म देशमा आफ्नो अनुहार भेट्छु । देशको नक्सा हेर्दा म आफ्नै चित्र हेरेको अनुभव गर्छुृ । पृथ्वी, जल, तेज, वायु र आकाशको संयोजन मेरो जीवनमा छ, त्यसैको संयोजन मेरो देशमा पनि । माटो र मुटु एउटै हो जस्तो मलाई लाग्छ । मेरो शिर सगरमाथा हो, मेरो शरीर पहाडका गर्खाहरूमा भेटिन्छ, मेरा खुट्टाहरू तराईका समथर भूभाग हुन् र नसा कोशी र बाग्मती । अर्थात् म नै मेरो देश हो, मेरो देश नै म हुँ । देशमा भूकम्प जाँदा मेरो मुटु चर्किन्छ, मैले इज्जत फ्याँक्दा देशको नाक काटिन्छ । मेरो जीवनको एउटै मात्र सपना, एउटै मात्र बिपना देश नै हो । मेरो जीवनमा देश मिसिएको छ, जहाँ खुसीहरू खप्तडको लेकमा खेल्छन्, जहाँ दुःखहरू पनि गैँतीका बिँडमा पसिना बनेर मुस्कुराउँछन् । त्यसैले मेरो र देशको सपना एउटै छ, शान्ति, ऐश्वर्य र भ्रातृत्व ।
मलाई वेदव्यासका गुफामा क्षेप्यास्त्र बोकेर छिर्ने लादेनहरू मन पर्दैनन् । मलाई दुबोमा खेलिरहेको मृगशावकलाई ब्वाँसोले निमोठेको मन पर्दैन । माछापुच्छे«का शिरमा बसेर शकुनीले लामो सास फेर्न सक्छ, त्यति बेला लुम्बिनीको दीप निभ्नु हुँदैन । कञ्चनजङ्घाबाट उडेको स्वच्छन्द परेवा दार्चुलामा गएर बास बस्नुपर्छ । कञ्चनपुरबाट हिँडेको यात्रीले कुनै व्यवधानबिना केचना पुग्न पाउनुपर्छ । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ मेरो आदर्श हो । स्वर्ग कहाँ छ, मलाई थाहा छैन; मोक्ष कस्तो हुन्छ, मैले देखेको छैन; पुनर्जन्मको मलाई विश्वास लाग्दैन; कुम्भीपाकको तातो तेल र चित्रगुप्तको बही खातादेखि मलाई कहिल्यै डर लाग्दैन किनभने म स्वर्गमा जन्मिएको छु । मेरा स्वर्गमा झन्डै तीन करोड देवताहरू बस्छन् । यहाँ विष्णुहरू रोेदीघरमा पसेर गीत गाउँछन् । लक्ष्मी र सरस्वतीहरू घाँस काट्न जाँदा पिपिरी पात बजाउँछन् । गण्डकीले गीत गाउँदा गान्धारीले आँखा खोल्छिन् । मेचीले मादल बजाउँदा मेनका नाच्छिन् । रामका बिहेमा राति रमाइलो रत्यौली खेल्दा राक्षसहरूले बाधा पु¥याउँदैनन् । मेरो स्वर्ग सानो छ तर पूर्ण छ । मलाई चट्याङको आवाजभन्दा टुङ्नाको धुन मनपर्छ । मलाई ध्वाँसोले कालिएको भित्तोभन्दा नवजात शिशुका निधारमा लगाएको सानो टिको मनपर्छ । म कहिल्यै मात्रा खोज्दिनँ, गुण भए पुग्छ ।
मलाई आँखा चिम्लिँदा सपनामा देखेको सुनको मृगभन्दा आँखा खोल्दा पूmलबारीमा देखिने पुतली मनपर्छ । सम्झिएको स्वादभन्दा पाएको स्वाद मनपर्छ । ‘विदेशी बगैँचाको स्याउभन्दा आफ्नै बारीको फर्सी मिठो’ भन्ने मान्यताले मलाई कहिल्यै छाडेन । मलाई डलरका हावाले तान्न सक्दैन किनभने मेरो देशले मलाई जीवन दिएको छ । सिस्नु र ढिँडोका स्वादमा मोहित जिब्रोले पिजाको कृत्रिमता मन पराउँदैन । ऐँसेलुका झाँगमुनिको जरुवा पानी खोज्ने आँतलाई मिनरल वाटरले भिजाउन सक्दैन । मलाई अर्काले दिएको सम्पत्तिले बनेको लामो कालोपत्रे बाटो चाहिँदैन, नेपाली हातले गैँती चलाएर पसिना झार्दै बनाएको गोरेटो भए पुग्छ । मलाई कसैको दानपात्र बनेको निर्धो नेपालभन्दा तीन करोड पसिनाका थोपाहरूभित्र मुसुक्क हाँसेको नेपाल मनपर्छ । मेरो देशको ऐश्वर्य श्रममा छ, न कि याचनामा । मेरो देशको शक्ति ठेला उठेका हातमा छ, न कि प्रार्थनामा ।
मलाई मान्छेहरूले जङ्गली भन्न सक्छन्, पाखे अविकसित अथवा ढुङ्गे युगको मान्छे भन्न सक्छन् तर चिन्ता छैन । किन किन मलाई त अझै त्यही युग मनपर्छ, जहाँ रुखका बोव्रmाको कपडाभित्र मानवता मुस्कुराउँथ्यो । बुद्धले पिएको पानी मैले पिएको छु त्यसैले मलाई बन्दुकको कथा सुन्न मन लाग्दैन । जाति, धर्म, भूगोल, राजनीति र सम्पत्तिका विभाजन रेखाभित्र मानवता टुव्रिmएको म देख्न सक्दिनँ । कल्पनाको संसारमा असम्भव ऐश्वर्य खोज्ने मेरो बानी छैन । स्वार्थका लागि कृत्रिम नाता जोड्ने मलाई फुर्सद छैन । मैले मकैबारीमा पलाएका विषालु झार उखेल्न जानु छ । मैले दमिनी भाउजूकी कान्छी छोरी डल्लीका बिहेमा गोडा धुन जाने समय निकाल्नु छ । मेरो देशको छातीमा निडर परेवा उड्न पाउनुपर्छ । यहाँ मृग र बाघ एकै ठाउँ बस्न सक्नुपर्छ । भाइ भाइका बिचमा झगडा हुन्छ भन्ने काल्पनिक कुरा मलाई नसुनाऊ । स्वयम्भूका आँखाले ठुलो र सानो छुट्याउँदैनन् । लुम्बिनीका कानले सिंहको गर्जन सुन्न मान्दैनन् ।
मेरो नेपाल स्वर्ग हो, नेपाली देवता । पसिना ऐश्वर्य हो, मन शान्ति । मेरो छातीमा विशाल हिमालको उदारता छ । मेरो चेतनामा कनकाई र कमलाको उपकारी भावना छ । मेरो झन्डाका चन्द्र र सूर्यले मलाई कुबाटो लाग्न दिँदैनन् । ममाथिको निलो आकाशले मलाई विश्वबन्धुत्वको पाठ सिकाउँछ । त्यसैले मेरा लागि एउटा विश्व छ, त्यो हो नेपाल । मेरा लागि एउटा जाति छ, त्यो हो नेपाली ।