गुलाफीप्रति कुदृष्टि राखेर जुत्ता किनिदिएको हो भन्ने बुझाइ गुलाफीका आमाबुबाको रहेको देखिन्छ । तसर्थ त्यो शान्त घरलाई शान्त पार्ने तत्कालीन उपाय भनेको नै गुलाफीले जुत्ता फिर्ता दिनु थियो । उनले जुत्ता फिर्ता नगर्दा त्यो घरको वातावरण अझ भयावह हुन सक्थ्यो । तसर्थ गुलाफीले पात्रलाई जुत्ता फिर्ता दिनु उपयुक्त थियो ।

This website uses cookies and asks your personal data to enhance your browsing experience. We are committed to protecting your privacy and ensuring your data is handled in compliance with the General Data Protection Regulation (GDPR).