You dont have javascript enabled! Please enable it!
Curriculum
Course: Class 9 Nepali Note
Login
Text lesson

पाठ १६. भविष्य निर्माण

शब्दभण्डार

 

१. दिइएका शब्द र अर्थविच जोडा मिलाउनुहोस् :

शब्द                                    अर्थ

(क) स्वप्न – सपना

(ख) अखबार – समाचार पत्र

(ग) अलग्गै – भिन्नै

(घ) गम्भीर – एकान्त

(ङ) व्यर्थ – निरर्थक

(च) कलकाँटा – यान्त्रिक उपकरण

(छ) अबोध – केही नबुझ्ने

(ज) कण्ठ – घाँटी

 

२. दिइएका टुक्काको अर्थ पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् :

 

झसङ्ग हुनु : एक्कासि कुनै कुराले त्रास दिनु

पढिरहेको ठाउँमा एक्कासी आमा आएर जोडले बोलाउँदा म त झसङ्ग भएँ ।

 

रङ उड्नु : अध्याँरो मुख हुनु । 

साथी दुर्घटनामा परेको खबर सुनेर हरिको अनुहारको रङ उड्यो ।

 

खिन्न हुनु – छोरो कुलतमा लागेकाले बुबाआमा खिन्न हुनुभएको छ ।

 

कण्ठ भरिनु – विदेश गएको कान्छो छोराले घर फर्किन भनेपछि आमाको कण्ठ भरिएर आयो ।

 

गला रुद्ध हुनु – आफ्नो बालक छोरो अकालमै मरेपछि आमा सरस्वतीको गला अबरुद्ध भयो ।

 

 

३. पाँचओटा अनुकरणात्मक शब्दको प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस् ।

 

उत्तर : मैले फटाफट आफ्नो गृहकार्य गरेँ । गृहकार्य सकेर खुरुखुरु खाना पकाएँ अनि भाईलाई दिएँ । भाइले खाना खपाखप खायो त्यसपछि मैले थालहरू पखालपुखुल पारेँ र थपक्क राखेँ ।

 

 

बोध र अभिव्यक्ति

 

 

१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् ।

 

भित्तो, झ्याल, शिक्षित, हृदय, द्विविधा, औषधी, प्रार्थना, प्रतिहिंसा

 

३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् ।

 

(क) कथाको प्रारम्भ कुन घटनाबाट भएको छ ?

उत्तर : कथाको प्रारम्भ दार्जिलिङको तङसुङ बस्तीमा एउटा चिटिक्क परेको घर छ भन्ने कुराबाट भएको छ ।

 

(ख) नरेशले … गइसकेको थियोअनुच्छेदको मुख्य घटना के हो ?

उत्तर : कृष्णले आफूले युद्धमा जर्मनहरूलाई मारेर कप्तान भएको कुरा सुनाउनु अनुच्छेदको मुख्य घटना हो।

 

(ग) कथामा उपस्थित भएका पात्रको नाम भन्नुहोस्

उत्तर : कथामा उपस्थित भएका पार्वती, कृष्ण र नरेश हुन् ।

 

(घ) कथाको अन्त्यतिर नरेशमा कस्तो परिवर्तन आएको छ ?

उत्तर : कथाको अन्त्यमा नरेशले हिंसा त्यागेर सबैलाई साथी बनाउने र रोगीलाई निको पार्ने औषधि बनाउने कुरा गरेको प्रसङ्ग ल्याएर नरेशमा परिवर्तन आएको छ ।

 

 

४. दिइएको कथांश शिक्षकले तोकेको समयभित्र मौन पठन गरी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

 

(क) पार्वतीको हृदय किन भारी थियो ?

उत्तर : दाम्पत्यभारले तिनको हृदय धेरै दिनदेखि भारी थियो ।

 

(ख) युद्धका घटनाले बाल मस्तिष्कमा कस्तो प्रभाव पार्न सक्छ ?

