You dont have javascript enabled! Please enable it!
Curriculum
Course: Class 9 Nepali Note
Login
Text lesson

पाठ १०. व्यक्तित्व विकासमा विद्यालयको भूमिका

शब्दभण्डार

 

१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :

 

अभिभारा : कुनै कामको जिम्मेवारी, उत्तरदायित्व

उजागर : बाहिर ल्याउनु, प्रकाश पार्नु

घगडान : खुब अनुभवी, धेरै सिपालु

शनै: शनै: बिस्तारै बिस्तारै

इच्छाशक्ति : कुनै इच्छा वा चाहना पूरा गर्ने उच्च अभिलाषा

समायोजन : वातावरण, परिस्थिति आदिसँग मिल्दोपन

 

 

२. दिइएका प्राविधिक र पारिभाषिक पद पदावलीको अर्थ लेख्नुहोस् :

 

बहुमुखी व्यक्तित्व : विभिन्न विषयको विशेषताले युक्त भएको व्यक्तिविशेषको निजीपन

वक्तृत्वकला : भाषण गर्ने वा प्रवचन दिने खुबी वा सिप

सहक्रियाकलाप : विद्यालयमा सञ्चालन गरिने पाठ्यक्रमका उद्देश्य पूरा गराउने विभिन्न गतिविधि जस्तै : वादविवाद, वक्तृत्वकला आदि ।

संवेगात्मक : लाज, डर, ईख, प्रेम, रिस आदि संवेग वा उत्तेजनाबाट उत्पन्न

वातावरण : प्रत्यक्ष वा अप्रत्यक्ष रूपले प्रभाव पार्ने आसपासको अवस्था वा परिवेश

ऊर्जा : कुनै वस्तुले उत्पन्न गर्न सक्ने सम्पूर्ण कार्यको योगफल, उत्साह, बल, शक्ति

 

 

३. दिइएका शब्दको उल्टो अर्थ दिने शब्द वक्तृताबाट खोजेर लेख्नुहोस् :

 

विनाश : विकास

आन्तरिक : बाह्य

ऋणात्मक : धनात्मक

पुरस्कार : दण्ड

सकारात्मक : नकारात्मक

प्रतिकूल : अनुकूल

 

 

४. दिइएका शब्दलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :

 

सभाध्यक्ष : विद्यालयमा हुने विभिन्न अतिरिक्त क्रियकलापको सभाध्यक्ष प्रधानाध्यापक हुन्छन् ।

उत्कृष्ट : प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिन राम्रो तयारी गर्नुपर्छ ।

प्रतिभा : हरेक व्यक्तिमा कुनै न कुनै प्रतिभा लुकेर बसेको हुन्छ ।

स्वावलम्बी : हरेक महिला स्वावलम्बी हुन जरुरी छ ।

शिष्टाचार : प्रतियोगीले बोल्दा शिष्टाचार व्यक्त गर्नु आवश्यक हुन्छ ।

सहानुभूति : अरूको दुःखमा सहानुभूति दर्शाउनु मानवीय पक्ष हो ।

 

 

 

बोध र अभिव्यक्ति 

 

 

४. दिइएको प्रश्नको उत्तर भन्नुहोस् :

 

(क) वक्तृतामा कार्यक्रमको अध्यक्षता र सञ्चालन गर्ने व्यक्ति को को हुन् ?

उत्तर : वक्तृतामा कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक र सञ्चालन गर्ने व्यक्ति नौ कक्षाका एक विद्यार्थी हुन् ।

 

(ख) छिरिङले सम्बोधन पछिको पहिलो वाक्यमा कुन कुरा व्यक्त गरेका छन् ?

उत्तर : छिरिङले सम्बोधन पछिको पहिलो वाक्यमा प्रतियोगितामा सहभागी भई आफ्ना भनाइ राख्न पाउँदा गौरवान्वित भएको कुरा व्यक्त गरेका छन् ।

 

(ग) वक्तृतामा कतिओटा प्रश्नात्मक वाक्य रहेका छन् ?

