You dont have javascript enabled! Please enable it!
Curriculum
Course: Class 8 Nepali Note
Login
Text lesson

पाठ १५ से गुम्बाको सुन्दरता

शब्दभण्डार

 

१. दिइएका अर्थ र तीसँग मिल्ने शब्दका बिच जोडा मिलाउनुहोस् :

जिल्ला वा प्रदेशको मुख्य प्रशासनिक स्थल = सदरमुकाम 

पहाडको बिचमा रहेको अर्धसम वा सम्म मैदान = पाटन 

बराबर उमेर भएको साथी = दौँतरी 

पहाडका दुई चुली माझको होचो ठाउँ = भन्ज्याङ 

रूप, गुण, स्वभाव, कला आदिले लठ्ठ पारिएको = मन्त्रमुग्ध 

गाईवस्तु चरन र गोठका लागि राखिएको बाँझो जग्गा = खर्क

 

२. दिइएका अर्थ बुझाउने शब्द से गुम्बाको सुन्दरतानियात्राबाट खोजेर लेख्नुहोस्:

एकान्त स्थल = अन्कन्टार 

मुटु छेड्ने खालको चिसो बतास = सिरेटो

मोल गर्न नसकिने = अमूल्य

कैलाश पर्वतमुनि रहेको ठुलो र पवित्र तिर्थस्थल मानिने एक प्रसिद्ध दह = मानसरोवर

बौद्ध धर्मालम्बी लामाहरूको देवालय =गुम्बा 

पहाडको खाँचबाट पहरामा ठक्कर खादें झरेको पानीको प्रवाह = छहरा

 

 

३. दिइएका पदावलीलाई वाक्यमा प्रयोग गर्नुहोस् :

पाइला चाल्नु= हाम्रो विद्यालयमा भखरै स्थापना भएको बालक्लबले बिस्तारै बिस्तारै पाइला चाल्दै छ ।

 

झमक्क साँझ = हामी हिँड्दा हिँड्दै झमक्क साँझ परेको पत्तै भएन ।

 

बास बस्ने ठाउँ = हामी पदयात्रामा जाँदा प्रतिकूल मौसमका कारण बास बस्ने ठाउँसम्म पनि पुग्न सकेनौँ।

 

निकै जोखिम = डोल्पाको उच्च हिमाली क्षेत्रको यात्रा निकै जोखिमपूर्ण रहेछ ।

 

सिउसिउ गर्नु = जाडोले होला भाइले जतिबेला पनि सिउसिउ गरिरहेको छ ।

 

नामी ओखती =  आधा किरा र आधा बिरुवाको रूपमा हुने यार्चागुम्बालाई नामी ओखतीको रूपमा लिने गरिन्छ ।

 

पहाडका तरेली  = हिँड्दै जाँदा पहाडका तरेलीहरूमा ढकमक्क लालीगुराँस फुलेका थिए।

 

प्रमत्त पारा = रामको प्रमत्त पारा हामी कसैलाई मन परेन ।

 

हिमाली खोला =  छो रोल्पाको पदयात्रामा अधिकांश समय हिमाली खोलाको तिरैतिर हिँड्नु पर्ने रहेछ ।

 

 

४. दिइएका शब्द प्रयोग गरी अनुच्छेद तयार पार्नुहोस् :

उत्पादन, बेरोजगार, निर्यात, नगदेबाली, उर्वर, आत्मनिर्भर, प्रोत्साहन, आधुनिक

 