उत्तर : युद्धका घटनाले बाल मष्तिस्कमा हिंसा गर्नतर्फ आकृष्ट गर्ने नराम्रो असर पर्न सक्छ ।

 

(ग) नरेशका आमाबुबाले छोरालाई कुन कुराबाट अलग राख्न खोजेका थिए ?

उत्तर : नरेशका आमाबुबाले छोरालाई युद्ध भइरहेको समाचार तथा युद्धको खेल खेल्नबाट अलग राखेका थिए।

 

(घ) पार्वतीले छोरालाई शान्तिवीर बनाउन कस्तो प्रयास गरिन् ?

उत्तर : पार्वतीले छोरालाई शान्तिवीर बनाउन सुत्ने कोठामा बुद्धवाणी, गान्धीवाणी जस्ता धेरै शान्तिका सन्देश नेपालीमा लेखेर टाँगेका थिए ।

 

 

५. कथा पढी दिइएका संवाद कसले कोसँग भनेका हुन्, पहिल्याउनुहोस् :

 

(क) यस्तो विश्वको अशान्त वातावरणमा छोरो कसरी बढ्ला ?

उत्तर : पार्बतीले आफ्ना पति कृष्णसँग भनेकी हुन् ।

 

(ख) गोली लाग्दा तपाईंलाई दुखेन ?

उत्तर : नरेशले बुबासँग भनेको हो ।

 

(ग) उ ! हेर कस्ती राम्री पुतली

उत्तर : आमा पार्बतीले नरेशलाई भनेकी हुन् ।

 

(घ) सबै जर्मनहरू खराब हुँदैनन्, तिनीहरू बडा ज्ञानी पनि हुन्छन् ।

उत्तर : आमा पार्बतीले छोरा नरेशलाई भनेकी हुन् ।

 

 

६. दार्जिलिङको तुङसुङ … हुन्छभन्ने अनुच्छेदबाट चारओटा प्रश्न बनाई तिनका उत्तरवारे साथीसँग छलफल गर्नुहोस् ।

 

प्रश्नहरू

(क) चिटिक्क परेको घर कहाँ छ ?

(ख) घर केले बनेको छ ?

(ग) गमलामा केका बोट छन् ?

(घ) ढोका र झ्यालमा कस्तो पर्दा छ ?

 

 

७. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् ।

 

(क) कथाका आधारमा पार्वतीका राम्रा गुण उल्लेख गर्नुहोस् ।

 

उत्तर : भविष्य निर्माण कथाकी पात्र पार्वतीमा असल गुणहरू रहेका छन् । उनी आफ्ना सन्तानको भविष्यका निम्ति सधै चिन्तित रहन्छिन् । आफ्नो सन्तानलाई उनी असल मानिस बनाउन चाहान्थिन् । त्यसैले घरमा उनले छोरो नरेशलाई सधैँ राम्रा कुराहरू मात्र सिकाइन् । छोरा नरेशमा सकारात्मक असर परोस् भनेर उसको आगाडी राम्रा कुराहरू मात्र गर्दथे । उनले आफूसुत्ने कोठामा पनि बुद्ध वाणी, गान्धी वाणी जस्ता शान्तिका सन्देश लेखेर टाँगेकी थिइन् । उनी नरेशलाई शान्तिबीर बनाउन चाहन्थिन् ।

 

(ख) कथामा उल्लेख भएको परिवेशको वर्णन गर्नुहोस् ।

 