उत्तर: वक्तृतामा चारओटा प्रश्नात्मक वाक्य रहेका छन् ।

 

(घ) अमृताले कुन सन्दर्भबाट आफ्नो भनाइ टुङ्ग्याएकी छन् ?

उत्तर : अमृताले भविष्यमा होनहार, सफल र आत्मविश्वासयुक्त नागरिक निर्माण गर्न विद्यालयले अहम् भूमिका निर्वाह गर्ने अपेक्षासहितको सन्दर्भबाट आफ्नो भनाइ टुङ्ग्याएकी छन् ।

 

 

५. दिइएको वक्तृतांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

 

प्रश्नहरू :

 

(क) वक्तृतांशमा किन आफैँमा विश्वास राख्न भनिएको हो ?

उत्तर : सम्पूर्ण शक्ति व्यक्तिमा नै हुने भएकाले यसलाई उजागर गर्न वक्तृतांशमा आफैँमा विश्वास राख्न भनिएको हो ।

 

(ख) वक्तृतांशमा विफलतालाई किन शिक्षाका रूपमा लिन भनिएको होला ?

उत्तर : विफलताबाट मानिसले सफलताबाट भन्दा धेरै कुरा सिक्न सक्ने भएकाले वक्तृतांशमा विफलतालाई शिक्षाका रूपमा लिन भनिएको हो ।

 

(ग) विद्यार्थीको व्यक्तित्व विकासमा विद्यालयको भूमिका कस्तो हुनुपर्छ ?

उत्तर : विद्यार्थीमा भएको असीमित शक्तिलाई सिर्जना र निर्माणमा प्रयोग गर्ने वातावरण सिर्जना गर्दै विद्यार्थीको | व्यक्तित्व विकासमा विद्यालयको भूमिका सकारात्मक र समर्पित हुनुपर्छ ।

 

(घ) गल्ती कसरी शिक्षक हुन सक्छ, तर्क दिनुहोस् ।

उत्तर : गल्तीबाट हामीले धेरै कुरा सिक्न सक्छौँ । सफलताबाट जति सिकिन्छ त्योभन्दा धेरै असफलता र गल्तीबाट | सिकिने भएकाले गल्ती शिक्षक हुन सक्छ ।

 

 

६. दिइएको वक्तृतांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

 

प्रश्नहरू

 

(क) वक्तृतांशका अनुसार अहिले कस्तो शिक्षा प्रचलनमा रहेको देखिन्छ ?

उत्तर : वक्तृतांशका अनुसार अहिले सूचना र ज्ञान दिने खालको शिक्षा प्रचलनमा रहेको देखिन्छ । यसले विद्यार्थीको बौद्धिक विकासमा सहयोग गर्दछ । यसका लागि विद्यालयमा पढाउने, सिकाउने, कक्षाकार्य र गृहकार्य दिने गरिन्छ । विद्यार्थीहरू यिनै क्रियाकलाप गर्दै सफल भएर सफलताको प्रमाणपत्र लिएर निस्कन्छन् ।

 

(ख) समाजमा समायोजन हुने खालको व्यक्तित्व विकास गर्न के गर्नुपर्छ ?

उत्तर : समाजमा समायोजन हुने खालको व्यक्तित्व विकास गर्न व्यक्तिभित्र रहेको असीमित ऊर्जालाई उजागर गर्ने काम गर्नुपर्छ । त्यस्तै व्यक्तिभित्र रहेको सकारात्मक सोच प्रवर्तन गर्ने र आत्मविश्वास जागृत गर्ने वातावरणको सिर्जना गर्नुपर्छ । व्यक्तिको समग्र व्यक्तित्वको विकास गरिनुपर्छ ।

 

 

७. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

 

(क) विद्यालयले कसरी विद्यार्थीको व्यक्तित्व विकास गर्न सक्छ, आफ्ना विचार प्रस्तुत गर्नुहोस् ।