उत्तर = तेह्रथुमका किसानहरू परम्परागत बाली लगाउन छाडेर नगदेबालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँका बेरोजगार युवाहरू रोजगारीको खोजी गर्दै विदेश पलायन हुन थाले पछि किसानहरूले परम्परागत खेती गर्न छाडेर नगदेबाली सुरु गरेका हुन् । तेहथुमका किसानले केही वर्ष यता धान, मकै, कोदो लगायतका बालीबाट राम्रो आम्दानी नभएपछि अदुवा, अम्रिसो, अलैंची तथा तरकारी खेती सुरु गरेका छन् । अहिले त्यहाँको उर्वर भूमिमा विभिन्न नगदेबालीले भरिन थालेका छन् । राम्रै उत्पादन भएको कारण अलैंची तथा अदुवा विदेशमा समेत निर्यात हुने बताउँछन् । यहाँका किसानहरू आधुनिक तरिकाबाट खेती गरी नगदेबालीमा आत्मनिर्भर बन्दै छन् । यसका लागि स्थानीय तथा प्रदेश सरकारले पनि प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।

 

बोध र अभिव्यक्ति

३. ‘से गुम्बाको सुन्दरता’ नियात्रा पढी दिइएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :

क .डोल्पाको सदरमुकामको नाम के हो ?

उत्तर – डोल्पाको सदरमुकामको नाम दुनै हो ।

 

ख .कहाँ स्याउको राम्रो उत्पादन हुँदो रहेछ ?

उत्तर छेप्कामा स्याउको राम्रो उत्पादन हुँदो रहेछ ।

 

ग .कुन बजारमा यार्चागुम्बाको खोजी हुन थालेको छ ?

उत्तर- अन्तर्राष्ट्रिय बजारमा यार्चागुम्बाको खोजी हुन थालेको छ । 

 

घ.यार्चागुम्बा कहिलेदेखि टिप्न सुरु गरिन्छ ?

उत्तर = यार्चागुम्बा जेठको आधाआधीदेखि टिप्न सुरु गरिन्छ ।

 

ङ नियात्रामा से गुम्बाको चर्चा गरिएको प्रसङ्गभन्दा लगत्तैअगाडि कुन विषयको चर्चा गरिएको छ ?

उत्तर- नियात्रामा से गुम्बाको चर्चा गरिएको प्रसङ्गभन्दा लगत्तैअगाडि चिप्लेर लड्दैपड्दै तल फाँटमा पुगेको र आफैँले हिँडेको बाटो हेर्दा छाती त्रासले भुलुकभुलुक भएको विषयको चर्चा गरिएको छ ।

 

५. ‘ से गुम्बाको सुन्दरता’ नियात्राको से गुम्बा करिब ….. अद्भुत अनुभव गरेँ।अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

क. से गुम्बाका विशेषता लेख्नुहोस्?

उत्तर से गुम्बा करिब १,३०० वर्ष पुरानो गुम्बा हो । यहाँ पुराना र ऐतिहासिक बौद्धग्रन्थ थिए । ती छालाले मोरेर राखिएथे । यहाँ भदौमा जात्रा लाग्ने रहेछ । हरेक १२ वर्षमा ठूलो पूजा र मेला लाग्ने से गुम्बा रातो रङले रङ्गाइएको थियो । दुई दुई वर्षमा लामा फेरिने नियम रहेछ ।

ख. गाउँलेको आम्दानीको स्रोत के रहेछ ?

उत्तर गाउँलेको आम्दानीको स्रोतःचौरी, च्याङ्ग्रा, भेडा पालेर, आलु रोपेर, यार्चागुम्बा टिपेर आदि रहेछ ।

 

६. ‘से गुम्बाको सुन्दरता’ नियात्रा पढी दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :

(क) से फोक्सुन्डो तालबाट खसेको पानी कस्तो छ ?

उत्तर – भिरैभिर, ढुङ्गेनी खाँचबाट बगेको से फोक्सुन्डोको तालबाट खसेको पानी सङ्लो नदी भएर कञ्चन लहरसाथ बगेथ्यो । त्यो सफा, निलो र निर्मल थियो।

 

(ख) रिम्भो गाउँमा के के फल्दा रहेछन्?