उत्तर : यस कथाको स्थानगत परिवेश दार्जिलिङको सानो तुङसुङ नामक बस्तीको रहेको छ । चिटिक्क परेको घर छ । घरलाई फूलबारीले सजाएको छ । घरमा परिवार कृष्ण, पार्वती र नरेश छन् । त्यतिखेर जताततै युद्ध भइरहेको, युद्धले गर्दा धेरै मानिस मरेको, घाइते भइरहेको जस्ता समाचारहरू दैनिकजसो पत्रिकामा आइरहन्थे । केटाकेटीहरू पनि युद्धकै खेल खेल्थे । कोही खेलमा कप्तान हुन्थे, कोही कर्णेल हुन्थे । असल र शान्तिप्रिय सन्तान बनाउनेहरूका लागि यो एकदमै सन्तोषजनक कुरा थिएन । त्यसकारण यो कथाको परिवेश चिन्ताजनक थियो भन्न सकिन्छ ।

 

(ग) कथाबाट के सन्देश पाइन्छ ?

 

उत्तर : हामीले आफ्ना सन्तानलाई सधैँ राम्रो कुरा मात्र सिकाउनुपर्छ । उनीहरूलाई जस्तो सिकायौँ उनीहरू त्यस्तै हुन्छन् । ससाना बालबालिकालाई असल वातावरण दिन सक्यौँ भने उनीहरू सफल हुनसक्छन् । हिंसात्मक वातावरण पाए भने उनीहरू पनि हिंसातिर नै लाग्ने हुन सक्छन् । बालबालिकाहरूलाई हामीले कहिल्यै पनि खराब कुराहरू सिकाउनु हुँदैन । असल नागरिक बन्ने कुराहरू घरमा लेखेर राख्ने जस्ता कामहरू गर्नुपर्छ भन्नेजस्ता सकारात्मक सन्देशहरू यसकथाबाट पाउन सकिन्छ ।

 

८. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

(क) उत्तर दिनुहोस् :

 

(अ) सहकार्य सिकाइ भनेको के हो ?

उत्तर : सहकार्य सिकाइ भनेको समूहमा क्रियाकलाप गरेर सिक्ने सिकाइ विधि हो ।

 

(आ) सहकार्य सिकाइमा सिकारुले कसरी सिक्छन् ?

उत्तर : सहकार्य सिकाइमा सिकारुले कुनै पनि विषयमा विषयवस्तुको सिकाइ, उक्त विषयवस्तुमा प्राप्त गरेका सूचना तथा अनुभवलाई एकआपसमा आदान प्रदान गरेर सिक्छन् ।

 

(इ) यस विधिमा शिक्षकको भूमिका कस्तो रहन्छ ?

उत्तर : यस विधिमा शिक्षक एउटा सहयोगी मित्र तथा सिकारुको मार्गदर्शकको भूमिकामा हुन्छ ।

 

(ई) यस विधिलाई किन प्रभावकारी मानिन्छ ?

उत्तर : यस विधिबाट सिकाइ गर्दा विद्यार्थी एकआपसमा स्वस्थ र सहयोगीपूर्ण अन्तरक्रिया गरेर सिक्छन् । यसमा एक्लाएक्लै काम गर्नु वा अध्ययन गर्नुको सट्टा एकआपसमा मिलीजुली काम गर्ने, आफूले प्राप्त गरेका सूचना र अनुभवलाई साथीसमक्ष आदानप्रदान गरेर सिक्ने भएकाले सिकाइ प्रभावकारी हुन्छ ।

 

(ख) भाषा संरचना पहिचान गर्नुहोस् :

 

(अ) अन्तरक्रियासिकारुशब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् ।

उत्तर : 

अन्तरक्रिया – विद्यार्थीले साथीहरूसँग अन्तरक्रिया गरेर सहज रूपमा सिकाइ गर्न सक्छन् । 

सिकारु – सिकारु ड्राइभरले एउटा यात्रुलाई ठक्कर दिएछ ।

 

(आ) अनुच्छेदको जहाँ कुनै पनि विषयवस्तुको सम्बन्धमा आफूले प्राप्त गरेका सूचना तथा ज्ञानलाई एकआपसमा आदानप्रदान गर्छन् ।वाक्यलाई कर्मवाच्यमा परिवर्तन गर्नुहोस् ।