उत्तर : व्यक्तित्व भनेको व्यक्तिभित्र रहेका गुणको त्यो समूह हो जसले कुनै व्यक्तिलाई अर्को वा दोस्रो व्यक्तिभन्दा पृथक् राख्दछ । हरेक व्यक्तिमा शिष्टाचार, नैतिकता, आचरण, आत्मविश्वास, साहस, सोचाइ, व्यवहार, बोलीचाली र आनीबानीमा समेत झल्किने जुन भाव छ त्यो नै व्यक्तित्व हो । व्यक्तित्वको वास्तविक रूप उसको चिन्तन, सोच, आचरण तथा मनको प्रकृति र क्षमता हो । त्यसैले विद्यालयमा विद्यार्थीको चिन्तन, सोच, आचरण तथा मनको प्रकृतिलाई अनुकूल गराउने गरी वातावरण निर्माण गर्नु र तदनुकूल शिक्षण क्रियाकलाप गर्नुले विद्यार्थीको व्यक्तित्व विकासमा सहयोग पुग्दछ ।

 

विद्यार्थीलाई भावी जीवनको भारी देखाएरभन्दा उनीहरूको आफ्नै रुचि जे छ त्यसैमा उत्प्रेरित गरेर व्यक्तित्व विकास गर्न सकिन्छ । समाजमा समायोजन हुने खालको व्यक्तित्व विकास गर्न जोड दिनुपर्छ । यसका लागि व्यक्तिभित्र रहेको असीमित ऊर्जालाई उजागर गर्ने काम गर्नुपर्छ । त्यस्तै व्यक्तिभित्र रहेको सकारात्मक सोच प्रवर्तन गर्ने र आत्मविश्वास जागृत गर्ने वातावरणको सिर्जना गर्नुपर्छ । व्यक्तिको समग्र व्यक्तित्वको विकास गरिनुपर्छ । विद्यालयलाई किताबका पानामा रहेका कुरालाई व्यावहारिक जीवनसँग जोडेर सिकाउने व्यवस्था मिलाउनुपर्छ र विद्यार्थीको व्यक्तित्व विकासको उपयुक्त वातावरण निर्माणमा जोड दिनुपर्छ । क्रियाकलाप र सहक्रियाकलापलाई सिकाइको अभिन्न अङ्ग बनाउनुपर्छ । यसप्रकार विद्यालयमा विद्यार्थीभित्र आत्मविश्वास र आत्मअनुशासनको वातावरण सिर्जना गर्नुपर्छ । विद्यार्थीमा असीमित तागत छ । त्यस तागतलाई सिर्जना र निर्माणमा प्रयोग गर्ने वातावरण सिर्जना गर्दै व्यक्तित्व विकासमा विद्यालयले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ ।

 

(ख) आफ्नो व्यक्तित्व विकासका लागि विद्यार्थीले के कस्ता कार्य गर्नुपर्छ, लेख्नुहोस् ।

उत्तर : आफ्नो व्यक्तित्व विकासका लागि विद्यार्थीको भूमिका सबैभन्दा प्रभावकारी र महत्त्वपूर्ण रहेको हुन्छ । यदि व्यक्ति नै आफ्नो व्यक्तित्व विकासका लागि सचेत र चनाखो भएन भने अरूले जति कोसिस गरे पनि त्यो निरर्थक हुन्छ । आफूमा सर्वाङ्गीण पक्षको विकास गराई एक असल र योग्य नागरिक बन्नका लागि विद्यार्थी स्वयम्‌को कार्य सकारात्मक र विवेकी हुनु जरुरी छ ।

 