उत्तर- ठाडै उकाली र मनै चिउचिउ पार्ने भिर काटेर माथि पाटन जस्तो ठाउँ रहेछ । त्यहाँबाट कान्जिरोवा, नोर्बुकाङ हिमाल र से फेक्सुन्डो छहरा देखिँदो रहेछ । ती मनमोहक दृश्य देखिने ठाउँपछि रिम्भो गाउँमा पुगिँदो रहेछ । त्यस रिम्भो गाउँमा फापर र आलु निकै फल्दा रहेछन् ।

 

(ग) धौलागिरिको दृश्य कस्तो थियो ?

उत्तर – ५३०० मिटरको सेला पास गरी भन्ज्याङमा पुगेपछि वरिपरि अनौठा अनौठा ढुङ्गेनी चुचुरा हिँउ लुकाएर ठडिएका थिए । थुम्का काला, खैरा र फुस्रा रङका थिए। पूर्वतिर रहेको धौलागिरिको सुन्दरता अद्भूत, अगणित र आलोक थियो ।

 

(घ) से गुम्बालाई किन प्राचीन गुम्बाका रूपमा लिइन्छ ?

उत्तर – से गुम्बा करिब १,३०० वर्ष पुरानो थियो । गुम्बाभरि पुराना र ऐतिहासिक बौद्धग्रन्थ थिए। ती छालाले मोरेर राखिएका थिए। त्यहाँ भएका यस्ता प्रमाणका आधारमा से गुम्बालाई प्राचीन गुम्बाका रूपमा लिइन्छ ।

 

७. व्याख्या गर्नुहोस् :

उत्तरतिर हिँउचुलीको झन् बढ्ता खात र आलोक थियो ।

उत्तर – माथिको वाक्यांश ‘ से गुम्बाको सुन्दरता शीर्षकको नियात्राबाट साभार गरिएको हो । यस नि यात्राका लेखक युवराज नयाँघरे हुन् । यस नियात्रामा लेखकले यात्रा वर्णनको क्रममा आफूले देखेका र भोगेका कुराहरूलाई समावेश गरेका छन् ।

लेखकले प्रकृतिको नियमलाई पनि आत्मसात् गरेको पाइन्छ । पृथ्वीको उत्तरी तथा दक्षिणी धुर्व अपेक्षाकृतरूपमा चिसो हुन्छ । जहाँ बढी चिसो हुन्छ त्यहाँ बढी हिँउ पर्नु स्वभाविक पनि हो । लेखक ५,३०० मिटरको सेला पास गर्ने भन्ज्याङमा पुग्दा वरिपरि अनौठा अनौठा ढुङ्गेनी चुचुरा हिँउ लुकाएर ठडिएका थिए । तिखा सुइरा जस्ता थुम्का काला, खैरा र फुस्रा रङका देखिन्थे । पूर्वतिर धौलागिरि र पुथा हिउँचुलीको सुन्दरता अद्भूत र अगणित देखिएको कुरा वर्णन गरेका छन् । जब सेतो र बाक्लो हिँउमा प्रकाश पर्दछ तब ती हिमालहरू उज्यालो प्रकाश र चमक दिएर टल्किन्छन् ।

यसरी लेखक डोल्पा जिल्लाको से गुम्बाको यात्रा गर्ने क्रममा जति उत्तरतिरको यात्रा गर्छन् उति हिँउचुलीको झन् बढ़ता खात र आलोक थियो भनेर वर्णन गरेका छन् ।

 

८. ‘ से गुम्बाको सुन्दरता’ नियात्राबाट तपाईले कुन कुन स्थानको जानकारी पाउनुभयो, सूची बनाउनुहोस् ।