 

उत्तर : जहाँ कुनै पनि विषयवस्तुको सम्बन्धमा आफूले प्राप्त गरेका सूचना तथा ज्ञानलाई एकआपसमा आदानप्रदान गरिन्छ ।

 

(इ) माथिको अनुच्छेदबाट कृत्तद्धित्प्रत्यय लागेर बनेका एक एक ओटा शब्द पहिचान गरी लेख्नुहोस् ।

 

उत्तर : कृत् प्रत्यय लागेको शब्द – गरेर

 

(ई) माथिको अनुच्छेदबाट को फरक फरक रूप प्रयोग भएका तीनओटा शब्द टिपोट गर्नुहोस् ।

 

उत्तर : गर्नु, क्रियाकलाप ।

 

 

९. भविष्य निर्माणकथाका आधारमा दिइएका घटनाको क्रम मिलाउनुहोस् :

उत्तर : 

(ग) तुङसुङ बस्तीतिर जाने मानिस घरतर्फ आकर्षित हुनु

च) पाँच वर्षको एउटा छोरो हुनु

(छ) नरेशलाई शान्तिवीर बनाउन चाहनु

क) सबै केटोकेटीले युद्धको खेल खेल्नु

घ) कृष्णबहादुर पनि आफ्नो बेसुद्धीमा खिन्न हुनु

(ङ) पार्वतीले पतितिर जिज्ञासु दृष्टिले हेर्नु

(ज) नरेश एउटा लामो काठ बोकेर अजिब चालले कोठामा प्रवेश गर्नु

ख) पार्वतीले छोराको भविष्य निर्माण गर्नु

 

 

१०. व्याख्या गर्नुहोस् :

 

जो अरूलाई दुःख दिन्छ, आफू मात्र खान्छ, ठुलाको अर्ती मान्दैन, त्यो नै दुष्ट हो ।

 

उत्तर : प्रस्तुत गद्यांश कक्षा ९ को नेपाली पाठ्यपुस्तकअन्तर्गत पाठ १६ मा रहेको भविष्य निर्माणशीर्षकको कथाबाट साभार गरिएको हो । यस कथाका कथाकार देवकुमारी थापा हुन् । उनले यस कथामा बालबालिकाहरूलाई कसरी राम्रो र असल बाटो देखाएर उनीहरूको भविष्य सुन्दर बनाउन सकिन्छ भन्ने विषयमा उल्लेख गरेकी छन् ।

 

कोही मानिस आफूमात्रै खाऊँ, आफू मात्र राम्रो लगाऊँ भन्ने स्वार्थी प्रवृत्तिका हुन्छन् । उनीहरू आफ्नो सुखको मात्र विचार गर्छन् । अरूलाई परेको दुखको विचार गर्दैनन् । उनीहरू अरूलाई दुःख दिने प्रवृत्तिका हुन्छन् । त्यस्ता ब्यक्तिहरू दुष्ट हुन् । अरूलाई दुःख दिने, भनेको नभन्ने, आफू मात्र खान खोज्ने व्यक्तिहरू असल हुँदै हुँदैनन् । असल व्यक्ति बन्न सधैँ आफूभन्दा ठुलाले भनेको मान्नुपर्छ, उनीहरूको अर्तिउपदेश मान्नुपर्छ । आफूसँग भएको बाँडेर खानुपर्छ । अरूलाई कहिल्यै दुःख दिनुहुँदैन । सबैसँग मिल्नुपर्छ । यही आशयका साथ आमा पार्बतीले छोरा नरेशलाई सम्झाउन माथिको गद्यांश भनेकी हुन् ।

 

 

११. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

 

(क) घरायसी वातावरणले बालबालिकाको स्वभाव र व्यवहारमा कस्तो परिवर्तन ल्याउन सक्छ, कथाका आधारमा तर्क गर्नुहोस् ।

 