आफ्नो व्यक्तित्व विकासका लागि विद्यार्थी अनुशासित, इमानदार, अध्ययनशील, जिज्ञासु, चिन्तनमनन गर्ने, खोजमा संलग्न रहने, सबैको सम्मान गर्ने हुनु जरुरी छ । विद्यालयका हरेक गतिविधिमा सक्रिय रहने र घरायसी कार्यमा पनि उत्तिकै चासो राख्ने विद्यार्थीको कार्यले नै उसको व्यक्तित्व विकासमा सहयोग गर्दछ । त्यस्तै विद्यार्थीले आफूलाई आफैँले विश्वास गर्नुपर्छ । आफूभित्र असीमित तागत रहेकोले उक्त तागतलाई सिर्जना र निर्माणमा प्रयोग गर्ने वातावरण सिर्जना विद्यार्थी स्वयम्‌को पनि हो । दरो इच्छाशक्ति र असफलता तथा कमजोरीबाट सिक्ने कार्यले हामीलाई सफलतातिर लैजान्छ । त्यस्तै अर्काको संस्कृतिको अन्धानुकरण होइन आफ्नो संस्कृतिको वैज्ञानिकीकरणले नै आफ्नो पहिचान दिलाउँछ भन्ने बोध गरी आफ्नो संस्कृतिको संरक्षण र संवर्धनको कार्य गर्नु जरुरी भइसकेको छ ।

 

यसप्रकार आफ्नो व्यक्तित्व विकासका लागि विद्यार्थीको भूमिका निकै महत्त्वपूर्ण रहन्छ । स्वप्रयासका माध्यमबाट पनि हामीले बहुमुखी व्यक्तित्व फुलाउन र समाजमा सुवास छर्न सक्छौँ । सकारात्मक ऊर्जाका माध्यमबाट आफ्नो प्रतिभा प्रस्फुटित गराई राष्ट्र निर्माणमा योगदान दिन सक्छौँ ।

 

 

८. माथिको वक्तृतामा अमृता नेम्वाङले भनेका कुरालाई दशओटा बुँदामा टिपोट गर्नुहोस् । 

उत्तर:

वक्ता अमृता नेम्वाङले भनेका कुराको दशओटा बुँदा :-

 

व्यक्तिको चिन्तन, सोच, आचरण तथा मनको प्रकृति र क्षमता नै व्यक्तित्वको वास्तविक रूप

 

विद्यार्थीलाई भावी जीवनको भारी देखाएरभन्दा रुचिमा उत्प्रेरित गरेर हौस्याउँदा व्यक्तित्व निर्माण सहज बन्ने

 

बौद्धिक व्यक्तित्वको विकासका साथै समाजमा समायोजन हुने खालको व्यक्तित्व विकास र असीमित ऊर्जालाई उजागर गर्ने, सकारात्मक सोच, आत्मविश्वास जागृत गर्ने वातावरण सिर्जना गरी विद्यार्थीको समग्र व्यक्तित्व विकासमा विद्यालयको दायित्व सम्बन्धमा बहस हुनु जरुरी

 

विद्यार्थीमा रहेको अनन्त ऊर्जा जगाउने, स्वशक्तिको पहिचान, सकारात्मक सोचको विकास गरी आत्मविश्वास जगाउने काम विद्यालयले गनुपर्ने

 

बहुभाषिक र बहुसांस्कृतिक सौन्दर्य अझ उज्यालो पार्दै विद्यमान प्रतिभा र बौद्धिकता जगाउन विद्यार्थीमुखी कार्यकलाप विद्यालयमा आवश्यक

 

किताबका पानामा रहेका कुरालाई व्यावहारिक जीवनसँग जोडेर सिकाउने व्यवस्था मिलाई व्यक्तित्व विकासको उपयुक्त वातावरण निर्माण गर्नुपर्ने

 

हावर्ड गार्डनरको बहुबौद्धिकताको कुरालाई ध्यान दिएर शिक्षण क्रियाकलाप सम्पन्न गरियो भने विद्यार्थीको बौद्धिक विकास हुन सक्ने

 

डार्विनको प्रतिभालाई कक्षाकोठाको खुराकले नपुगेर उनले प्रकृतिलाई पाठशाला बनाई विकासवादको सिद्धान्त प्रतिपादन गरेका

 

सहक्रियाकलाप र अतिरिक्त क्रियाकलापलाई विद्यार्थीभित्रको उच्च तहको सिर्जनशील चिन्तन, समीक्षात्मक चिन्तन, सञ्चार सिप, निर्णय क्षमता, समस्या समाधानलगायतका सिप विकाससित जोड्नुपर्ने