उत्तर – से गुम्बाको सुन्दरता नियात्राबाट डोल्पाको जुफाल र सदरमुकाम दुनै बजारको जानकारी भयो । त्यसैगरी सुलीगाड, छेप्का, बोरिङ, रिग्मो गाउँ, सेला, लेखेढुङ्गा, जुम्ला, हुम्ला, जाजरकोट आदि स्थानको बारेमा जानकारी भयो । उक्त यात्राबाट से फोक्सुन्डो छहरा, से फोक्सुन्डो ताल, सागर र पेरी काप्पो नदी, मानसरोवर, धौलागिरि, पुथा, कान्जिरोवा, नोर्बुकाङ हिमालको बारेमा जानकारी भयो ।

 

९. डोल्पाको उच्च हिमाली क्षेत्रको जीवन शैलीबारे वर्णन गर्नुहोस् ।

उत्तर – डोल्पाको उच्च हिमाली क्षेत्रको जीवन शैली ज्यादै नै कष्टकर छ । त्यहाँको यातायातको साधन भनेको घोडा तथा खच्चड हुन् । तिनीहरूले नै सामान ओसार पोसार गर्दछन् । चौरी, च्याङ्ग्रा, भेडा पालेर, आलु रोपेर बिक्री वितरण गरेर आम्दानी गर्दारहेछन् । अतिरिक्त सिजनमा यार्चागुम्बा टिपेर बिक्री गरी आम्दानी गर्दारहेछन् । राम्रै उत्पादन हुने हिमाली फलफूल पनि यातायात र बजार व्यवस्थापन गर्न नसक्दा बारीभरि कुहिएर छरपष्ट हुने अवस्था छ । यस्ता कारणहरूले गर्दा डोल्पाको उच्च हिमाली क्षेत्रको जीवन शैली ज्यादै कष्टकर छ ।

 

१०. दिइएका बुँदाका आधारमा स्थान परिचय लेख्नुहोस् :

प्रदेश नम्बर दुईको राजधानीँ धनुषामा अवस्थित छ जनकपुर धाम । प्राकृतिक स्रोतसाधनले भरिपूर्ण, संस्कृतिको धनी र धार्मिक पर्यटकीय क्षेत्रको सम्भावना बोकेको जनकपुर आन्तरिक तथा वाह्य पर्यटकको रोजाइको केन्द्र बन्ने गरेको छ । राजर्षि जनकले राज्य गरेको भूमि, प्राचीन मिथिलाराज्यको राजधानी, भगवान् रामको ससुराली र आदर्श नारी सीताको जन्मभूमि हो जनकपुर ।

 

धार्मिक पर्यटकका लागि जनकपुर पशुपति पछिको द्रोस्रो ठूलो केन्द्र हो । जनकपुरमा रहेका पुराना राम मन्दिर, नौलखाका रूपमा परिचित ‘जानकी मन्दिर, राजा जनकले शिवधनुष पूजा गर्ने स्थानमा निर्मित ‘जनक मन्दिर’, लक्ष्मण मन्दिर, रत्नसागर मन्दिर, रङ्गभूमि मैदाननजिकैको हनुमानको सङ्कटमोचन मन्दिर’, स्वर्गद्वारी लगायतका धार्मिक स्थल एवम् तालतलैया सरोवर र दैनिक रूपमा हुने गङ्गा आरतीले धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्यस्थलका रूपमा चिनाएको छ ।

 

अग्निकुण्ड, विहारकुण्ड, रसिक निवास, हनुमान दरबार, रानीपाटी, पीपरा कुटी पनि आकर्षणका केन्द्र हुन । गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, ज्ञानकुप, अग्निकुण्ड, अरगजा, दशरथसर, गोडधोई, पापमोचनिसर, लक्ष्मणसागर पनि धार्मिक पर्यटकका लागि निकै उपयुक्त छन् ।

 

११. माथिको अनुच्छेदमा अनुशासनका बारेमा विषय विस्तार गरिएको छ। तपाईं जीवनशैली नै संस्कृतिको आधार होकथनलाई विस्तार गरी कक्षामा सुनाउनुहोस् ।