उत्तर : भविष्य निर्माणकथा देवकुमारी थापाद्वारा रचित बाल मनोवैज्ञानिक कथा हो । यस कथाका माध्यमबाट बालबालिकाहरूलाई कसरी असल वातावरण सिर्जना गरेर असल बनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरिएको छ । अलिकति पनि हिंसाको कुरा गर्दा बालबालिकाहरू हिंसातर्फ आकृष्ट हुन्छन् तर त्यसको सट्टा बालबालिकालाई राम्रा कुराहरू सिकाउन सकियो भने उनीहरू असल र राम्रो मार्गमा लाग्न सक्छन् भन्ने

सन्देश यस कथाबाट पाउन सकिन्छ ।

 

यस भविष्य निर्माणकथाकी प्रमुख पात्र पार्वती हुन् । उनको एउटा सानो पाँच वर्षको छोरा छ । उनका पति दोस्रो विश्वयुद्धमा जर्मनहरूसँग युद्ध गरेर फर्किएका हुन् । पार्वती शिक्षित र गुणवती छन् । उनी आफ्नो छोराको पालनपोषणमा विशेष ध्यान दिन्थिन् । उनी आफ्नो छोरालाई सर्वश्रेष्ठ व्यक्ति बनाउन चाहन्थिन् । छोराले राम्रो कुरा मात्र सिकोस् भनेर सुत्ने कोठामा पनि बुद्ध वाणी, गान्धी वाणी जस्ता धेरै शान्तिका सन्देशहरू लेखेर टाँगेकी थिइन् । एकदिन कृष्णको पाखुरामा जर्मनले गोली हानेर लागेको दाग देखाउँदै नरेशले पछि जर्मनहरूलाई गोली हानेर मार्ने कुरा गर्छ । नरेशको यस कुराबाट पार्वती र कृष्ण दुबै चिन्तित हुन्छन् । नरेशलाई अर्कै कुरातर्फ मोड्छन् । नेरेशलाई जर्मनहरू असल हुन्छन्, उनीहरू रोगीलाई निको पार्ने औषधी बनाउँछन्, कलकाँटाको काममा पनि सिपालु हुन्छन् भन्दै जर्मनहरूका बारेमा सकारात्मक कुरा मात्र सुनाए । पार्वतीले नरेशलाई अरूलाई दुःख दिने, ठुलाको अर्ती नमान्ने दुष्ट हो भन्दै सम्झाइन् । त्यसपछि नरेशमा सकारात्मक परिवर्तन आयो । त्यसपछि नरेश अब ठुलो भएर जर्मनी जाने, जर्मनहरूलाई साथी बनाउने र रोगलाई निको पार्ने औषधि बनाउने कुरा गर्न थाल्यो । केही समयअघिसम्म जर्मनलाई मार्ने कुरा गर्ने नरेशले घरको असल वातावरणका कारण अब जर्मनहरूलाई साथी बनाउने कुरा गर्न थाल्यो ।

 

यस कुराबाट के स्पष्ट हुन्छ भने घरायसी वातावरणले बालबालिकाको स्वभाव र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ, वातावरणले नै उनीहरूलाई असल र खराबको मार्ग निर्देशन हुन्छ भन्ने कुरा प्रस्ट हुन्छ ।

 

(ख) नरेशको जर्मनप्रतिको सोच परिवर्तन नभएको भए आमाबुबाले कसरी सुधार गर्थे होलान्, अनुमान गरी समीक्षा गर्नुहोस् ।

 