 

भविष्यमा एक होनहार, सफल र आत्मविश्वासयुक्त नागरिक निर्माण गर्न विद्यालयले अहम् भूमिका निर्वाह गरोस् भन्ने अपेक्षा ।

 

 

९. वक्तृता कसरी सञ्चालन गरिन्छ, कक्षामा छलफल गर्नुहोस् ।

 

उत्तर : वक्तृता सञ्चालनका लागि सर्वप्रथम समसामयिक विषयवस्तुमा आधारित रहेर शीर्षक चयन गरिन्छ । उक्त शीर्षकमा कक्षागत रूपमा प्रतियोगिता सञ्चालन गरिन्छ । प्रत्येक कक्षाबाट छनोट भएका उत्कृष्ट विद्यार्थीबिचमा विद्यालय स्तरमा प्रतियोगिता सञ्चालनको तयारी गरिन्छ । उक्त प्रतियोगिताका लागि उद्घोषक छनोट गरिन्छ । प्रधानाध्यापक कार्यक्रमको अध्यक्ष रहन्छन् भने विव्यस अध्यक्ष प्रमुख अतिथिका रूपमा रहन्छन् । एक जना समयपालक रहन्छन् । तीन जना शिक्षक निर्णायकको भूमिकामा रहन्छन् । प्रतियोगी बाहेकका विद्यार्थी र अभिभावक तथा अन्य आमन्त्रित व्यक्ति दर्शकका रूपमा रहन्छन् ।

 

 

१०. विद्यार्थी जीवनमा अनुशासनको महत्त्वशीर्षकमा छोटो वक्तृता तयार पार्नुहोस् । 

 

उत्तर :

 

विद्यार्थी जीवनमा अनुशासनको महत्त्व (वक्तृता)

 

आदरणीय सभाध्यक्ष महोदय ! प्रमुख अतिथिज्यू, गुरुवर्ग, निर्णायक मण्डल एवम् मेरा प्रतिस्पर्धी तथा सम्पूर्ण मित्र ! आज आयोजित यस वक्तृत्वकला प्रतियोगितामा सहभागी भई आफ्ना भनाइ राख्न पाउँदा म गौरवान्वित छु । आजको वक्तृताको विषय छ, ‘विद्यार्थी जीवनमा अनुशासनको महत्त्व ।सभाध्यक्ष महोदय !

 

सबैभन्दा पहिला म अनुशासनको अर्थ भन्न चाहन्छु । शासनशब्दमा अनुउपसर्ग लागेर अनुशासनशब्द बनेको हो । यसको अर्थ नियममा बस्नुभन्ने हुन्छ । तसर्थ हामीले नियमको परिधिभित्र रहेर आफ्ना गतिविधि सञ्चालन गर्नु र कुनै पनि कार्य गर्नुलाई अनुशासन भनिन्छ । सफलता प्राप्त गरी निरन्तर अगाडि बढ्नका लागि अनुशासन हरेक व्यक्तिका लागि हरेक क्षेत्रमा आवश्यक पर्छ । अझ विद्यार्थी जीवनमा अनुशासनको निकै महत्त्व रहेको हुन्छ ।

 

श्रद्धेय महानुभावहरू !

अनुशासन विद्यार्थी जीवनको लागि नभई नहुने कुरा हो । उहिले ऋषिमुनिहरूको आश्रममा ज्ञान आर्जन गर्नका लागि जाने शिष्यहरूका लागि अनुशासनलाई निकै जोड दिइन्थ्यो । सामान्य व्यक्ति मात्र होइन त्यहाँ अध्ययन गर्न जाने राजकुमारहरूले समेत उक्त अनुशासनको पालना गर्नुपर्थ्यो । यसबाट पनि हामी अनुशासनको विद्यार्थी जीवनमा कति महत्त्वपूर्ण रहेछ मनन गर्न सक्छौँ ।

 