मान्छेले परम्परागत रूपमा एक पुस्ताबाट अर्को पुस्तासम्म सिक्दै र भोग्दै आएको समग्र जीवनशैली संस्कृति हो । संस्कृति मानव निर्मित अवधारणा हो । मानिसले खाना, छाना र नाना अर्थात गाँस, बास र कपासको आवश्यकता पूरा गर्ने सन्दर्भमा अथवा जीविकोपार्जन गर्ने क्रममा नै संस्कृतिको निर्माण भएको हो त्यसैले संस्कृति मानिसको जीवनशैली हो । संस्कृति मानिसको जीविकोपार्जनका सिलसिलामा आवश्यकता, परिस्थिति र भूगोलअनुसार निर्माण भएको हुन्छ । मानिसको उत्पत्ति पछि बसाइँसराइ र सभ्यता विकास हुने क्रममा विभिन्न जाति, वर्ग र समुदायमा विभाजन हुन थाले । यसरी विभाजित जाति, वर्ग र समुदाय अलग अलग ढङगले जीवनयापन गर्ने क्रममा अलगअलग प्रकारको संस्कृति निर्माण भएको हो । समग्रमा भन्दा कुनै पनि जाति, वर्ग र समुदायले मानिसको सृष्टिकालदेखि नै अनवरत रूपमा अवलम्बन गर्दै आएको, अङगीकार गर्दै आएको समग्र क्रियाकलापको समष्टि रूप नै संस्कृति हो ।

 

भाषिक संरचना र वर्णविन्यास

१.दिइएको अनुच्छेद पढी सरल, संयुक्त र मिश्र वाक्य टिपोट गरी कक्षामा छलफल गर्नुहोस् :

अनुच्छेद – हजुरबुबा पत्रिका पढ्नुहुन्छ । उहाँ रेडियो सुन्नुहुन्छ। उहाँ टेलिभिजन हेर्नुहुन्छ । हजुरबुबाले पत्रिका, रेडियो र टेलिभिजनका माध्यमबाट देशविदेशका खबर थाहा पाउनुहुन्छ । जब उहाँले नौला समाचार थाहा पाउनुहुन्छ तब हामीलाई वरिपरि राखेर सुनाउन थाल्नुहुन्छ । हिजो उहाँले नासाद्वारा अन्तरिक्षमा यान प्रक्षेपण गरेको समाचार थाहा पाउनुभएछ अनि यो चमत्कारका बारेमा हामीलाई पनि सुनाउनुभयो । उहाँको य किसिमको जानकारी भने नौलो थिएन । हामी उहाँको आनीबानीका सन्दर्भ परिचित थियौँ तर यस्तो चमत्कारपूर्ण समाचारका बारेमा बेखबर थियौँ ।

 

 

सरल वाक्य –एउटा उद्देश्य र एउटा विधेय भएको वाक्य सरल वाक्य हो । सरल वाक्यमा एकभन्दा बढी असमापिका क्रिया भए पनि समापिका क्रिया एउटा मात्र हुन्छ। जस्तै : सीता बजार गएर आई। बादल लागी पानी पर्यो ।

 

संयुक्त वाक्य – दुई वा दुईभन्दा बढी स्वतन्त्र उपवाक्य मिलेर बनेको वाक्यलाई संयुक्त वाक्य भनिन्छ । संयुक् वाक्यमा आएका उपवाक्यहरूमा समापिका क्रियाको अवस्थिति रहन्छ । संयुक्त वाक्यमा निरपेख्ष संयोजक लाग्दछ। जस्तै : बादल लाग्यो तर पानी परेन । म नुहाउँछु, तेल लगाउँछु र कपाल कोर्छु।

 