उत्तर : देवकुमारी थापाद्वारा रचित भविष्य निर्माण कथा बाल मनोवैज्ञानिक कथा हो यसमा पार्वती कृष्ण र नरेश गरी तीनजना पात्रहरू रहेका छन् । पार्वती र कृष्ण आमाबाबु हुन् भने नरेश छोरा हो । आमाबाबु छोरालाई असल र शिक्षित बनाउन चाहन्थे तर एकदिन कृष्णले झुक्किएर जर्मनलाई मारेको कुरा गरेपछि रेशमा जर्मनहरूप्रति नकारात्मक भावना पैदा हुन्छ । ऊ ठुलो भएर जर्मनी जाने र जर्मनहरूलाई मार्ने कुरा गर्छ । बन्दुक लिएर खेल्न थाल्छ । आमा पार्वतीले नरेशलाई जर्मनीका बारेमा राम्रा र असल कुराहरू मात्र सुनाएर नरेशमा परिवर्तन ल्याउँछिन् । अब नरेश जर्मन जाने र जर्मनहरूलाई साथी बनाउने र उनीहरूले जस्तै औषधि बनाउने कुरा गर्छ ।

 

यदि नरेशको जर्मनहरूप्रतिको सोचमा परिवर्तन नभएको भए ऊ सधैँ हिंस्रक बन्थ्यो होला । उसमा हिंसाको भावना भरिएर आउँथ्यो । विस्तारै अपराधिक क्रियाकलापहरू गर्थ्यो होला । बिस्तारै बिग्रदै जान्थ्यो होला र खराब साथीहरूको सङ्गतमा पर्दै जान्थ्यो । उसलाई सुधार्न उसका आमाबाबुलाई निकै कठिन हुन्थ्यो होला । आमाबाबुले छोरा नरेशलाई सम्झाउन नसकेर बिस्तारै जर्मन विरुद्धका गतिविधि गरेर आतङ्ककारी बन्थ्यो होला । विद्यालयमा पढ्दै जाँदा शिक्षकहरूले पनि उसलाई सम्झाइबुझाई गर्नु पर्थ्यो होला । धेरै प्रयास गरेपछि मात्र नरेशको विचारमा परिवर्तन आउँथ्यो होला ।

 

 

१२. नरेशको मानसिक अवस्थाको चित्रण कथामा कुन कुन सन्दर्भमा भएको छ, वर्णन गर्नुहोस् । 

 

उत्तर : भविष्य निर्माण कथा देवकुमारी थापाको एक बालमनोवैज्ञानिक कथा हो । यस कथामा बालपात्र नरेशको मानसिक अवस्थाको चित्रण गरिएको छ ।

 

कथाको आरम्भतिर पार्वती र कृष्ण अखबारका समाचारका विषयमा कुरा गर्दा विश्वभर जताततै युद्धका घटना भइरहेको र यस्तो समयमा आफ्नो छोरालाई कसरी शान्तिवीर बनाउने भन्ने विषयमा कुरा भइरहँदा एक्कासि नरेशका आँखा कृष्णबहादुरका पाखुरामा लागेको दागमा जान्छन् । त्यो पाखुरामा के भएको भन्ने नरेशका प्रश्नसँगै कथामा नरेशको उपस्थिति हुन्छ । बाबुको पाखुरीमा जर्मनहरूले हानेको गोली लागेको र त्यसैको दाग बसेको भन्ने थाहा पाएपछि उसले जर्मनप्रति प्रतिहिंसाको भावना राख्छ । यहाँ उसको मानसिक अवस्था प्रतिहिंसाको भावनाले भरिएर परिवर्तन भएको देखिन्छ ।

 

यसैगरी अर्को सन्दर्भमा नरेशको मानसिक अवस्थाको राम्रो चित्रण गरिएको छ । पार्वतीले सबै जर्मनहरू दुष्ट हुँदैनन्, कुनै कुनै जर्मनहरू बिरामीहरूलाई रोग निको बनाउने औषधीहरू पनि बनाउँछन्, उनीहरू असल हुन्छन् भन्ने कुरा बताउँछिन् । नरेशले आफू कस्तो मान्छे छु भनेर पार्वतीलाई सोध्छ, उनले नरेश एकदम असल मान्छे भएको कुरा बताउँछिन् । पार्वतीको कुराले नरेशलाई प्रभाव पार्छ। उसको मनबाट जर्मनप्रतिको हिंसाको भावना हट्छ । ऊ पनि जर्मनीहरूजस्तै रोगीहरूको रोग निको बनाउने औषधी बनाउने डाक्टर बन्छु भन्ने प्रण गर्छ । यी दुई मुख्य सन्दर्भमा नरेशको दुई फरक मानसिक अवस्थाको चित्रण गरिएको छ ।