अनुशासनमा रहनु भनेको सफलतातिर अग्रसर रहनु पनि हो । अनुशासनमा रहने विद्यार्थी नै शिक्षकको प्रिय बन्न सक्छ । विद्यालयका हरेक गतिविधिमा हामीले ध्यान दियौं भने अनुशासित विद्यार्थीले नै सफलता हासिल गरिरहेको हुन्छ । अनुशासनमा रहने व्यक्ति नै सबैको लागि उदाहरणीय बन्न सक्छ । कतिपय शिक्षक तथा विद्यार्थीले अनुशासनलाई हाउगुजी मानेको समेत पाइन्छ । तर अनुशासन आफूले तोकिएको नियममा रहेर तोकिएको कार्य इमानदार भएर गर्नु हो । अनुशासन तोकिएको आचारसंहिताको पालना पनि हो ।

 

यसर्थ हरेक क्षेत्रमा उत्तिकै महत्त्व रहेको अनुशासन विद्यार्थी जीवनमा झनै महत्त्वपूर्ण छ । हामी विद्यार्थी भविष्यका कर्णधार भएकाले हाम्रो उन्नति प्रगति राष्ट्रको उन्नति प्रगतिसँग पनि जोडिएको हुन्छ । तसर्थ हामीले असल नागरिक बन्न अनुशासनमा जोड दिनु आवश्यक छ भन्दै म मेरो भनाइ यहीँ बन्द गर्दछु । धन्यवाद !

 

 

११. तलको दैनिकीको नमुना पढ्नुहोस् र तपाईंले भ्रमण गरेको कुनै एउटा रमणीय स्थलको विषयवस्तु समेटी एक दिनको दैनिकी तयार पार्नुहोस् :

 

उत्तर :

 

दैनिकी

रातको ८ बजे                        २०७९ पुस १०

 

आज पुस १० गते, म बिहान सबेरै उठेँ । बाहिर चराचुरुङ्गी चिरबिर स्वरमा कराउँदै थिए । घुम्न जाने उत्साहले होला सधै उठिरहने समयभन्दा छिटो उठेछु । हातमुख धोएर, खाजाखाइसकेपछि पो अर्लाम बज्यो । ममीले हिजै भन्नुभएको थियो,“भोलि हतार हुन्छ । जाँदा आवश्यक पर्ने सामान तयार गरिहाल्नु है आजै ।” मैले आमाले भन्नुभएपछि हिजै झोला तयार गरिसकेको थिएँ । त्यसपछि घुम्न जाने हाम्रो पूर्वयोजनाअनुसार म तयार हुन थालें ।

 

बिहान ६ बजे,“कति समय लगाउनुभएको हिँड्नु छिटो ।” भन्दै भाइ आइपुग्यो र हामी उकालो चढ्न थाल्यौं । यात्रामा म र भाइ थियौँ । हाम्रो गन्तव्यय थियो ककनी र त्यहाँ पुगेर हिउँ खेल्ने । पसिना बगाउँदै, गफ गर्दै जाँदाजाँदै ३ घण्टा कसरी बित्यो पत्तै भएनछ । हामी करिब ९ बजेतिर मानेभन्ज्याङमा पुग्यौं । त्यहाँ पुगुन्जेल भोकले तिरिमिर भइसकेका थियौँ । घरबाट लगेको खाजा खायौं र निकै चिसो भएकाले नजिकैको होटलमा छिरेर दुई दुई कप चिया खायौं । करिब १ घण्टा हिँडेपछि हामी ककनी पुग्यौं त्यहाँ हिउँले सेताम्यै भएको थियो । त्यहाँबाट हिमालको दृश्य झनै मनमोहक थियो । अनि हामी हिउँका डल्लाले एकअर्कालाई हान्दै खेलिरहेको तस्बिरहरू खिच्यौ । भिडियो पनि बनायौँ । अनि नजिकैको होटेलमा गएर नास्ता गर्यो । अनि करिब ३ बजेतिर घर फर्कियौं । पहिलोचोटी मैले हिउँको अनुभव गर्न पाएकोले निकै रमाइलो लाग्नुको साथै थकाइ पनि लागेको थियो । अनि बेलुकाको खाना खाएँ र त्यसपछि छोटो दैनिकी तयार पारी राती ८:३० बजेतिर सुतें ।

 

 

१२. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

 

क) उत्तर दिनुहोस् :

 

अ) बहुबौद्धिकताको सिद्धान्तका प्रतिपादक को हुन् ?