मिश्र वाक्य – एउटा प्रधान (प्रमुख) र एउटा आश्रित (अधीन) उपवाक्य मिलेर बनेको वाक्यलाई मिश्र वाक्य भनिन्छ । सापेक्ष संयोजकद्वारा यस्ता उपवाक्यहरू जोडिने भएकाले एउटा प्रमुख उपवाक्यको सेरोफेरोमा अन्य आश्रित उपवाक्यहरू आउने गर्दछन् । मिश्र वाक्यमा आउने उपवाक्यमा समापिका र असमापिका क्रियाका दुवै रूपको प्रयोग पाइन्छ। जस्तै : जसले मह काढ्छ, उसले हात चाट्छ । जहाँ मैदान छ, त्यहाँ खेल हुन्छ ।

 

सरल वाक्य

१. हजुरबुबा पत्रिका पढ्नुहुन्छ ।  २.उहाँ रेडियो सुन्नुहुन्छ । ३.उहाँ टेलिभिजन हेर्नुहुन्छ ।

 

संयुक्त वाक्य

१. हजुरबुबाले पत्रिका, रेडियो र टेलिभिजनका माध्यमबाट देशविदेशका खबर थाहा पाउनुहुन्छ ।

२. हिजो उहाँले नासाद्वारा अन्तरिक्षमा यान प्रक्षेपण गरेको समाचार थाहा पाउनुभएछ अनि यो चमत्कारका बारेमा हामीलाई पनि सुनाउनुभयो ।

३.उहाँको यस किसिमको जानकारी भने नौलो थिएन । 

४. हामी उहाँको आनीबानीका सन्दर्भ परिचित थियौँ तर यस्तो चमत्कारपूर्ण समाचारका बारेमा बेखबर थियौँ।

 

 मिश्र वाक्य

१. जब उहाँले नौला समाचार थाहा पाउनुहुन्छ तब हामीलाई वरिपरि राखेर सुनाउन थाल्नुहुन्छ

 

२.कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :

क.उषाले परीक्षा दिइन् अनि सफल भइन्। (सरल वाक्य)

उत्तर – उषाले परीक्षा दिएर सफल भइन् ।

 

ख.वीरमान तरकारी फलाउँछन् । वीरमान पैसा कमाउँछन्। (मिश्र वाक्य) 

उत्तर -जब वीरमान तरकारी फलाउँछन् तब पैसा कमाउँछन् ।

 

ग.हिउँद लाग्छ। हिमाल सेताम्मे देखिन्छ। (संयुक्त वाक्य)

उत्तर – हिउँद लाग्छ अनि हिमाल सेताम्मे देखिन्छ ।

 

घ.जब हाम्रो गाउँमा एम्बुलेन्स चल्न थाल्यो तब गाउँले खुसी भए। (सरल वाक्य) 

उत्तर – हाम्रो गाउँमा एम्बुलेन्स चलेर गाउँले खुसी भए।

 

ङ .आमा बजार जानुभएछ । आमाले किनमेल गर्नुभएछ । (संयुक्त वाक्य)

उत्तर -आमा बजार जानुभएछ र किनमेल गर्नुभएछ ।

 

च.आकाशमा बादल मडारियो । असिनापानी पर्यो । (मिश्र वाक्य) 

उत्तर – जब आकाशमा बादल मडारियो तब असिनापानी पयो ।

 

४. दिइएका वाक्यलाई संश्लेषण गर्नुहोस् :

बालकृष्ण सम साहित्यकार हुन्। उनले नाटक रचना गरेका थिए। उनले कविता रचना गरेका थिए। उनी नेपाली साहित्यमा अमर छन् ।

संश्लेषित वाक्य – साहित्यकार बालकृष्ण समले नाटक,कविता रचना गरेर नेपाली साहित्यमा अमर छन् ।

 

५. दिइएको संश्लेषित वाक्यलाई विश्लेषण गर्नुहोस् :

माघ महिनामा विद्यालयले हिउँदे बिदाको सूचना दिएपछि विद्यार्थी खुसी भएर आआफ्ना योजना बनाउँदै घर फर्किएका छन्।