 

 

१३. विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने विषयमा एउटा अन्तरक्रिया गर्नुहोस् ।

 

उत्तर : साथीहरूसँग कार्यक्रमको मिति, सहभागी समूह, विजेतालाई दिइने पुरस्कार र खेल मैदान आदिका विषयमा शिक्षकको निर्देशनअनुसार अन्तरक्रिया गर्नुहोस् । 

 

१४. एक अनुच्छेदमा कथाको मुख्य सार लेख्नुहोस् ।

 

भविष्य निर्माणकथाले बालबालिकाको भविष्य कस्तो हुन्छ भन्ने कुरा उनीहरूले घरपरिवारमा आफूभन्दा ठुला मान्छेबाट कस्तो संस्कार सिकेका छन्, के कुरा सुनेका छन्, घरपरिवारबाट कस्तो कुरामा प्रोत्साहन गरिएको छ, त्यो कुराले निर्धारण गर्छ भन्ने कुरा देखाइएको छ । बालबच्चाले आफूभन्दा ठुला मान्छेले भनेको कुरालाई झट्ट विश्वास गर्छन र ठुला मान्छेको व्यवहारलाई अनुकरण पनि छिट्टै गर्छन् । त्यसैले उनीहरूको अगाडि नराम्रो र उनीहरूमा नकारात्मक विचार ल्याउने खालका कुराहरू गर्नु हुँदैन । उनीहरू भनेका काँचो माटाका भाँडा जस्तै हुन् जसलाई हामी जस्तो चाह्यो त्यस्तै बनाउन सक्छौँ । उनीहरूसँग सकारात्मक कुरामात्र गयौं भने उनीहरूको बालमनोविज्ञानमा पनि सकारात्मक प्रभाव पर्छ अनि उनीहरू बढ्दै जाँदा त्यही दृष्टिकोण र विचारसँग हुर्कदै जान्छन् । नकारात्मक कुरा गर्यो भने र त्यस्तै कुरामा उनीहरूलाई प्रोत्साहन गयौँ भने उनीहरू नकारात्मक प्रवृत्तिका मान्छे हुन्छन् । उनीहरूलाई राम्रो कुरा भनेर प्रशंसा र माया गर्न सक्यौँ भने उनीहरू पक्कै पनि खराब बाटोमा लाग्दैनन् भन्ने कुरा यस कथामा देखाइएको छ ।

 

यस कथामा पनि पार्वतीले नरेशलाई जर्मनहरू खराब हुन्छन् ठुलो भएपछि उनीहरूलाई मार्नुपर्छ भनेको भए नरेशको मनमा हिंसाको भावना जागृत हुन्थ्यो र ऊ भोलि गएर हिंसक व्यक्तित्वको हुन्थ्यो तर पार्वतीले जर्मनहरू असल पनि हुन्छन्, उनीहरूले हामीलाई बिरामी हुँदा खाने औषधी पनि बनाएर पठाउँछन् भन्नासाथ नरेशको विचार फेरिएको छ। बालबच्चासँग हामीले गर्ने कुराकानीले कस्तो प्रभाव पार्छ भन्ने कुरा यसैबाट प्रष्ट हुन्छ। बालबालिकाहरूको मन एकदम संवेदनशील हुन्छ । उनीहरूको अगाडि कहिल्यै पनि नकारात्मक कुराहरू गर्नु हुँदैन । उनीहरूलाई सकारात्मक व्यक्ति बन्न प्रेरित गर्ने कुराहरू मात्र गर्नुपर्छ । हामीले गरेका भनेका काम कुराहरूले उनीहरूको मनोविज्ञानमा गम्भीर प्रभाव पार्दछ । यसप्रति हामी जहिले पनि सचेत हुनुपर्छ । यही नै यस कथाको सार हो ।