= बहुबौद्धिकताको सिद्धान्तका प्रतिपादक हार्बड गार्डनर हुन् । 

 

आ) बौद्धिकताका प्रकार उल्लेख गर्नुहोस् ?

= भाषिक, तार्किक गणितिय स्थानिक दृश्यात्मक, प्राकृतिक, साङ्गीतात्मक, शारीरिक गतिबोधनक, अन्तरवैयक्तिक र अन्तः वैयक्तिक गरी आठ प्रकारका बौद्धिकता हुन्छन् ।

 

इ) भाषिक बौद्धिकताअन्तर्गत पर्ने कुरा के हो

= भाषिक बौद्धिकताअन्तर्गत मौखिक र लिखित रूपमा प्रभावकारी ढङ्गले भाषा प्रयोग गर्ने क्षमता पर्दछ ।

 

ई) तपाईंमा मुख्य रूपमा कुन बौद्धिकता रहे जस्तो लाग्छ ?

= ममा मुख्य रूपमा भाषिक बौद्धिकता रहे जस्तो लाग्छ।

 

ख) भाषा संरचना पहिचान गर्नुहोस् :

 

अ) अनुच्छेदमा भएका कुनै दुई पारिभाषिक शब्द लेख्नुहोस् ।

= गणितीय, दृश्यात्मक

 

आ) अनुच्छेदबाट एकवचन र बहुवचनका एक एकओटा क्रियापद टिप्नुहोस् ।

एकवचन : गर्छ 

बहुवचन : पर्छन्

 

इ) अनुच्छेदबाट श, , स प्रयोग भएका एक एकओटा शब्द लेख्नुहोस् । 

= शिक्षण, विशेषता, सामान्यतया

 

ई) हाउभाउरुचिशब्दको अर्थ लेख्नुहोस् ।

= हाउभाउ : अनुहार वा शरीरको भाषा

रुचि : चाहाना, इच्छा

 

 

१३. दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस् :

 

राजकिशोरले कक्षाको राम्रोसँग नेतृत्व गरे झैँ कक्षाका साथीको नेतृत्व गर्नका लागि नेतृत्वकर्ताका रूपमा मन्तव्य व्यक्त गर्नुहोस् ।

 

= सम्पूर्ण आदरणीय साथीहरू,

म तपाईहरूकै चिरपरिचित साथी उमेश प्रधानको तर्फबाट नमस्कार । अहिले विद्यालयबाट विद्यार्थीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने एक नेतृत्व चयन गर्ने प्रक्रियमा एउटा उम्मेदवारको रूपमा म तपाईंहरूका समक्ष उभिएको छु ।

 

 

मैले सधै भरि विद्यालय र विद्यार्थीहरूको बिचमा एउटा पुलको भूमिका निर्वाह गर्ने छु । विद्यार्थीहरू समस्यालाई विद्यालयसम्म पुन्याउने र समाधानको लागि पहल गर्ने छु । कसैलाई कुनै आधारमा भेदभाव नगरी समान व्यवहार गर्ने छु । सबै साथीहरूलाई असल काममा प्रेरित गरी विद्यालयको वातावरण राम्रो बनाउने प्रयास गरिरहने छु । मलाई तपाईंहरूको साथ र सहयोग प्राप्त भएपछि सबैको हितमा उदाहरणीय काम गर्ने छु । तपाईंको सहयोग अवश्य पाउँछु भन्ने विश्वास छ ।

This website uses cookies and asks your personal data to enhance your browsing experience. We are committed to protecting your privacy and ensuring your data is handled in compliance with the General Data Protection Regulation (GDPR).