विश्लेषित वाक्य – माघ महिनामा विद्यालयले हिउँदे बिदाको सूचना दियो । विद्यार्थी खुसी भए । विद्यार्थी आआफ्ना योजना बनाए । विद्यार्थी घर फर्किए। 

 

६.दिइएको अनुच्छेद पढी पदयोगबारे छलफल गर्नुहोस् :

उनीहरू बसबाट काठमाडौँसम्म पुगे । काठमाडौँमा धार्मिक, सांस्कृतिक ऐतिहासिकलगायत स्थल छन् । पशुपतिनाथ र बौद्धनाथको प्रसिद्धि अन्तर्राष्ट्रियस्तरसम्म पुगेको छ । उत्तरतिरका हिमशृङ्खलाको सुन्दरतासमेत अनुपम थियो । यही सुन्दरतालाई मानिसले नियालिरहेका थिए ।

 

७. दिइएका वाक्यलाई पदयोग गरी पुनर्लेखन गर्नुहोस् :

क.सबै साथीहरू आ आफ्नै काम मा व्यस्त छन् । 

उत्तर- सबै साथीहरू आआफ्नै काममा व्यस्त छन् ।

 

ख.आज मामा हरू हाम्रो घरमा आउनु हुन्छ । 

उत्तर- आज मामाहरू हाम्रो घरमा आउनु हुन्छ । 

 

ग. तपाईं सँग कति रुपियाँ छ

उत्तर- तपाईंसँग कति रुपियाँ छ ?  

 

घ. विद्यालयको नियम अनुसार काम गर्नु पर्छ ।

उत्तर-  विद्यालयको नियमअनुसार काम गर्नुपर्छ । 

 

ङ. बुबा बाहेक सबै जना आउनु भयो ।

उत्तर- बुबाबाहेक सबै जना आउनुभयो ।

 

सुनाइ र बोलाइ
१. सुनाइ पाठ १५ सुन्नुहोस् र दिइएका वाक्य ठिक भए ठिक र बेठिक भए बेठिक भन्नुहोस् :
क राजवंशी, धिमाल, सन्थाल, ताजपुरिया आदि जातिको प्राचीन थातथलो मध्य नेपाल हो ।

बेठिक

 
ख. सिरुवा पर्वमा खेतीपाती वृद्धिको कामना गरिन्छ । 

ठिक

ग. सिरुवा पर्वको दोस्रो दिन पानीसिरुवा पर्छ । 

=बेठिक

घ. सिरुवा पर्वको अवसरमा हाटमेला लाग्ने गर्छ। 

ठिक

 

२. सुनाइ पाठ १५ आधारमा दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

 

क सिरुवा पर्व कुन कुन जातिको प्रमुख पर्व हो ?

उत्तर- सिरुवा पर्व पूर्वी नेपालमा बसोबास गर्ने राजवंशी, धिमाल, सन्थाल, ताजपुरिया आदि आदिवासीको प्रमुख

पर्व हो ।

 

ख . सिरुवा पर्वमा कसरी शुभकामना आदानप्रदान गरिन्छ ?

उत्तर – सिरुवा पर्वमा प्रकृति पुजकहरूले ग्रामस्थान, बोटबिरुवा र माटाको पूजाआजा गरी एकआपसमा प्रगति र समृद्धिको शुभकामना आदनप्रदान गरिन्छ ।

 

ग. नववर्षका दिन कस्तो वस्त्र लगाइन्छ

उत्तर- नववर्षका दिन पवित्र वस्त्र लगाइन्छ ।

 

घ. सिरुवा पर्वका अवसरमा कहाँ ठुलो मेला लाग्छ ?

 

उत्तर- सिरुवा पर्वका अवसरमा मोरङ्को सुनबर्सीमा ठुलो मेला लाग्छ ।

This website uses cookies and asks your personal data to enhance your browsing experience. We are committed to protecting your privacy and ensuring your data is handled in compliance with the General Data Protection Regulation (GDPR).