 

१५. डर, रिस, दुःख, खुसी जस्ता संवेग मानवीय र मानवेतर दुवै पात्रमा हुन्छन् । यस्ता संवेगको प्रस्तुतिमा के भिन्नता हुन्छ, कक्षामा छलफल गर्नुहोस् ।

 

उत्तर : डर, रिस, दुःख, खुसी जस्ता संवेग मानवीय र मानवेतर दुवै पात्रमा हुन्छन् तर यस्ता संवेगको प्रस्तुतिमा भिन्नता हुन्छ । त्यसैले हामी मानवेतर पात्रका सुख दुःख बुझ्न सक्दैनौं । मुख्य कुरा मानवीय पात्रसँग भाषा छ र त्यो भाषा अर्को मान्छेले बुझ्न सक्छ। अमौखिक भाषा त जनावरको पनि हुन्छ । आँखामा आँसु उनीहरूको पनि देखिन्छ । विसञ्चो भएको बेला झोक्राएर बसेका हुन्छन् । आफ्नो सन्तानलाई कसैले छुन खोज्यो भने झम्टन खोज्छन् । पानी तिर्खा लाग्यो भने कराउँछन् । कतै कसैले हानेर दुख्यो भने कराउँछन् । भित्र कतै दुखेको छ भनेर उनीहरूको दुःखको क्रन्दन अलि अर्कै हुन्छ । कुनै न कुनै व्यवहारबाट उनीहरूले आफूभित्रको दुःख खुसी प्रकट गरिरहेका हुन्छन् तर मान्छेको जस्तो स्पष्ट बोल्ने भाषा नभएका कारण उनीहरूको वास्तविक दुःख वा संवेग हामी बुझ्न सक्दैनौँ । मान्छेसँग भाषा छ । ऊ बोल्न सक्छ । मनका सबै सुख दुःख अभिव्यक्त गर्न सक्छ । कथा लेख्न सक्छ । कविता लेख्न सक्छ । चित्र कोर्न सक्छ । रिस उठे चिच्याउन सक्छ । कतै मुक्का हान्न सक्छ। मन लागे रुन सक्छ, हाँस्न सक्छ । उसको विभिन्न हाउभाउले उसको संवेग बुझ्न सकिन्छ । मानवेतर पात्रसँग यति धेरै संवेगात्मक अभिव्यक्तिका माध्यमहरू हुँदैनन् ।

 

१६. दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस् :

 

तपाईँ नयाँ ठाउँमा जाँदा बाटो भुलेर अलमलमा पर्नुभयो भने कसरी अरूसँग सोधपुछ गर्नुहुन्छ, कक्षामा प्रस्तुत गर्नुहोस् ।

 

 

उत्तर : यदि मैले नयाँ ठाउँमा गएको बेला बाटो बिर्सिए भने सहरी क्षेत्र भए ट्राफिक प्रहरीलाई आफू जान चाहेको ठाउँ कता पर्छ भनेर सोधपुछ गर्छु । गुगल नक्सा पनि हेर्छु । पसलमा बस्ने मान्छेहरूलाई सोध्छु । यदि गाउँतिर भए त्यहाँ भेटिने मानिसलाई पनि आफू जान चाहेको ठाउँ कहाँ हो भनेर सोधपुछ गर्छु ।

This website uses cookies and asks your personal data to enhance your browsing experience. We are committed to protecting your privacy and ensuring your data is handled in compliance with the General Data Protection Regulation (GDPR).